निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

अन्नपूर्ण बेसक्याम्पमा हिमपहिरोपछि १६२ जनाको उद्धार, सबै सुरक्षित

अन्नपूर्ण बेसक्याम्पमा हिमपहिरोपछि १६२ जनाको उद्धार, सबै सुरक्षित

309
SHARES

म्याग्दी – सशस्त्र प्रहरी बलले म्याग्दी जिल्लाको अन्नपूर्ण बेसक्याम्पबाट बिहीबार बिहानसम्म १ सय ६२ जनाको उद्धार गरेको जनाएको छ।

सशस्त्र प्रहरीका अनुसार हाल अन्नपूर्ण बेसक्याम्पमा कुनै पनि आन्तरिक वा बाह्य पर्यटक छैनन्। सबैलाई सुरक्षित स्थानमा ल्याइएको सशस्त्र प्रहरीले जनाएको छ। त्यहाँ अहिले पनि हिउँ पहिरो आइरहेको छ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस नारच्याङ, म्याग्दीबाट उद्धारका लागि कार्तिक ११ गते सुरक्षा फौज बेसक्याम्पतर्फ गएको थियो। सशस्त्र प्रहरी निरीक्षक विनोद पौडेलको कमान्डमा गएको सो टोलीले १७ जना विदेशी पर्यटकसहित बिहानसम्म १ सय ६२ जनाको उद्धार गरेको हो।

बाक्लो हिमपातका कारण जोखिममा परेका र बाटो पत्ता लगाउन नसकी अलपत्र परेका पर्यटकहरूलाई डोरीको सहायताले बाटो पहिल्याउँदै उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ। सबै पर्यटकको उद्धार भएपछि अहिले बेसक्याम्प पूर्ण रूपमा खाली भएको छ।

तीन दिनको निरन्तर प्रयासपछि बेसक्याम्पतर्फ हिँडेका केही पर्यटकलाई बाटोमै फर्काइएको थियो। बुधवार मात्रै बेसक्याम्पबाट ५२ जना पर्यटक र बाटो बिराएर अलपत्र परेका २० जनालाई सुरक्षित स्थानमा ल्याइएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। मङ्गलवार बाटोमै फर्काइएका र बिहीबार बिहान बेसक्याम्पबाट तल झारिएका गरी जम्मा १ सय ६२ जनाको उद्धार भएको हो।

उद्धार गरिएकाहरूलाई गुफाफाँट, सादिखर्क लगायत हिमपात नभएका स्थानसम्म सुरक्षित ल्याइएको छ। उनीहरू सबै सुरक्षित स्थानमा रहेका छन्। उद्धार गरिएका केहीमा श्वासप्रश्वाससम्बन्धी समस्या देखिए पनि ठुलो समस्या भने नभएको सशस्त्र प्रहरीले जनाएको छ।

तस्बिर:सशस्त्र प्रहरी

समाचार शेयर गर्नुहोस्
309
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.