निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

आन्दोलनबाट जन्मिएको सरकार, आन्दोलनकै घेराबन्दीमा

आन्दोलनबाट जन्मिएको सरकार, आन्दोलनकै घेराबन्दीमा

297
SHARES

काठमाडौँ – नेपालका महत्त्वपूर्ण चाडपर्व दशैं र तिहार सकिएको छ। छठ पर्वको रौनक छाएको छ। चाडपर्व सकिए लगत्तै आन्दोलनको तयारीले सरकारलाई सुरक्षा चुनौती थपिएको छ।

एकातर्फ जेनजी पुस्ताको निरन्तर विरोध प्रदर्शन, अर्कोतर्फ दुर्गा प्रसाईँ नेतृत्वको राजावादी समूहको आन्दोलन तयारीले सरकारले सुरक्षा तथा राजनीतिक दुवै चुनौती सामना गर्नुपर्ने अवस्था आएको छ।

सम्भावित अशान्ति र अराजकताको सङ्केत देखिएपछि प्रधानमन्त्री सुशीला कार्कीले गृह प्रशासन र चारै वटा सुरक्षा निकायका प्रमुखहरूसँग बालुवाटारमा आकस्मिक बैठक गरिन। बैठकमा आगामी छठ पर्व लगत्तै देशव्यापी विरोध प्रदर्शनको तयारी भइरहेकाले त्यसको सुरक्षा चुनौतीबारे गम्भीर छलफल भएको छ।

बैठकमा सुरक्षा प्रमुखहरूले प्रधानमन्त्रीलाई दुर्गा प्रसाईँ समूह र राजावादीहरूले अन्तरिम सरकारलाई असफल देखाउने रणनीतिमा लागेको जानकारी गराएका छन्। कात्तिक १८ गतेबाट अराजकता फैलाउने योजनाअनुसार राजावादीहरूले आन्दोलनको तयारी गरेका छन्।

बालुवाटारमा करिब दुई घण्टा लामो छलफलमा सुरक्षा निकायका प्रमुखहरूले दुर्गा प्रसाईँले सरकारविरुद्ध भ्रमपूर्ण प्रचार गर्दै आम नागरिकमा असन्तोष बढाउने अभियान चलाइरहेको विवरण दिएका छन् ।

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङले गल्ती सुधार्ने, शान्ति–सुरक्षा कायम राख्ने र विरोध प्रदर्शनका क्रममा जनसुरक्षामा खलल नपरोस् भन्नेमा पूर्ण सक्रिय रहन भनेका छन्।

गृहमन्त्री ओमप्रकाश अर्यालले सबै आन्दोलनरत पक्षलाई सडकको सट्टा संवाद र सहमतिका माध्यमबाट समस्या समाधान गर्न आग्रह गरेका छन्।

गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाएको छ। निर्वाचनसम्बन्धी कानुन संशोधनदेखि स्रोत, साधन र राजनीतिक सहमति जुटाउनेसम्मका सबै प्रयास जारी रहेको पनि मन्त्रालयले जनाएको छ।

जेनजी युनाइटेडका युवाहरूले शनिवार माइतीघरमा प्रदर्शनका क्रममा पक्राउ परेपछि काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सरकारप्रति आक्रोश पोखेका छन्।

दुर्गा प्रसाईँ समूह र जेनजी आन्दोलनबीच वैचारिक भिन्नता भए पनि दुवै पक्षको निशाना अन्तरिम सरकारमाथि नै केन्द्रित भएको देखिएको छ। राजावादीहरू अन्तरिम सरकार असफल भएको प्रचार गरिरहेका छन् भने जेनजी युवाहरूले सरकार युवाको आवाज दबाएको भन्दै सडकमा उत्रिएका छन्।

दुई फरक धारका आन्दोलन एकसाथ सशक्त हुँदै गएपछि सरकारले धर्ना, जुलुस, विरोध प्रदर्शनलगायतका कार्यक्रमहरूमा घुसपैठ गरी अराजकता फैलाउने सम्भावनाबारे चेतावनी जारी गर्दै सबै पक्षलाई सचेत रहन आग्रह गरेको छ।

जेनजी युवाहरूले सरकारमाथि एकजुट हुन नदिएको, कार्यक्रम बिथोल्ने प्रयास गरेको र युवाको आवाज दबाउने प्रयास गरेको आरोप लगाएका छन्। उनीहरूले शान्तिपूर्ण रूपमा कार्यक्रम गर्न खोज्दा पनि सरकारको व्यवहारले असन्तोष बढाएको बताएका छन्।

जेनजीहरूले “सरकार बनाउनका लागि मात्र होइन, देश बनाउनका लागि आएको” बताएका छन्। आइतबार पनि शान्तिपूर्ण प्रदर्शन गर्ने योजना रहेको र यदि धरपकड भएमा देशभर रणनीतिक रूपमा कदम चाल्ने चेतावनी उनीहरूले दिएका छन्।

भदौ २३ को जेनजी आन्दोलन र त्यसको भोलिपल्ट भएको विध्वंसपछिका डेढ महिना अन्योल, आशङ्का र त्रासबीच बितेका छन्। भदौ २४ को घटनामा कसले भूमिका खेले भन्ने विवरणहरू सार्वजनिक हुँदैछन्। समाजमा लोकप्रिय ‘सेलिब्रेटी’हरूले पनि आन्दोलन भड्काउन भूमिका खेलेको भिडियो पछिल्लो समय बाहिर आएका छन्।

भदौ २४ को विध्वंसले जायज माग राखेर गरिएको २३ गतेको जेनजी आन्दोलनलाई नै छायामा पारेको छ। त्यस आन्दोलनलाई आधार बनाएर स्वार्थ समूहहरूले धमिलो पानीमा माछा मार्ने काम गरिरहेको टिप्पणी गरिएको छ।

अहिले पनि नागरिक बचाऊ महाअभियानका नाममा दुर्गा प्रसाईँ समूहले छठलगत्तै देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ। यसले फेरि अर्को तनावपूर्ण अवस्था सिर्जना गर्ने पूर्वानुमान गरिएको छ।

पूर्व डिआइजी हेमन्त मल्ल ठकुरीले प्रहरीकै मनोबल खस्किएको अवस्थामा पुनः आन्दोलन सुरु भए नियन्त्रण कठिन हुने चेतावनी दिएका छन्।

सरकारले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेको छ। तर, राजनीतिक दलहरूबीच चुनावमा जाने नजाने अझै अन्योल छ।

नेकपा एमालेले संसद् पुनर्स्थापनाकै पक्षमा जाने सङ्केत दिइरहेको छ भने नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन असंवैधानिक भने पनि चुनावमा सहभागी हुनेबारे निर्णय गरिसकेको छैन। तीन ठुला दलमध्ये केवल नेकपा माओवादी केन्द्रले मात्र चुनावमा जाने निर्णय गरेको छ।

दलहरू एकमत नहुँदा फागुन २१ मा निर्वाचन सम्पन्न हुनेमा आशङ्का बढेको छ। छठपछि एमालेले संसद् पुनर्स्थापनाको मागसहित सडकमा आउने सङ्केत दिएको छ, जसले प्रसाईँ समूहसँग मुठभेडको सम्भावना बढाएको छ।

जेनजीदेखि राजावादीसम्मको आक्रोशबीच सरकार अहिले राजनीतिक अस्थिरता, आन्दोलनको दबाब र आगामी निर्वाचन तयारी तीन वटै मोर्चामा घेरिएको छ।

समाचार शेयर गर्नुहोस्
297
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.