काठमाडौँ – नवनियुक्त मन्त्रीहरू आ–आफ्नै कार्यक्षेत्रमा सक्रिय भएका छन्। स्वास्थ्य मन्त्री प्रा.डा. सुधा शर्मा गौतम जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न अस्पताल पुगेकी छिन् भने ऊर्जा मन्त्री कुलमान घिसिङ अन्तर्राष्ट्रिय सौर्य सम्मेलनमा सहभागी हुन भारत पुगेका छन्।
मन्त्री गौतमले जेनजी आन्दोलनका क्रममा घाइते भएकालाई भेटेकी छन्। मन्त्री नियुक्त भएको भोलिपल्टै सोमबार बिहान उनी अस्पताल पुगेकी थिइन्। उनले उपचाररत घाइतेहरूको अवस्था बुझिन् र उनीहरूको अपेक्षा तथा गुनासो सुनिन्।
मन्त्री शर्माले आन्दोलनका घाइतेहरूले सरकारमा जेनजी पुस्ताको प्रतिनिधित्व खोजेका र सरकारको काम सुस्त रहेको गुनासो गरेको बताइन्। उनले सरकारमा जेनजीकाे सहभागिता गराउने जिम्मेवारी प्रधानमन्त्रीको रहेको स्पष्ट पारिन्।
स्वास्थ्य मन्त्रालयका अनुसार, जेनजी आन्दोलनका क्रममा घाइते भएका मध्ये अहिले पनि ११ जना विभिन्न अस्पतालमा उपचाररत छन्। आन्दोलन सकिएको डेढ महिना बितिसक्दा पनि उनीहरूको उपचार निरन्तर जारी रहेको मन्त्रालयले जनाएको छ।
त्रिवि शिक्षण अस्पतालमा उपचाररत तीन जनामध्ये दुई जनाको अवस्था सामान्य भए पनि एक जनाको अवस्था गम्भीर रहेको र उनलाई आइसियुमा राखी उपचार भइरहेको मन्त्रालयले जनाएको छ। मन्त्री शर्मा त्रिवि शिक्षण अस्पताल र सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) अस्पताल पुगेकी थिइन्।
केएमसी अस्पतालका चिकित्सकहरूले हालसम्म ८३ जना आन्दोलनका घाइतेको उपचार गरिसकेको र अहिले दुई जना मात्र उपचाररत रहेको जानकारी मन्त्री शर्मालाई दिएका थिए। तीमध्ये एक महिला पेट्रोल बम आक्रमणमा परेकी र अर्को व्यक्तिलाई गोली लागेको उनले बताइन्।
मन्त्री शर्माले जेनजी जनआन्दोलनको मर्मअनुसार पारदर्शी ढङ्गले काम गर्ने र घाइतेहरूको उपचारमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाइन्।
जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्दा मन्त्री शर्मा निकै भावुक बनेकी थिइन्। उनले सबैलाई सरकारको विरोध वा चुनाव भाँड्ने गतिविधि नगर्न अनुरोध गरिन्।
स्वास्थ्य मन्त्री शर्मासँगै युवा तथा खेलकुद मन्त्रीमा नियुक्त बब्लु गुप्ता भने सोमबार जनकपुर पुगेका छन्।
फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन र शान्ति–सुरक्षाको तयारीबारे जानकारी लिन गृहमन्त्री ओमप्रकाश अर्यालको नेतृत्वमा मन्त्रीहरूको टोली जनकपुर पुगेको हो।
टोलीमा उद्योग तथा कानुन मन्त्री अनिलकुमार सिन्हा, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र गृहसचिव रामेश्वर दङ्गाल रहेका छन्।
त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ भारतको नयाँ दिल्ली गएका छन्। अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौँ सभामा सहभागी हुन घिसिङ दिल्ली गएका हुन्। कार्तिक १३ गतेसम्म चल्ने उक्त सभामा ४० भन्दा बढी देशका मन्त्रीहरू सहभागी छन्।
मन्त्री घिसिङले सभाको विषयगत सत्रमा “बृहत् स्तरको स्वच्छ ऊर्जा रूपान्तरणका लागि क्षेत्रीय तथा विश्व अन्तरआवद्धताको परिकल्पना” शीर्षकमा विशेष सम्बोधन गर्ने कार्यक्रम छ।
सभामा सौर्य ऊर्जा प्रवर्द्धन, दिगो ऊर्जा आपूर्ति र जलवायु परिवर्तन न्यूनीकरणका विषयमा विस्तृत छलफल हुनेछ। मन्त्री घिसिङ बुधवार स्वदेश फर्किने कार्यक्रम रहेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले भने उद्घाटन र शिलान्यास कार्यक्रममा नबोलाउन आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले युनेस्को महासभाको उज्बेकिस्तानमा हुने साधारण सभा र ब्रिटिस काउन्सिलले नाइजेरियामा आयोजना गरेको सम्मेलनमा पनि आफू नगएको स्पष्टीकरण दिएका छन्।
मन्त्री पुनका अनुसार, केही मन्त्रीहरू जानै पर्ने आवश्यक बैठकहरूमा मात्र विदेश गएका हुन्। उनले “विदेश घुम्यो भनेर हल्ला नगर्नुहोस्” भन्दै अनावश्यक प्रचार नगर्न आग्रह गरेका छन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.