निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

निर्वाचनमा कसरी जाने? जेनजीका समूहमा अन्योल

निर्वाचनमा कसरी जाने? जेनजीका समूहमा अन्योल

233
SHARES

काठमाडौँ – आउँदो फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै जेनजीका विभिन्न समूहहरू आन्तरिक छलफलमा छन्। जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक तरंगबीच उनीहरू निर्वाचनमा कसरी सहभागी हुने भन्ने विषयमा अझै स्पष्ट निष्कर्षमा पुगेका छैनन्।

कसैले स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचनमा जाने, कसैले नयाँ राजनीतिक दल दर्ता गरेर सामूहिक रूपमा प्रतिस्पर्धा गर्ने वा केहीले मतदाताको हैसियतमा मात्र सहभागी हुने विकल्पबारे निरन्तर छलफल गरिरहेका छन्। तर, कुनै पनि समूह अझै टुङ्गोमा पुगेका छैनन्।

जेनजीदेखि लिएर केही आशालाग्दा नयाँ अनुहारहरू समेत दल खोल्ने तयारीमा छन्। निर्वाचन आयोगले दल दर्ताका लागि कार्तिक मसान्तसम्मको समय दिएको छ।

जेनजी आन्दोलनपछिको बहुप्रतिक्षित टिमले पनि पार्टी दर्ता गर्ने तयारी थालेको छ। काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन), ऊर्जामन्त्री कुलमान घिसिङ, पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ र विवेकशील नेपाली पार्टीकी संस्थापक रञ्जु दर्शना लगायतले नयाँ पार्टी दर्ताका लागि तयारी गरिरहेका छन्।

नेत्री रञ्जु दर्शनाले भनिन्, “विचार मिल्ने र देशलाई गति दिन चाहने सबै व्यक्ति एकजुट भएर अगाडि बढ्नुपर्छ भन्ने हाम्रो विश्वास हो। सबैजना छुट्टिएर होइन, जुटेर जानुपर्छ भन्ने हाम्रो अभ्यास हो।”

उनका अनुसार बालेन र कुलमानले अहिले पार्टीमा आबद्ध हुने वा नहुने निर्णय नलिएकाले पार्टी दर्ताको मिति टुङ्गो लाग्न बाँकी छ। उनले भनिन्, “आर्थिक अवस्था सुधार, भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापना गर्नु नै हाम्रो मुख्य एजेन्डा हो।”

रञ्जुका अनुसार निरन्तर छलफल भइरहेकाले निर्वाचनका विषयमा यही हप्ताभित्र सबै कुराको टुङ्गो लाग्ने अपेक्षा गरिएको छ।

जेनजी आन्दोलनका प्रतिनिधिहरू पनि छुट्टै दल दर्ता गर्ने तयारीमा छन्। केही प्रतिनिधिहरू भने मतदाता मात्र बन्ने तयारीमा रहेको बताउँछन्।

जेनजी प्रतिनिधि तनुजा पाण्डेले भनिन्, “सुधारका लागि संस्थागत रूपमा एकजुट भएर आउनुपर्छ।”

उनले थपिन्, “फागुन २१ को चुनावमा राजनीतिक दलहरूलाई पन्छाएर हामी मात्रै जाने भन्ने होइन।”

जेनजी अगुवा रक्षा बमले भने उम्मेदवारको रूपमा होस् वा मतदाताको रूपमा, कुनै न कुनै माध्यमबाट निर्वाचनमा सहभागी हुने बताइन्। उनले भनिन्, “उम्मेदवारको रूपमा देखिने सम्भावना भने कम छ।”

जेनजीका अर्का प्रतिनिधि संविधान प्रसाईँले पनि आफूहरू अहिले आन्तरिक छलफलमै रहेको उल्लेख गर्दै भने, “निर्वाचनमा कसरी प्रस्तुत हुने भन्नेबारे केही दिनमै घोषणा गर्नेछौँ।”

अर्का जेनजी प्रतिनिधि रिजन रानामगरले भने, “जेनजी मात्रै चुनावमा जानुपर्छ भन्ने हाम्रो धारणा होइन। यसपालिको चुनावमा जनताले राम्रै विकल्पसहित छान्न पाउने वातावरण बनाउनु पर्छ।”

जेनजी आन्दोलनकी प्रतिनिधि मोनिका निरौलाले भने सरकारले जेनजी आन्दोलनलाई वैधानिकता दिन ढिलाइ गरिरहेको आरोप लगाइन्। उनले भनिन्, “हामीले लोकतान्त्रिक प्रक्रियाबाट सम्झौता तयार गरेका छौँ। अब त्यसमा सरकारले हस्ताक्षर गर्नुपर्छ।”

समाचार शेयर गर्नुहोस्
233
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.