निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

राजनीतिक दलमा आन्तरिक रस्साकस्सी, सरकार दबाबमा

राजनीतिक दलमा आन्तरिक रस्साकस्सी, सरकार दबाबमा

275
SHARES
तस्विर : गोपाल दाहाल/रासस

काठमाडौँ – आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा प्रमुख राजनीतिक दलहरू आफ्नै आन्तरिक किचलोमा फसेका छन्। सरकार निर्वाचन तयारीमा जुटिरहँदा देशको सबैभन्दा ठुलो दल नेपाली कांग्रेस भने महाधिवेशन कहिले गर्ने भन्ने विवादमै अल्झिएको छ।

सभापति शेरबहादुर देउवा उपचारका लागि सिंगापुर गएपछि सुरु भएको केन्द्रीय समिति बैठक तीन सातादेखि जारी छ। बैठकको प्रमुख एजेन्डा महाधिवेशनकै मिति निर्धारणमा केन्द्रित बनेको छ। पार्टीभित्र अहिले दुई धार स्पष्ट देखिएका छन्, चुनावअघि महाधिवेशन गर्ने कि चुनावपछि गर्ने।

महामन्त्री गगन थापाको प्रस्ताव अनुसार चुनावअघि नै महाधिवेशन गर्नुपर्ने पक्ष र संस्थापन पक्षबीच तीव्र रस्साकस्सी चलिरहेको छ। संस्थापन पक्षले चुनाव सम्पन्न भएपछि मात्र महाधिवेशन गर्नुपर्ने अडान लिएको छ भने इतर समूहले मंसिरमै महाधिवेशन गरेर पार्टी पुनःसंरचना गर्ने रणनीति बनाएको छ।

जेनजी आन्दोलनपछि देशको राजनीतिक नेतृत्वप्रति जनताको असन्तोष बढ्दै गएपछि कांग्रेस नेताहरूमा पनि सुधारको दबाब बढेको छ। पार्टीलाई व्यक्तिवादी र स्वार्थ केन्द्रित नबनाउने चेतावनी कार्यकर्ताबाट तीव्र रूपमा आएको छ।

महाधिवेशनको मिति तोक्न कार्यवाहक सभापति पूर्णबहादुर खड्का सकसमा परेका छन्। बैठक लामो समयसम्म टुङ्गोमा नपुग्दा सिंगापुरबाटै बैठक चलाइरहेको आरोप खड्कामाथि लागेको छ। कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार बैठक अझै केही दिन लम्बिने छ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बिहीबार बसेको बैठकले भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत केन्द्रीय कार्यसमितिका सदस्य तथा पूर्व उपसभापति गोपालमान श्रेष्ठको स्वास्थ्यलाभको कामना गरेको छ।

बैठक कार्तिक २१ गते बिहान ११:३० बजे पार्टी केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, ललितपुरमा पुनः बस्नेछ। बिहीबारको बैठकमा अर्जुननरसिंह के.सी., एन.पी. साउँद, आनन्दप्रसाद ढुङ्गाना, अजयकुमार चौरसिया, मिनाक्षी झा, अमृत अर्याल, गेहेन्द्र गिरी, प्रदीपकुमार सुनुवार, नैनसिंह महर, विनोद चौधरी, ई. मोहन आचार्य, मञ्जुकुमारी यादव, सरस्वती अर्याल तिवारी, नागिना यादव, उर्मिला नेपाल के.सी., रुपा वि.क., धना खतिवडा, कल्याणी रिजाल, अनिलकुमार रुँगटा र आमन्त्रित सदस्य दीपक खड्काले आ–आफ्नो धारणा राखेका थिए।

केन्द्रीय कार्यसमिति बैठक जारी रहँदा नेताहरूले छुट्टाछुट्टै गुटगत छलफल र भेला चलाइरहेका छन्। केन्द्रीय समितिमा पनि धारणा गुटगत आधारमै राखिएका छन्। कार्यवाहक सभापति खड्काले अहिलेसम्म कुनै निर्णय सुनाएका छैनन्, उनी सबैको धारणा सुन्दै छन्।

