काठमाडौं – आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुने भएपछि निर्वाचन आयोगले तयारी तीव्र पारेको छ। आयोगका अनुसार हाल जिल्ला स्तरमा मतदाता नामावलीमा नयाँ नाम दर्ता गर्ने कार्य जारी छ।
आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार निर्वाचन प्रक्रियाका प्रारम्भिक चरणहरू समयमै अघि बढिरहेका छन् र आयोग सम्पूर्ण तयारीमा जुटेको छ।
आयोगका प्रवक्ता भट्टराईले सरकारले स्रोतसाधन सुनिश्चित गरिदिए आयोग पूर्ण रूपमा तयार रहेको बताए। “सरकारका तर्फबाट निर्वाचनको शान्ति सुरक्षा सुनिश्चित गर्न प्रतिबद्धता आइसकेको छ, त्यसैले हामी ढुक्क भएर तयारीमा जुटेका छौँ,” उनले भने।
उनका अनुसार निर्वाचन आयोगमा हालसम्म १२४ राजनीतिक दल दर्ता भएका छन् भने नयाँ दल दर्ताका लागि १६ दलले निवेदन दिएका छन्। आगामी फागुन २१ गते हुने निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूले अबको २१ दिनभित्र दल दर्ताको प्रमाणपत्र अनिवार्य रूपमा लिइसक्नुपर्ने भट्टराईले बताए।
आयोगले यसअघि नै निर्वाचन कार्यतालिका तयार पारिसकेको र आवश्यक कानुनी प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ।
शान्ति सुरक्षा र चुनावका लागि आवश्यक पूर्वतयारीको अवस्था बुझ्न गृहमन्त्री ओमप्रकाश अर्याल नेतृत्वमा उच्चस्तरीय टोली मधेस प्रदेश भ्रमणमा जाँदैछ।
मन्त्री अर्यालसँगै उद्योग तथा कानुनमन्त्री अनिलकुमार सिन्हा, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता र गृहसचिव रामेश्वर दंगाल पनि भ्रमण टोलीमा सहभागी हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। उनीहरू सोमबार जनकपुर प्रस्थान गर्ने कार्यक्रम तय भएको हो।
सरकारले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न विभिन्न पक्षहरूसँग संवाद र सहकार्यका पहल पनि थालेको छ। सोही क्रममा सरकारले आइतबार आन्दोलनरत व्यवसायी दुर्गा प्रसाईँसँग छलफल गरेको हो।
प्रसाईँले हालै विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरेपछि गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै वार्तामार्फत समस्याको समाधान खोज्न आह्वान गरेको थियो।
मन्त्रालयको सो आह्वानपछि प्रसाईँ आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका थिए। त्यहाँ काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूले संयुक्त रूपमा प्रसाईँसँग छलफल गरेका थिए। ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले प्रसाईँले घोषणा गरेको आन्दोलनका विषयमा विस्तृत छलफल भएको बताए।
प्रसाईँले पनि आन्दोलनबारे छलफल भएको पुष्टि गर्दै भने, “व्यवस्था परिवर्तन नभएसम्म हाम्रो आन्दोलन फिर्ता हुँदैन।”
उनी युट्युबर बोकेर जिल्ला प्रशासन कार्यालयमा उपस्थित भएका थिए। सरकारको चुनावी सुरक्षालाई दुर्गा प्रसाईको व्यवस्था परिवर्तन आन्दोलन चुनौती बनेको छ।
जेनजी आन्दोलनका क्रममा प्रहरीले घेराउमा परेर हत्या भएका घटनामा संलग्न पाँच जना थप व्यक्तिहरू पक्राउ परेका छन्। काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार खोजतलासका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा गोरखाका २१ वर्षीय सोमबहादुर गुरुङ, तनहुँका २१ वर्षीय राजीव गुरुङ र युनिक श्रेष्ठ, सर्लाहीका १७ वर्षीय सुमित तितुङ र रामेछापका १६ वर्षीय दीपक मगर छन्।
गत आन्दोलनका क्रममा महाराजगन्ज प्रहरी वृत्तमा कार्यरत असई मिलन राय र जवान उत्तम थापाको प्रदर्शनकारीको भीडमा परेको कुटपिटका कारण मृत्यु भएको थियो। यसअघि नै सोही घटनासँग सम्बन्धित गोरखा घर भई धुम्बाराही बस्ने सोमबहादुर गुरुङ पक्राउ परेका थिए।
त्यसैगरी, घटनामा संलग्न रहेको आरोपमा युवराज क्याप्छाकी, सोनाम तामाङ (बुद्धिलाल थिङ), होमप्रसाद पौडेल र टिकाराम विकलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ।
निर्वाचन मिति नजिकिँदै जाँदा एकातर्फ आयोग र सरकार तयारीमा जुटिरहेका छन् भने अर्कोतर्फ आन्दोलनका गतिविधि र शान्ति सुरक्षाको चुनौतीले राजनीतिक वातावरण थप संवेदनशील बनेको देखिन्छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.