निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

प्रचण्डको नयाँ शक्ति–नाटक : अस्तित्व जोगाउन पार्टी एकता

प्रचण्डको नयाँ शक्ति–नाटक : अस्तित्व जोगाउन पार्टी एकता

250
SHARES

काठमाडौँ – नेपाली राजनीतिमा फेरि एकपटक शक्ति र अस्तित्वको नाटक सुरु भएको छ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ राजनीतिक शक्ति निर्माणको घोषणा गर्दै ‘नेपाली कम्युनिस्ट पार्टी’ नाममा नयाँ पार्टी गठन गरेका छन्।

१० वर्षे सशस्त्र युद्धमार्फत राजनीतिमा उदाएका प्रचण्डले जेनजी आन्दोलनपछि कमजोर राजनीतिक हैसियत पुनःस्थापना गर्न विभिन्न वाम पार्टी र समूहहरूलाई मिलाएर नयाँ पार्टी एकता घोषणा गरेका हुन्।

नयाँ पार्टीको नेतृत्वमा उनले पुरानै पात्रहरू असफल, विवादित र कतिपय भ्रष्टाचारको आरोपले डामिएका अनुहारहरूलाई अघि सारेका छन्। घोषणासभामा प्रचण्डले पुराना सहयात्रीहरूलाई सम्झँदै भने, “उनीहरूलाई नदेख्दा बोल्नै गाह्रो हुन्छ।”

राजनीतिक रूपमा प्रभाव गुमाउँदै गएको बेला प्रचण्डले फेरि राजनीतिक भाँडभैलो मच्चाउने रणनीति लिएका छन्। उनको दृष्टि अब वैचारिक बहस वा अनुशासनमा होइन, आफूलाई पुनः सुप्रीमोको रूपमा स्थापित गर्ने उद्देश्यमा केन्द्रित देखिएको छ। एमालेलाई समेत एकताका लागि आव्हान गर्दै उनले लोकतान्त्रिक शक्तिसँग मोर्चा बनाएर अघि बढ्ने घोषणा गरे।

काठमाडौँमा सम्पन्न एकता राष्ट्रिय सम्मेलनले नौ बुँदे प्रस्ताव पारित गर्दै नयाँ पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’, चुनाव चिन्ह पाँच कुने तारा, संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’, र सहसंयोजकमा माधवकुमार नेपाल रहने निर्णय गरेको छ।

तर, प्रचण्डको यो नयाँ स्क्रिप्ट पनि शक्तिको नाटक र समीकरणको निरन्तरताको रूपमा देखिएको छ। एकता सभामा उपस्थित नेतामध्ये झलनाथ खनाल असन्तुष्ट मुद्रामा देखिए। नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता खनालले सभामा माधव नेपालको नाम नलिँदै भने, “कम्युनिस्टहरू जुट्ने होइन, फुट्ने ऋंखला चलिरहेको छ।”

नवगठित पार्टीका सहसंयोजक माधवकुमार नेपालले भने विगतको नियति दोहोरिन नदिन सबै सजग हुनुपर्ने बताए।

पार्टीले २३ बुँदे प्रतिबद्धता सार्वजनिक गर्दै उच्चस्तरीय सम्पत्ति छानबिन आयोग गठन गर्ने, सार्वजनिक पदमा रहेकाहरूको सम्पत्ति जाँच्ने, भ्रष्टाचारमा संलग्नहरूलाई कारबाही गर्ने, र जनताको सुख-दुःखमा जोडिने वाचा गरेको छ। पार्टीले कम्युनिस्ट आचरण, अनुशासन, नैतिकता, सादगी र पारदर्शिता अपनाउने घोषणा पनि गरेको छ।

झाँक्री र किसान एमाले फर्किँदै

नयाँ पार्टी एकतासँगै नेकपा (एकीकृत समाजवादी) तीन चिरामा बाँडिएको छ। अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको संस्थापन पक्ष नयाँ एकतामा गइसकेको छ भने महासचिव घनश्याम भुसाल नेतृत्वको समूहले नयाँ टिम बनाएर समाजवादीलाई निरन्तर अघि बढाउने घोषणा गरेको छ।