दोस्रो ठुलो दल नेकपा एमालेले मङ्सिर अन्त्यतिर महाधिवेशन गर्ने तयारी गरिरहेको छ। तर, अध्यक्ष केपी शर्मा ओलीले “चुनाव हुने निश्चित छैन” भन्दै संशय व्यक्त गरेका छन्। अध्यक्षमा निरन्तरता पाउनेमा ढुक्क रहेका ओलीले पुनः चुनावबाट आउने विषयमा असहजता प्रकट गरेका छन्।

नेकपा माओवादी केन्द्रसहित १० वाम दलबीच एकता घोषणा भइसकेको छ। एकता घोषणाकै दिन, माधवकुमार नेपालले आफ्नै पार्टी एकीकृत समाजवादीका ६ नेता महासचिव घनश्याम भुसाल, रामकुमारी झाँक्री, दामोदर अर्याल, नन्दलाल बञ्जाडे, धर्मराज निरौला र किसान श्रेष्ठलाई कारबाही गरेका थिए।

मङ्गलवार राति १२ बजेसम्म अध्यक्ष ओलीलाई भेटेका पूर्वप्रधानमन्त्री झलनाथ खनाल बुधवार प्रचण्डसँगको एकतामा जोडिएपछि माधव नेपालले कारबाही गरेका ६ नेताले बिहीबार पुनः ओलीसँग भेट गरेका छन्।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र जेनजी समूहबीच भने बिहीबार काठमाडौँमा राजनीतिक संवाद भएको छ। पार्टीका संस्थापक अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उक्त छलफलमा जेनजी आन्दोलनलाई संस्थागत गर्न सरकारलाई सुझाव दिएका छन्।

तर सरकार अहिले राजनीतिक दल र जेनजी आन्दोलनका अगुवा दुवैको निशानामा परेको छ। जेनजी आन्दोलनको म्यान्डेटअनुसार अघि नबढेको भन्दै शीतल निवास, बालुवाटार र सिंहदरबारमा जेनजी प्रतिनिधिहरूले निरन्तर धर्ना र प्रदर्शन गर्दै दबाब बढाइरहेका छन्।

राजनीतिक दलहरूले सरकारको वैधानिकतामाथि प्रश्न उठाइरहेका बेला, जेनजी अगुवाहरूले प्रधानमन्त्री र मन्त्रीहरूको भूमिकामाथि कडा प्रश्न उठाएका छन्। ‘हामी नेपाल’ का संयोजक तथा जेनजी अभियन्ता सुदन गुरुङ र मिराज ढुङ्गानाले गृह मन्त्री ओमप्रकाश अर्यालको कार्यशैलीमाथि सार्वजनिक असन्तुष्टि जनाएका छन्।

फेसबुकमा स्ट्याटस लेख्दै गुरुङले भनेका छन् “पटक–पटक भेटेर पनि नटेरेपछि म सार्वजनिक रूपमा बोल्न बाध्य भएँ।” उक्त स्ट्याटस मिराज ढुङ्गानाले पनि सेयर गरेका छन्। गुरुङले गृह मन्त्रीले जनताको भरोसा पूरा गर्न नसकेको आरोप लगाउँदै दुई दिनभित्र राजीनामा दिन सुझाव दिएका छन्।

उनका अनुसार सरकार गठन भएको दुई महिना पुग्दा पनि भ्रष्टाचार वा हत्याका मुद्दामा कुनै कारबाही भएको छैन, बरु जेनजी आन्दोलनका कार्यकर्तालाई निशाना बनाइएको छ। ८४ को चुनाव ८२ मा सार्नका लागि आन्दोलन नगरिएको भन्दै उनले गृह मन्त्री अर्याललाई स्मरण गराएका छन्।

गृह मन्त्री अर्याल भने बिहीबार जेनजी आन्दोलनमा जलेको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको निवास भंगाल पुगे र अवलोकनसँगै भेटवार्ता गरे। यसअघि उनले पूर्वराष्ट्रपति रामवरण यादवलाई पनि निवासमै गएर भेटेका थिए।

पूर्वराष्ट्रपति यादवको प्रधानमन्त्री सुशीला कार्कीसँग भेटको तयारी पनि गृह मन्त्री अर्यालकै पहलमा भएको थियो। बिहीबार उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर प्रधानमन्त्रीसँग भेट गर्ने निम्तो दिएको स्रोतले जनाएको छ।

समाचार शेयर गर्नुहोस्
275
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.