काठमाडौँ – बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यस वर्षको छठ पर्व विधिवत् रूपमा सम्पन्न भएको छ। मिथिलाञ्चलका भक्तजनले नदी किनारमा बसी गाईको दूध, फूल र जल अर्पण गर्दै सूर्यदेव र छठीमाताको पूजा–आराधना गरी व्रत समापन गरेका हुन्।
कार्तिक शुक्ल चतुर्थीका दिन ‘नहाय खाए’ विधिबाट सुरु हुने यो पर्व सप्तमीको बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पूरा हुने परम्परा छ। यसअघि षष्ठीको साँझ व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए।
षष्ठीको साँझ दिइने अर्घ्यलाई ‘सन्ध्या अर्घ्य’ र सप्तमीको बिहान दिइने अर्घ्यलाई ‘उषा अर्घ्य’ भनिन्छ। छठमा व्रत बसेर सूर्यदेव र छठीमाताको आराधना गर्दा चर्मरोग निको हुने, सन्तान प्राप्त हुने र परिवारका सबै सदस्यको दीर्घायु एवं सुस्वास्थ्य प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ।
मिथिलाञ्चलमा चैत महिनामा पनि छठ मनाइन्छ, तर कार्तिकमा पर्ने छठलाई विशेष महत्त्व दिइन्छ। मिथिला मूलका समुदायको बसाइसराइसँगै यो पर्व अहिले काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा पनि उतिकै धूमधामका साथ मनाइने गरिएको छ।
सूर्यदेवको श्रद्धा–भक्तिपूर्वक पूजा आराधना गरी मनाइने यो पर्वको अन्तिम दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिई व्रत सम्पन्न गरिन्छ। भक्तजनहरू कम्मरसम्मको पानीमा डुबेर गाईको दूध, फूल र जल अर्पण गर्दै सूर्यको दर्शन गर्छन्। यसरी बिहानै नदी किनारमा गरिने पूजालाई ‘भिन्सरघाट’ भनिन्छ, किनभने यस पूजा सूर्योदयअघि नै सुरु हुने गर्छ।
छठका अवसरमा विवाहित पुरुष–महिलाले पति–पत्नीको दीर्घायु र पारिवारिक समृद्धिको कामना गर्छन् भने अविवाहित युवतीहरूले सुयोग्य वर र युवाहरूले सुयोग्य वधु प्राप्तिको इच्छासहित व्रत बस्ने गर्छन्। सन्तान प्राप्तिको कामनाले यो पर्व मनाउनेको सङ्ख्या पनि उल्लेख्य हुन्छ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चल्ने यो पर्व शनिवारबाट सुरु भएको थियो। चतुर्थीका दिन स्नान गरी चोखो खानासहित व्रत सुरु गरिन्छ। त्यसपछि छठ नसकिँदासम्म व्रतालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरोजस्ता खाद्यपदार्थ नखाने नियम पालना गर्छन्। सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिई यो पर्व समापन गरिएको हो।
विशेषगरी महिलाले कठोर व्रत बसेर मनोकाङ्क्षा पूरा हुने विश्वासमा छठ मनाउने गर्छन्। २०६२ सालमा गुह्येश्वरी, गौरीघाटलाई केन्द्र मानेर ‘श्री छठ पूजा समिति’ जिल्ला प्रशासन कार्यालयमा विधिवत् दर्ता भएपछि काठमाडौँमा यो पर्वको विशेष रौनक थपिएको थियो।
२०६३ सालपछि काठमाडौँका थापाथली, गौरीघाट र रानीपोखरीमा पनि विशेष तयारीका साथ छठ मनाइने परम्परा बस्यो। तर २०७२ सालको भूकम्पपछि रानीपोखरीमा छठ हुन छाडेको छ। पछिल्ला वर्षहरूमा कमलपोखरीमा भव्य रूपमा छठ मनाइने परम्परा सुरु भएको छ।
यस वर्ष पनि गुह्येश्वरी, कमलपोखरी, थापाथलीलगायत स्थानमा तयार पारिएका छठघाटहरूलाई बेहुलीजस्तै सिँगारिएको थियो। धेरै व्रतालु रातभर गुह्येश्वरी र गौरीघाट क्षेत्रमा जाग्राम बसेका थिए।
सूर्य पुराणका अनुसार अत्रिमुनिकी पत्नी अनुसूयाले सर्वप्रथम छठव्रत गरेकी थिइन्। फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन्। त्यही समयदेखि छठ मनाउने परम्परा सुरु भएको जनविश्वास रहिआएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.