काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीलाई जेनजीहरूले भ्रष्टाचारविरुद्धको एजेन्डामा कठोर भएर लाग्न दबाब बढाएका छन्।
पहिलो पटक राजनीतिक दल र जेनजी आन्दोलनका प्रतिनिधिहरू आमनेसामने भएको छलफलमा जेनजीहरूले अहिलेको तत्काल आवश्यकतामा निर्वाचन भए पनि ‘निर्वाचन मात्रै भनेर नहुने’ बताएका छन्।
जेनजी आन्दोलनको मुख्य माग सुशासन र भ्रष्टाचारविरुद्धको कारबाही भएको बताउँदै उनीहरूले यी दुवै एजेन्डामा सरकारसँगै अगाडि बढ्नुपर्नेमा जोड दिए। यसअघि राजनीतिक दलसँग छलफल गर्न अनिच्छुक देखिएका जेनजीहरूलाई प्रधानमन्त्री कार्कीले नै बालुवाटारमा राखेर छलफल गराएकी थिइन्।
छलफलमा प्रधानमन्त्री कार्कीले आफू रहरले प्रधानमन्त्री नबनेको बताइन्। “राष्ट्रपति कार्यालयमा म, ओमजी (ओमप्रकाश अर्याल) र मेरो श्रीमान् थियौँ। मैले राजनीतिक नेतासँग डिल गर्न सक्दिनँ, मेरो विधा होइन भनेकी थिएँ। म यतातिर लाग्दिनँ भनेर त्यहाँबाट हिँडेकी पनि हुँ,” उनले भनिन्।
उनका अनुसार, “देशलाई यस्तो अप्ठ्यारो परेका बेला जिम्मेवारी नलिने भनेर राष्ट्रपतिले भन्नुभएको थियो। जेनजी युवाहरू मेरो घरैमा आएर अभिभावकत्व लिइदिन भन्नुभयो। प्रधानमन्त्री बन्नुपर्छ भनेर धरधरी रुनु पनि भयो। मैले ती निर्दोष बालबालिका निधारमा गोली लागेर ढलेको सम्झिएँ। ती घाइतेहरूको अनुहार हेरेँ। मेरो साथमा जनता छन्, मैले केही गर्नैपर्छ भन्ने लाग्यो र एउटा अठोटसाथ अगाडि आएँ।”
उनले सहिद परिवार, घाइते र प्रत्येक परिवर्तनकामी युवाको आवाज सम्बोधन गर्न लागिपरेको बताइन्। “बलिदानी दिने सहिदका परिवार अनि घाइतेलाई पनि अलपत्र पार्दैनौँ, बोलेको पुर्याउँछौँ,” उनले थपिन्।
सरकार चुनावमा केन्द्रित रहेको जानकारी दिँदै उनले भनिन्, “प्रत्येक दिन यसैगरी छलफल र गृहकार्य गर्छौँ, कामको प्रगतिविवरण लिन्छौँ, समस्याहरू फुकाउन लागिपरेका छौँ। अविश्वासहरू चिर्दै विश्वासको वातावरण बनाउँदै छौँ, आत्मविश्वास उठाउँदै छौँ।”
प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार उनले भनेकी थिइन्,“प्रहरीको मनोबल पनि बढ्छ र भागेका कैदीबन्दीहरू पनि समातिन्छन्। ३५ वर्षसम्म मनोबल गिराउन लागिपरेकाहरू अहिले मनोबलको कुरा गरिरहेका छन्। भ्रष्टाचार, शोषण र विभेदले खस्काइएको मनोबल एकै महिनामा हामी कसरी उठाउँछौँ? तर हामी मनोबल उठाउन लागेका छौँ, उठ्छ। किनकि हामी सपार्ने दिशामा छौँ।”
प्रधानमन्त्री कार्कीले विदेशी हस्तक्षेपका कुरा तर्साउने हतियार मात्रै भएको दाबी गरिन्। “यहाँ मलाई एउटा पनि कोही विदेशीले आएर ‘यसरी गर’ वा ‘नगर’ भनेको छैन,” उनले भनिन्।
हेर्दै जानुहोस्, हामीले के–के गर्दैछौँ? हिजो थन्क्याएका फाइल खोल्दैछौँ। कति त समातिसकेका छन्, कतिलाई समात्दैछौँ
बालुवाटारमा राजदूतलाई नभेटेको स्पष्ट पार्दै उनले भनिन्, “सिंहदरबारमा भेट्छौँ। अहिलेसम्म राजदूतहरूसँग शिष्टाचार भेट मात्र भएको हो। काम विशेषका भेट मन्त्रीहरूले गर्नुभएको छ। हामीलाई कुनै विदेशीले खोजेको पनि छैन। त्यसैले विदेशी हस्तक्षेपको कुरा गलत भाष्य हो।”
