काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालको निम्तोमा पूर्वराष्ट्रपति डा. रामवरण यादवले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन्। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपश्चात् भदौ २७ गते गठित कार्की नेतृत्वको सरकारले देशलाई निर्वाचन प्रक्रियामा लैजाने तयारी तीव्र पारेको बेला पूर्व राष्ट्रपति यादवलाई प्रधानमन्त्री कार्कीले निम्तो दिएर बालुवाटार बोलाएकी हुन्।
गृहमन्त्री अर्यालले मङ्गलवार पूर्वराष्ट्रपति यादवको ललितपुरस्थित निवासमै पुगेर निम्तो दिएका थिए। सो निम्तो स्वीकार गर्दै भोलिपल्टै अर्थात् बुधवार पूर्वराष्ट्रपति यादव प्रधानमन्त्री निवास बालुवाटार पुगे।
भेटमा फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारी, राजनीतिक वातावरण र निर्वाचनमा सबै दलको सहभागिता सुनिश्चित गर्ने विषयमा विस्तृत चर्चा भएको प्रधानमन्त्री कार्कीको निजी सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनले अघि सारेका सुशासन र पारदर्शिताका भावनाअनुसार देशलाई स्थायित्वतर्फ लैजान र जननिर्वाचित सरकारलाई शक्ति हस्तान्तरण गर्न आफू प्रतिबद्ध रहेको बताइन्।
भेटका क्रममा पूर्वराष्ट्रपति यादवले सबै राजनीतिक दलले चुनावमा जानैपर्ने र कुनै पनि दलले त्यसबाट भाग्न नहुने धारणा राखे। उनले भने,“राजनीतिक दलहरू चुनावमा जानैपर्छ। मुलुकलाई लोकतान्त्रिक प्रक्रियामा लैजान चुनाव नै सर्वोत्तम बाटो हो। तपाईँहरूले चुनावका लागि गर्नुभएको तयारी र सबै पक्षहरूसँग गर्नुभएको संवादले सकारात्मक वातावरण बनाएको छ।”
उनले निर्वाचन आयोगलाई बजेट उपलब्ध गराइएको र बन्दोबस्तीका सामग्रीहरूको व्यवस्थापन भइरहेको उल्लेख गर्दै, “यो राम्रो कुरा हो। अब नागरिक समाजसँग पनि संवाद गर्नुहोस्। नागरिक समाजले पनि दलहरूलाई चुनावमा जान प्रेरित गर्नुपर्छ,” भन्ने सुझाव दिए।
पूर्वराष्ट्रपति यादवले २०७० सालमा आफू राष्ट्रपति हुँदा तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा गठन भएको चुनावी सरकारका अनुभव पनि सुनाए। उनले त्यतिबेलाको सुरक्षा अवस्था, राजनीतिक दबाब र भूराजनीतिक परिवेशका कठिनाइका बाबजुद निर्वाचन सम्भव भएको प्रसङ्ग जोड्दै वर्तमान सरकार पनि त्यस दिशामा दृढताका साथ अघि बढ्नुपर्ने बताए।
सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन उनले सबै सुरक्षा निकायबीच सहकार्य र समन्वय आवश्यक रहेकोमा जोड दिए। उनले भने,“दलहरूले चुनावको अपरिहार्यता बुझिसकेका छन्। आउँदो फागुन २१ मा हुने निर्वाचनमा सबै दल सहभागी हुनेमा म विश्वस्त छु। चुनावको विकल्प छैन, यो प्रक्रियालाई कुनै पनि बहानामा अल्झाउनु हुँदैन।”
भेटमा अर्थमन्त्री रामेश्वर खनाल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललगायत उच्च पदाधिकारीको उपस्थित थियो।
यसअघि मङ्गलवार मात्रै गृहमन्त्री अर्यालले पूर्वराष्ट्रपति यादवसँग ललितपुरमा भेटवार्ता गर्दै सरकारका तर्फबाट भइरहेका तयारीबारे जानकारी दिएका थिए। उनले जेनजी आन्दोलनले दिएको कार्यादेशअनुसार सरकारी सेवामा प्रभावकारिता र पारदर्शिता बढाउनेदेखि निर्वाचनको तयारीलाई प्राथमिकतामा राखेर काम भइरहेको बताए।
गृहमन्त्री अर्यालको सचिवालयका अनुसार उनले पूर्वराष्ट्रपति यादवलाई “निर्वाचनलाई अर्जुनदृष्टि बनाएर” अघि बढिरहेको सरकारको प्रयासमा अभिभावकीय भूमिका खेल्दै समाजका सबै पक्षलाई निर्वाचनतर्फ उन्मुख गराउन सहयोग गर्न आग्रह गरेका थिए।
डा. यादवले पनि प्रधानमन्त्री कार्की नेतृत्वको सरकारका तर्फबाट निर्वाचनका लागि वातावरण बनाउन भइरहेको तयारीको प्रशंसा गर्दै भनेका थिए, “चुनावका संवाहक राजनीतिक दलहरू नै हुन्, त्यसैले अब चुनावभन्दा दायाँबायाँ सोच्न हुँदैन।”
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.