काठमाडौँ – बङ्गालको खाडीमा विकसित भएको चक्रवात “मोन्था” को प्रभावले देशका धेरै स्थानमा वर्षा भइरहेको छ। उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात समेत भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बागमती र कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा मापन भएको महाशाखाले जनाएको छ। हाल देशका अधिकांश स्थानमा बदली रहेको र कोशी, बागमती र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा, गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेस र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।
महाशाखाका अनुसार, चक्रवात मोन्थाको प्रभाव शनिवारसम्म रहिरहने भएकाले सावधानी अपनाउन सबैलाई अनुरोध गरिएको छ। महाशाखाले विशेष बाढी सूचना जारी गर्दै शुक्रवार र शनिवार कोशी, मधेस र बागमती प्रदेशका नदीहरूमा पानीको सतह सतर्कता तह नजिक पुग्ने भएकाले नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
शुक्रवार दिउँसो र राति कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भारी हिमपात हुने अनुमान गरिएको छ।
शनिवार भने शुक्रवारको तुलनामा वर्षा घट्ने सम्भावना रहेको विभागले जनाएको छ। कार्तिक १५ गतेसम्म हल्कादेखि मध्यम वर्षा र हिमपातको क्रम जारी रहने पूर्वानुमान गरिएको छ।
वर्षाका कारण सडक अवरुद्ध
लगातारको वर्षाले देशका विभिन्न सडक खण्डहरू अवरुद्ध भएका छन्। कतिपय स्थानमा रातिको समयमा सवारी सञ्चालनमा समेत रोक लगाइएको छ। सडक अवरोधका कारण यात्रुहरू गन्तव्यमा पुग्न सास्ती बेहोर्नु परिरहेको छ।
सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ मा रहेको बरुणखोलामा बाढीले ह्युम पाइप बगाउँदा खाँदबारी–थुमसुर जोड्ने कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ जोमसोम–कोरोला सडकखण्डस्थित छुसाङ र ताङवे बीचको कालाभिरमा लेदो सहितको पहिरोले सडक पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।
विपद्जन्य जोखिमलाई मध्यनजर गर्दै बिहीबार साँझ ७ बजेदेखि अर्को सूचना जारी नभएसम्म इलामभित्रको मेची राजमार्गमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।
बिपी राजमार्ग अन्तर्गत काभ्रे भन्ज्याङ–भकुण्डेबेसी–सिन्धुली सडक खण्डमा पनि रातिको समयमा अत्यावश्यकबाहेकका सवारी आवागमन निषेध गरिएको छ। भारी वर्षाको सम्भावना र बाढी–पहिरोको जोखिमलाई ध्यानमा राख्दै बिपी राजमार्ग दुई दिनका लागि रातिको समयमा बन्द गरिएको जिल्ला प्रशासन कार्यालय काभ्रे र सिन्धुलीले जानकारी दिएका छन्।
काभ्रे प्रशासनले साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म राजमार्गमा सवारी सञ्चालन रोकिएको जनाएको छ। वर्षा र बाढीका कारण सवारी साधन र यात्रुहरूलाई जोखिम हुनसक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको सूचनामा उल्लेख छ।
सिन्धुली प्रशासनले खुर्कोटबजार क्षेत्र र त्यहाँबाट काठमाडौँतर्फ जाने सवारीसाधन आवागमनमा निषेध गरेको छ। दिउँसोको समयमा पनि भारी वर्षा भएमा सुरक्षाकर्मीले आवश्यक ठानेका ठाउँमा सवारी रोक्न सक्ने व्यवस्था गरिएको प्रशासनले जनाएको छ।
बिपी राजमार्ग र मध्यपहाडी राजमार्गमा सवारी सञ्चालन गर्दा वर्षा भइरहेकाले सवारी साधन नचलाउन प्रशासनले अनुरोध गरेको छ।
रुकुमपूर्वको मध्यपहाडी (पुष्पलाल) लोकमार्ग कात्तिक महिनाभरका लागि बन्द गरिएको छ। सिस्ने गाउँपालिका–६ अन्तर्गत रानीकोट, किटानी र साँख क्षेत्रमा बाँकी रहेको निर्माण कार्यका लागि सडक बन्द गरिएको प्रहरीले जनाएको छ। बाटो कात्तिक ३० गतेसम्म पूर्ण रूपमा बन्द रहने र वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।
पदमार्गमा यात्रा नगर्न आग्रह
सङ्खुवासभा जिल्ला प्रशासन कार्यालयले निरन्तरको वर्षा र हिमपातका कारण उच्च हिमाली क्षेत्रका पर्यटकीय पदमार्गमा यात्रा नगर्न अनुरोध गरेको छ। बिहीबार सार्वजनिक सूचनामा मकालु आधार शिविर र उत्तरी हिमाली क्षेत्रका पदमार्गमा कात्तिक १५ गतेसम्म यात्रा नगर्न आग्रह गरिएको छ।
प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाका अनुसार, मङ्गलवारदेखि निरन्तर वर्षा र हिमपात भइरहेकाले पर्यटकलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको हो।
निरन्तरको वर्षा र हिमपातका कारण कात्तिक १५ गतेसम्म उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न उनले सबैलाई आग्रह गरेकी छन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.