प्रधानमन्त्रीले काम गर्न नदिने र ‘केही गरेन’ भन्ने चलन देखिएको बताइन्। “हामी प्रयास गरिरहेका छौँ, हामी रोकिँदैनौँ। जतिसुकै बाधा र अवरोध भए पनि फुकाउँदै अघि बढ्छौँ,” उनले भनिन्।
सर्वोच्च अदालतले संसद् विघटन र सरकार गठन असंवैधानिक भएको जिकिरसहित दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेकै दिन प्रधानमन्त्री कार्कीले चुनौती दिइन्,“न्यायाधीशलाई सांसद, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति बन्न संविधानले रोकेको देखाउनुस्।”
उनले भनिन्,“असामान्य परिस्थितिमा मेरो नियुक्ति हुँदा किन प्रश्न उठ्छ? न्यायाधीशका कुरा पनि उठे। के न्यायाधीशलाई सांसद, मन्त्री, प्रधानमन्त्री बन्न संविधानले रोकेको छ? न्यायाधीश भइसकेको व्यक्ति चुनाव लड्न पाउँदैन भनेर संविधानमा लेखेको छ? भारतमा न्यायाधीशहरू सांसद, मन्त्री भएका छन्। यहाँ यस्तो असामान्य परिस्थितिमा हुँदा किन प्रश्न? अचम्म छ।”
प्रधानमन्त्री कार्कीले दलका नेताहरूमाथि व्यङ्ग्य पनि गरिन्। “कहिलेकाहीँ त लाग्छ, हाम्रो समाज कुरैकुरामा मात्र बाँचेको छ। काम गर्नु छैन। अरू देशमा राजनीति गर्नेले खेती पनि गर्छन्, तर यहाँ राजनीति मात्र गरेको छ,राजनीति गरेरै आर्यघाट जाने,” उनले भनिन्।
उनले आफू पहिलेदेखि नै लडाकु भएको बताइन्। “मैले गोली लागेका ती रक्ताम्य युवा देखेकी छु। गोलीको वर्षा भइरहेको जनसागरबीच नारा लगाइरहेका युवाहरूको त्यो भावभङ्गी देखेकी छु। म त्यही सम्झेर काम गर्छु। मेरो प्रतिबद्धता यही हो। म पहिलेदेखि लडाकु हुँ। मेरा परिवारका अरू सदस्य पनि लडाकु स्वभावकै हुनुहुन्छ। हामी डराउँदैनौँ, भनेको पुर्याउँछौँ,” उनले भनिन्।
प्रधानमन्त्रीले सर्वोच्च अदालतका पूर्व न्यायाधीश अनिलकुमार सिन्हालाई अनुरोध गरेर मन्त्री बनाएको पनि खुलाइन्। “उहाँजस्तो इमानदार र बुझेको मान्छे हुँदा धेरै सहज भएको छ। हेर्दै जानुहोस्, हामीले के–के गर्दैछौँ? हिजो थन्क्याएका फाइल खोल्दैछौँ। कति त समातिसकेका छन्, कतिलाई समात्दैछौँ,” उनले भनिन्।
प्रधानमन्त्री कार्कीले भनिन्,“यदि भ्रष्टाचार गरेको भेटिए मेरै स्वर्गीय बुवालाई पनि लगेर खोरमा थुन्न तयार छु। त्यो दृढताका साथ हामी अघि बढेका छौँ।”
अरू कसैले मुलुक नबनाइदिने भन्दै उनले भनिन्,“हाम्रो मुलुक हामी आफैले बनाउनुपर्छ।”
छलफलबारे जानकारी दिँदै सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता जगदिश खरेलले भने,“जेनजीहरूले दलहरूलाई अझ जिम्मेवार बन्न सुझाव दिएका छन्।”
आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचन सफल बनाउन प्रधानमन्त्री कार्कीले पहिलो पटक राजनीतिक दल र जेनजी आन्दोलनका प्रतिनिधिहरूलाई एकै ठाउँमा राखेर छलफल गरेकी हुन्।
तर, जेनजी आन्दोलनपछि चर्चामा रहेका सुदन गुरुङ भने छलफलमा सहभागी भएनन्। छलफल सुरु हुनुअघि पहिचानसँगको कुराकानीमा उनले टिममा छलफल भइरहेको र आफू भने नजाने बताएका थिए।
बालुवाटारमा वार्ता भइरहँदा जेनजी आन्दोलनका घाइते र सहिद परिवारले भने प्रधानमन्त्रीले आफूहरूलाई वार्तामा नबोलाएको भन्दै विरोध जनाएका थिए।
उनीहरूले घाइते र सहिद परिवारलाई बेवास्ता गरे सरकारविरुद्ध चुनाव बहिष्कार गर्ने चेतावनी समेत दिएका छन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.