तर अर्का समूहका नेताहरू रामकुमारी झाँक्री र कृष्णकुमार श्रेष्ठ ‘किसान’ एमालेमै फर्कने भएका छन्।
कुनै बेला माधव नेपालको हात समाएर नयाँ पार्टी बनाएका उनीहरू अहिले बार्गेनिङको हैसियत गुमाएर ‘निरीह’ मुद्रामा एमाले फर्कने तयारीमा छन्।

काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा नेता कृष्णकुमार श्रेष्ठले आफूहरूले जीवन अर्पण गरेको मूल पार्टी एमालेमै फर्किने घोषणा गरे। उनले भने, “हाँसेर बोलिदिएमात्र पुग्छ।”

त्यसैगरी नेतृ रामकुमारी झाँक्रीले पार्टी नै नरहेपछि यात्रा अवरुद्ध भएको बताइन्। उनले भनिन्, “अब विचार र सिद्धान्त मिल्ने दलसँग एकताबद्ध भएर अघि बढ्नेछौँ।”

झाँक्री र श्रेष्ठसँगै अम्बरबहादुर थापा, डा. वंशीधर मिश्र, होमबहादुर बुढाथोकी, पीताम्बर श्रेष्ठ र अर्जुन राई पनि एमाले फर्कने भएका छन्।
एमाले नेतृत्वले फर्कनेहरूलाई व्यक्तिगत रूपमा मात्रै स्वागत गर्ने र नीति–नेतृत्वमा सहमति जनाउनेहरूलाई मात्र जिम्मेवारी दिने जनाएको छ। एमाले सचिव पद्मा अर्यालले फर्कनेहरूलाई पार्टीमा प्रवेश गराएपछि मात्र जिम्मेवारी तोकिने बताइन्।

कांग्रेसमा पनि आन्तरिक ध्रुवीकरण

नेपाली कांग्रेसभित्र पनि ‘पहिले महाधिवेशन कि निर्वाचन’ भन्ने विषयमा दुई धार देखिएको छ। एकथरी नेताहरूले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनअघि नै विशेष वा नियमित महाधिवेशन गर्नुपर्ने माग गरेका छन्।

अर्काथरी नेताहरूले भने पहिले निर्वाचन गरेर मात्र महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन्। महाधिवेशन छिटो गर्नुपर्ने पक्षले कांग्रेसलाई नयाँ पुस्ताको हातमा जिम्मेवारी दिनुपर्ने र नयाँ सोचसहित पुनरुत्थान आवश्यक रहेको बताउँछन्।

तर विपक्षी धारले अहिले महाधिवेशन गर्दा पार्टीमा विभाजन र अस्थिरता बढ्ने चेतावनी दिएको छ। बैठकमा केन्द्रीय सदस्य उदयशमशेर राणाले विशेष महाधिवेशनलाई *‘महाभारतको चक्रव्यूह’*सँग तुलना गरे।

पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही पनि विशेष महाधिवेशनको विपक्षमा रहे। १४औँ महाधिवेशनमा संस्थापन पक्षका सहमहामन्त्री फरमुल्लाह मन्सुर, महामन्त्री गगन थापाको प्रस्तावमा खुलेर समर्थनमा उत्रिएका छन्।

मन्सुरले गगन थापालाई भावी सभापति र प्रधानमन्त्रीका रूपमा अघि सार्नुपर्ने प्रस्ताव नै बैठकमा राखे।

बैठकको सुरुमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सहमहामन्त्री महेन्द्र यादवको कार्यतालिका व्यक्तिगत प्रस्ताव भएको स्पष्ट पारे। केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले ५५ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरिसकेकाले अब विशेष महाधिवेशन नगर्ने कुरा इतिहासकै भद्दा मजाक हुने बताए।

गत असोज २८ गतेदेखि सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक भोलि पुनः बस्नेछ।

समाचार शेयर गर्नुहोस्
250
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.