निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

अवरुद्ध सडक खुलाउने प्रयास, हिमपातमा फसेका १५०० जनाको उद्धार

अवरुद्ध सडक खुलाउने प्रयास, हिमपातमा फसेका १५०० जनाको उद्धार

197
SHARES

काठमाडौँ – जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबारदेखि मङ्गलवारसम्म देशका विभिन्न पहाडी र हिमाली भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ।

आइतबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहने र बाँकी प्रदेशमा मौसम मुख्यतः सफा रहनेछ। ती प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा हल्का वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

राति पनि यिनै प्रदेशका पहाडी तथा हिमाली भागमा एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सोमबार देशका अधिकांश भागमा मौसम सफा रहने तर पहाडी भू–भागमा आंशिक बदली रहनेछ। दिउँसो कोशी र गण्डकी प्रदेशका केही उच्च भू–भागमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

राति पनि देशका पहाडी क्षेत्रमा आंशिक बदली रहँदै कोशी प्रदेशको हिमाली भागमा एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ।

मङ्गलवार कर्णाली प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिक बदली रहने जनाइएको छ। दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा तथा अन्य पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति गण्डकी र कर्णाली प्रदेशका केही उच्च भू–भागमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको उल्लेख गरिएको छ।

महाशाखाले हिमाली क्षेत्रमा हल्का हिमपातका कारण चिसो बढ्न सक्ने भएकाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

अविरल वर्षाका कारण अवरुद्ध बनेका देशका विभिन्न सडक खण्डहरूमध्ये केही सञ्चालनमा आएका छन् भने केही सडक खुलाउने प्रयास भइरहेको सडक विभागले जनाएको छ। बाढी–पहिरोका कारण अवरुद्ध बनेको बेंसीसहर–चामे सडक पहिरो पन्छाएपछि सञ्चालनमा आएको विभागले जानकारी दिएको छ।

निरन्तर वर्षाका कारण मर्स्याङ्दी गाउँपालिका–४ च्याम्चे नजिकैको अक्टोपस झरनामा बाढी आएको र बेंसीसहर नगरपालिका–६ उत्तीसघारी, खरखरेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो।

विभागका प्रवक्ता श्यामबहादुर खड्काका अनुसार निरन्तरको वर्षाले बिपी राजमार्ग, मेची राजमार्ग, मुलघाट–ओलाङचुङगोला माथिल्लो खण्ड र गल्छी–त्रिशूली–स्याफ्रुबेसी–रसुवागढी सडक पूर्ण रूपमा बन्द रहेका छन्। उनका अनुसार वर्षा रोकिएपछि मात्रै ती सडकहरूमा मर्मत तथा सफाइ कार्य सुरु गरिनेछ।

नेपाली सेनाले हिमपातमा फसेका १५ सयभन्दा बढी मानिसको उद्धार गरेको जनाएको छ। भारी हिमपातका कारण विभिन्न स्थानमा फसेका विदेशी पर्यटक र नेपालीसहित १५ सयभन्दा धेरै व्यक्तिको उद्धार गरिएको सेनाले जनाएको हो।

उद्धार गरिएका सबैलाई स्थानीय जनप्रतिनिधिहरूको सहकार्यमा सुरक्षित स्थानमा पुर्‍याइएको सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए।

उनका अनुसार स्थानीय प्रशासन, जनप्रतिनिधि, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयवासीको सहकार्यमा उद्धार कार्य सम्पन्न गरिएको हो।

यस्तै, मुस्ताङको लोघेकर दामोदरकुण्ड–४ याराबाट दामोदरकुण्ड हुँदै सरेबुङ पास क्षेत्रका लागि निस्किएका १४ जना पर्यटक तथा पदयात्री सम्पर्कमा आएका छन्। तीन विदेशी नागरिकसहित १४ जना पदयात्री सुरक्षित रहेको सेनाका प्रवक्ता बस्नेतले बताए।

दुई साताअघि हिमालयन एडभेन्चर ट्राभल्समार्फत उनीहरू काठमाडौँबाट सरेबुङ हुँदै मनाङको फु गाउँतर्फको पदयात्राका लागि निस्किएका थिए। लोघेकर–४ याराबाट सरेबुङ यात्राका लागि दामोदरकुण्डतर्फ प्रस्थान गरेका ती पदयात्री तीन दिनदेखि सम्पर्कविहीन भएका थिए। हिमालयन एडभेन्चरका अनुसार उनीहरू अहिले सुरक्षित छन्।

समाचार शेयर गर्नुहोस्
197
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.