काठमाडौँ – आगामी आम निर्वाचनको मिति नजिकिँदै जाँदा देशका ठुला राजनीतिक दलहरूभित्र आन्तरिक ध्रुवीकरण तीव्र बन्दै गएको छ भने साना दलहरूबीच विभाजन र एकता प्रक्रियाको चलखेल बढेको छ।
केही दिनदेखि जारी राजनीतिक कसरतपछि नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित आठ वामपन्थी दलहरूले पार्टी एकता गर्ने सहमति गरेका छन्। आइतबार साँझ माओवादी केन्द्रको पेरिसडाँडा स्थित केन्द्रीय कार्यालयमा बसेको शीर्ष नेताहरूको छलफलपछि आठै दलका अध्यक्षहरूले संयुक्त एकता–सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।
सहमति पत्रमा हस्ताक्षर गर्ने नेताहरूमा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुवासराज काफ्ले, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव, नेकपा महासचिव चिरन पुन, नेकपा समाजवादीका अध्यक्ष राजु कार्की, नेकपा (माओवादी समाजवादी) का अध्यक्ष कर्णजित बुढाथोकी र नेकपा (साम्यवादी) का अध्यक्ष प्रेमबहादुर सिंह रहेका छन्।
पार्टी एकता–सहमतिपत्रमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन, सामाजिक न्याय र आर्थिक–सामाजिक रूपान्तरण गर्दै समाजवादी क्रान्तिको लक्ष्य हासिल गर्न बृहत् कम्युनिस्ट आन्दोलनको एकीकरण आजको वस्तुगत आवश्यकता भएको उल्लेख छ।
१. पार्टीको मार्गनिर्देशक सिद्धान्त : मार्क्सवाद–लेनिनवाद हुनेछ।
२. नेपाली क्रान्तिको कार्यक्रम : नेपाली विशेषताको वैज्ञानिक समाजवाद हुनेछ।
३. पार्टीको तात्कालिक कार्यनीति : पुँजीवादी जनवादी क्रान्तिका उपलब्धिहरूको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन, सामाजिक न्याय, सामाजिक आर्थिक समृद्धि र रूपान्तरण गर्दै समाजवादको आधार तयार गरिनेछ।
४. आन्दोलनको स्वरूप : आन्दोलन मूलतः शान्तिपूर्ण हुनेछ। परिस्थितिअनुसार सडक, सदन र सरकार लगायत आवश्यकता अनुसारका सबै मोर्चाहरू आन्दोलनको मोर्चा हुनेछन्।
५. पार्टीको एकता राष्ट्रिय सम्मेलन : एकता प्रक्रियामा सहभागी सबै घटकहरूका केन्द्रीय समितिहरूको संयुक्त भेलाको रूपमा एकता राष्ट्रिय सम्मेलनको आयोजना २०८२ कार्तिक १९ गते गरिनेछ। एकता राष्ट्रिय सम्मेलनबाट पार्टी एकताको घोषणा, घोषणा पत्र र अन्तरिम विधान पारित र केन्द्रीय समितिको गठन लगायतका कार्य गरिनेछ।
६. एकता राष्ट्रिय महाधिवेशन : आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशनको आयोजना गरिनेछ।
७. केन्द्रीय समितिको गठन : एकता प्रक्रियामा सहभागी भएका पार्टीहरूका साबिकका केन्द्रीय समितिलाई समायोजन गर्दै आपसी सहमतिको आधारमा केन्द्रीय समिति गठन गरिनेछ।
८. केन्द्रीय समितिभित्रको संरचना : केन्द्रीय समिति, राजनीतिक समिति, सचिवालय, कार्य संयोजन समिति हुनेछ।
९. संयोजक र सहसंयोजक : केन्द्रीय समितिमा संयोजक र सहसंयोजक पद हुनेछ। प्रदेश, जिल्ला, पालिका र वडा तहका सबै समितिहरूमा पनि संयोजक र सहसंयोजकको व्यवस्था हुनेछ।
१०. सहमति र समन्वय : एकता राष्ट्रिय सम्मेलन र एकता महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरू, आयोजना, सङ्गठनात्मक संरचनाको गठन सबै आपसी सहमति र समझदारीमा गरिनेछ।
११. सबै तहको पार्टी पङ्क्तिमा एकता समायोजन : सबै तहका पार्टी समितिहरू र जनसङ्गठनहरूमा इन्चार्ज तथा सहइन्वार्ज र संयोजक तथा सहसंयोजकहरु सम्भव भएसम्म एकतामा सहभागी घटकहरूबाट रहने व्यवस्था गरिनेछ।
