निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

बालुवाटारमा सम्भावित सुरक्षा चुनौतीबारे समीक्षा

बालुवाटारमा सम्भावित सुरक्षा चुनौतीबारे समीक्षा

209
SHARES

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले शनिवार गृहमन्त्री, गृहसचिव र चार वटै सुरक्षा निकायका प्रमुखहरूसँग बालुवाटारमा करिब दुई घण्टासम्म विशेष सुरक्षा बैठक गरेकी छन्।

बैठकमा देशको वर्तमान सुरक्षा अवस्थाको विश्लेषण गर्दै सम्भावित सुरक्षा चुनौती र तिनको व्यवस्थापनबारे गम्भीर छलफल गरिएको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल तथा चार वटै सुरक्षा निकायका प्रमुखहरू सहभागी बैठकमा सुरक्षा प्रमुखहरूले देशभरको स्थिति, सुरक्षा संवेदनशीलता र सम्भावित जोखिमका विषयमा आ–आफ्नो मूल्याङ्कन प्रस्तुत गरेका थिए।

बैठकपछि गृहमन्त्री अर्यालले सञ्चारकर्मीलाई जानकारी दिँदै भने, “सुरक्षा अवस्थाबारे सूक्ष्म विश्लेषण गरिएको छ। विभिन्न समूहहरूले प्रदर्शन र आन्दोलनको तयारी गरिरहेको भन्ने खबरहरू आएका छन्। आफ्ना राजनीतिक मागहरू जिम्मेवार ढङ्गले राख्न सबै स्वतन्त्र छन्। तर त्यस्ता गतिविधि कानुन र जिम्मेवारीको दायराभित्र रहँदै हुनुपर्छ।”

उनले थपे, “राजनीतिक मुद्दाहरूको सम्बोधनका लागि सरकार सदैव संवादको पक्षमा छ। हामीले वार्ता र संवादको ढोका खुला राखेका छौँ। कुनै पनि समस्या संवादबाटै समाधान गर्न चाहन्छौँ।”

गृहमन्त्री अर्यालले सबै पक्षलाई वर्तमान संवेदनशील परिस्थितिलाई विचार गरी संयमता र जिम्मेवार आचरणका साथ प्रस्तुत हुन पनि आग्रह गरे।

त्यसैदिन प्रधानमन्त्री कार्कीले ह्यात होटलले सेवा बन्द गर्ने र कर्मचारीलाई प्रवेश निषेध गरिएको सूचनाप्रति चासो प्रकट गरेकी थिइन्। उक्त घटनाप्रति तत्काल अर्थमन्त्री रामेश्वर खनालले ह्यात रिजेन्सी होटलका व्यवस्थापकसँग प्रत्यक्ष सम्पर्क गरी परिस्थितिबारे जानकारी लिए। उनले सरकारले सुरक्षाको पूर्ण प्रत्याभूति दिने र व्यावसायिक वातावरण नबिग्रने स्पष्ट सन्देश दिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

अर्थमन्त्री खनालले होटल व्यवस्थापनलाई आश्वस्त पार्दै भने, “तपाईँहरू आत्तिनु पर्दैन। उच्च मनोबलका साथ आफ्नो सेवा सुचारु गर्नुहोस्। सरकार तपाईँहरूको साथमा छ। सुरक्षाको आवश्यक व्यवस्था हामी मिलाउँछौँ। विचलित नभई आफ्नो व्यवसायलाई निरन्तरता दिनुहोस्।”

यस सम्बन्धमा आइतबार होटल व्यवस्थापन र सरकारबीच थप छलफल गरी आवश्यक पहल र समाधानका उपायहरू तय गर्ने बताएको छ।

समाचार शेयर गर्नुहोस्
209
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.