निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

प्रतिनिधिसभा निर्वाचन : नयाँ १८ दलले दिए निवेदन, थपिए ८५ हजार मतदाता

प्रतिनिधिसभा निर्वाचन : नयाँ १८ दलले दिए निवेदन, थपिए ८५ हजार मतदाता

अन्य लैङ्गिक पहिचानका ७ जना मतदाता थप

238
SHARES

काठमाडौँ – फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्न नयाँ १८ दलले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन्। जेनजी आन्दोलनपछि कार्यकाल पूरा नगरी विघटन गरिएको प्रतिनिधिसभा पुनःनिर्वाचनको तयारी भइरहेका बेला नयाँ दलहरूको सङ्ख्या बढ्दै गएको आयोगले जनाएको छ।

निर्वाचन आयोगका अनुसार, जेनजी आन्दोलनपछि मात्रै ८ वटा नयाँ राजनीतिक दलले दर्ताका लागि निवेदन दिएका छन्। आयोगको अद्यावधिक विवरणअनुसार, असोज २४ गते राष्ट्रिय जनमुक्ति पार्टी र असोज २८ गते जनस्वराज पार्टी दर्ता भएका छन्। जनमुक्ति पार्टीको चुनाव चिन्ह “हात मिलाएको” तोकिएको छ भने जनस्वराज पार्टीले चुनाव चिन्ह तोकेको छैन।

सिके राउतको जनमत पार्टीबाट फुटेर बनेको जनस्वराज पार्टीसहित आयोगमा हाल १२४ दल अद्यावधिक भएका छन्। बिहीबारमात्रै नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीले नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएका छन्।

आफू संरक्षक र श्रीमती रन्जिता श्रेष्ठ अध्यक्ष रहेको पार्टीमा विवाद भएपछि अलग भएका चौधरीले नयाँ दल दर्ता गराउन निवेदन दिएका हुन्। उक्त दलको अध्यक्षको जिम्मेवारी जेनजी पुस्ताका कबीर सोपलाई दिइएको छ।

वरिष्ठ उपाध्यक्षमा हालै डा. सिके राउत नेतृत्वको जनमत पार्टी छाडेका अब्दुल खानलाई बनाइएको छ भने नाउपा नेपालको महासचिवमा उमाशङ्कर चौधरी छन्। नयाँ पार्टीको चुनाव चिन्ह ‘जाँतो’ प्रस्ताव गरिएको छ।

रेशम चौधरीले आफू जेलमै रहेका बेला श्रीमती रन्जिता श्रेष्ठलाई अध्यक्ष राखेर २०७८ पुस १९ गते नागरिक उन्मुक्ति पार्टी दर्ता गराएका थिए। अहिले उनले पुनः नयाँ पार्टीको दर्ता प्रक्रिया अघि बढाएका हुन्।

निर्वाचन आयोगले दर्ता निवेदन प्राप्त गरेका दलहरूको कागजात स्वीकृतिका लागि अध्ययन भइरहेको जनाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन घोषणा हुनुअघि १० वटा र घोषणा पछि ८ वटा दलले दर्ताका लागि निवेदन दिएका छन्।

भट्टराईका अनुसार, मतदाता नामावलीमा नयाँ मतदाता दर्ता गर्ने काम पनि निरन्तर जारी छ। आयोगले नामावली दर्ताका लागि २०८२ कात्तिक ३० गतेसम्मको समयसीमा तोकेको छ। उनका अनुसार दैनिक पाँचदेखि छ हजार नयाँ मतदाता थपिँदै आएका छन्।

हालसम्म ८५ हजार १०७ जना नयाँ मतदाता नामावलीमा सूचीकृत भएका छन्। तीमध्ये अन्य लैङ्गिक पहिचानका ७ जना मतदाता पनि थपिएका छन्।

आयोगले कात्तिक ३० गतेपछि निर्वाचन कार्यक्रम सुरु हुने जनाउँदै, प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संस्थाहरूबाट निवेदन माग गरिएको जानकारी दिएको छ।

आयोगका अनुसार, काठमाडौँ उपत्यकाका संस्थाहरूले आयोगको केन्द्रीय कार्यालयमा, र अन्य जिल्लाका संस्थाहरूले सम्बन्धित प्रदेश निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

समाचार शेयर गर्नुहोस्
238
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.