काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले आइतबार तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेकी छन्। जेनजी आन्दोलनको बलमा गत भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीले सरकार गठनको दुई महिनाभित्र तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेकी हुन्।
प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् अब १० सदस्यीय बनेको छ। उनले आइतबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा पूर्वसचिव डा. सुधा शर्मा गौतम र युवा तथा खेलकुद मन्त्रीमा बब्लु गुप्तालाई नियुक्त गरेकी हुन्।
राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार नै शीतल निवासमा आयोजित समारोहबीच नवनियुक्त मन्त्री शर्मा र गुप्तालाई पद तथा गोपनीयताको शपथ गराए।
यसअघि प्रधानमन्त्री कार्कीले पहिलो चरणमा रामेश्वर प्रसाद खनाललाई अर्थ तथा सङ्घीय मामिला र सामान्य प्रशासन मन्त्री, कुलमान घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालय, ओमप्रकाश अर्याललाई गृह मन्त्रालय, अनिलकुमार सिन्हालाई उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, महावीर पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, मदनप्रसाद परियारलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय र जगदीश खरेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिएकी थिइन्।
तर, आइतबारको विस्तारसँगै मन्त्रिपरिषद् पूर्णता तर्फ अग्रसर भए पनि विवाद र अस्वीकारका घटनाले फेरि सरकारलाई असहज बनाएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीका लागि सिफारिस भएका खगेन्द्र सुनार विवादमा तानिएपछि उनको नाम फिर्ता गरिएको छ। उनीबारे राजनीतिक वृत्तमा नैतिकता र हितको सवाल उठेपछि प्रधानमन्त्री कार्कीले अन्तिम समयमा उनको सिफारिस रोकेकी थिइन्।
मन्त्री पदका लागि प्रस्तावित गणपतिलाल श्रेष्ठले मन्त्रालय परिवर्तन भएको भन्दै जिम्मेवारी अस्वीकार गरेका छन्। प्रारम्भिक रूपमा उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिने तयारी भए पनि पछि भूमि सुधार मन्त्रालयको प्रस्ताव गरिएको थियो। श्रेष्ठले मन्त्रालय परिवर्तन ‘असहज र अस्वाभाविक’ भएको भन्दै अस्वीकार गरेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ।
प्रधानमन्त्री कार्यालयका अनुसार मन्त्री बन्ने चार जनाको नाम सिफारिस भए पनि अन्ततः दुई जना मात्र शपथ ग्रहणमा उपस्थित भए। यससँगै प्रधानमन्त्री कार्कीले परराष्ट्र, रक्षा, खानेपानी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, वन तथा वातावरण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय आफैँसँग राखेकी छन्।
प्रधानमन्त्रीको तेस्रो मन्त्रिपरिषद् विस्तारपछि सरकारको पूर्णता नजिक पुगेको देखिए पनि, मन्त्रिपरिषद् विस्तारमा देखिएको विवाद, अस्वीकार र नाम फिर्ता जस्ता घटनाले सरकारभित्रको तालमेल र राजनीतिक सन्तुलनमा प्रश्न उठाएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.