१२. दुई तहमा रहन सक्ने : कुनै पनि सदस्यहरू दुई तहको समितिमा रहन सक्नेछन्।
१३. पार्टी समितिहरूको सञ्चालन : पार्टी समितिहरूको सञ्चालन सामूहिक नेतृत्व प्रणालीमा आधारित जनवादी केन्द्रीयताको सिद्धान्त अनुरूप हुनेछ।
१४. राजनीतिक प्रतिवेदन र कार्यक्रम : पार्टी एकता घोषणापश्चात् राजनीतिक प्रतिवेदन, कार्यक्रम लगायतका दस्ताबेजहरू निर्माण गर्न कार्यदल गठन गरिनेछ।
१५. सङ्गठनात्मक समायोजन : पार्टी समितिहरू र जनसङ्गठनहरूमा सङ्गठनात्मक एकता र समायोजनका लागि विभिन्न तहमा कार्यदल गठन गरिनेछ।
१६. पार्टीको तहगत कार्यकारी समितिहरू : केन्द्र, भौगोलिक र गैरभौगोलिक दुवै तर्फका प्रदेश, जिल्ला, पालिका र वडा तह कार्यकारी हुनेछन्। सङ्घ र प्रदेश निर्वाचन क्षेत्रमा समन्वय समिति हुने र टोल तथा प्रारम्भिक स्तरका समितिहरू सङ्गठन समितिको रूपमा रहनेछन्।
१७. पार्टीको नाम र चुनाव चिह्न : पार्टीको नाम ……… रहने र चुनाव चिह्न पाँचकुने तारा हुनेछ।
१८. मतभेद समाधान : वैचारिक राजनीतिक विषयमा एकआपसमा रहन सक्ने मतबारे निरन्तर छलफल गर्दै जाने र एकता राष्ट्रिय महाधिवेशनबाट निष्कर्षमा पुर्याइनेछ। सहमति अनुसार नयाँ पार्टीको नाम आगामी ६ महिनाभित्र बस्ने एकता महाधिवेशनबाट टुङ्गो लगाइनेछ। सोभन्दा अघि, कात्तिक १८ गते ‘एकता राष्ट्रिय सम्मेलन’ आयोजना गरिने उल्लेख छ, जसले पार्टी एकताको घोषणा, घोषणापत्र र अन्तरिम विधान पारित गर्दै संयोजक र सह–संयोजकसहित नयाँ केन्द्रीय समिति गठन गर्नेछ।
माओवादी केन्द्र र समाजवादीभित्र असहमति
पार्टी एकतामा सहमति जुटे पनि माओवादी केन्द्रभित्र असहमति सतहमा आएको छ। उपमहासचिव जनार्दन शर्माले फरक मत राख्दै बैठक बहिष्कार गरेका छन्।
नेकपा (एकीकृत समाजवादी) मा बहुमतले निर्णय गरेपछि पार्टी तीन भागमा विभाजित भएको छ। वरिष्ठ नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले मूल पार्टीलाई अघि बढाउने तयारीमा छन् भने रामकुमारी झाँक्री नेतृत्वको अर्को समूह एमालेमा फर्किने तयारीमा छ।
ठुला दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) पनि आन्तरिक विवादका कारण थिलथिलो भएका छन्। कांग्रेसमा १५औँ महाधिवेशनको मिति तोक्ने प्रस्तावमा संस्थापन र असन्तुष्ट पक्षबीच सहमति नजुटेपछि आइतबार बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक मङ्गलवार दिउँसो १ बजेका लागि सारिएको छ।
यसअघि शुक्रवारको बैठक पनि स्थगित गरिएको थियो। पार्टीभित्र महाधिवेशन आम निर्वाचनपछि गर्ने वा त्यसअघि भन्ने विवाद यथावत् छ।
युवा कार्यकर्ताहरूले नियमित महाधिवेशन गर्न माग गर्दै सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका छन्। उनीहरूले पार्टी ‘अनिर्णयको बन्दी’ बनेको भन्दै विरोध प्रदर्शनसमेत गरेका छन्। असोज २८ गतेदेखि सुरु भएको कांग्रेस केन्द्रीय समितिको बैठक पटक–पटक स्थगित हुँदै आएको छ।
एमालेले भने आगामी मङ्सिर २७ देखि २९ सम्म काठमाडौँमा महाधिवेशन गर्ने तयारी थालेको छ। पार्टीले ‘यूथ भोलेन्टियर फोर्स’ गठन गरी सङ्गठन विस्तार र निर्वाचन तयारीलाई तीव्रता दिएको छ।
जेनजी पुस्तासहितका केही स्वतन्त्र समूह नयाँ दल दर्ता गर्ने तयारीमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), डा. बाबुराम भट्टराई नेतृत्वको दल र राप्रपा पनि आन्तरिक छलफल र रणनीतिक तयारीमा व्यस्त छन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.