काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्र द्वन्द्वमा नभई संवादमा बलियो हुने बताएका छन्। प्रतिनिधिसभाका सभामुख, उपसभामुख राष्ट्रिय सभाका अध्यक्ष उपाध्यक्ष एवम् प्रदेशसभाका सभामुख उपसभामुखलाई शीतल निवास बोलाएर राष्ट्रपति पौडेलले जनताको आवाज सुनेर लोकतान्त्रिक आचरणलाई जीवन पद्धति जति बनाउन सक्छौ त्यति नै लोकतन्त्र र संसदीय प्रणाली अझ सुदृढ हुन्छ भन्ने कुरा बिर्सन नहुने स्पष्ट पारे।
राष्ट्रपति पौडेलले युवा पुस्ताको सुशासन र विकासप्रति प्रकट भएको चाहनालाई ध्यान दिँदै संविधानको रक्षा र लोकतन्त्रलाई अझ उन्नत तथा सुदृढ बनाउन प्रतिनिधिसभा सदस्यको आगामी फागुन २१ गतेको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु सबैको साझा दायित्व हो भन्ने मर्म बुझेर अघि बढ्नुपर्ने आजको आवश्यकता भएको बताए।
राष्ट्रपति पौडेलले संसदीय प्रणालीको मजबुती कुनै एक दल, एक सरकार वा एक नेतृत्वको मात्र उत्तरदायित्व नभई सामूहिक राष्ट्रिय दायित्व भएको बताए। उनले भने–‘संसद् र सरकारको विशिष्ट भूमिका भनेकै जनताको आवाजलाई सुनिन सक्ने, बुझिन सक्ने र कार्यान्वयन गर्न सक्ने संरचना निर्माण गर्नु हो।’
उनले नेपालको संविधान केवल एउटा कानुनी दस्ताबेज मात्र नभई यो हाम्रो सहयात्रा, सहमति र सामूहिक सङ्कल्पको मार्गचित्र भएको बताउँदै यसको संरक्षणमा हामी सबैको प्रतिबद्धता भएको उल्लेख गरे। राष्ट्रपति पौडेलले असन्तुष्ट स्वरहरूलाई बेवास्ता गरेर होइन, सुनेर समाधान खोज्ने नीति सबैमा हुनुपर्ने स्पष्ट पारे।
राष्ट्रपति पौडेलले नेपालको संविधानले राष्ट्रपतिलाई कुन अवस्थासम्म हस्तक्षेप गर्ने अधिकार दिएको छ भन्ने सबैलाई जानकारी भएको बताउँदै मुलुक जटिल र गम्भीर अवस्थामा पुगेको अवस्थामा त्यो आपत्तिबाट मुलुक र जनता जोगाउन मात्र कार्यकारी भूमिकामा देखिने जस्तो गरी निर्णय लिएको बताए। उनले भने–‘राष्ट्रपतिले हस्तक्षेप गर्नपर्ने अवस्थाको दुरुपयोग नहोस् भन्नेमा म चिन्तित र सचेत छु।’
उनले मुलुकलाई फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गरेर सुरक्षित अवतरण गराउने जिम्मेवारी राजनीति दलहरूको रहेको बताए। राष्ट्रपति पौडेलले तर राजनीतिक दलका नेताहरूले मुलुकको यथार्थ अवस्थालाई नजरअन्दाज गरेर अभिव्यक्ति दिँदा त्यसले देश र जनतालाई अन्योलमा पार्ने बताउँदै भने–‘राजनीतिक दल र दलका नेताहरूले देश र जनतालाई अन्योलमा राख्ने होइन। मुलुकलाई अन्योल मुक्त गराउने नेताहरूको धर्म हो।’
प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनमा भाग लिन नयाँ मतदातालाई अपिल गरेकी छन्। प्रधानमन्त्री कार्कीले भिडियो सन्देश जारी गर्दै लोकतान्त्रिक समाजमा नागरिकको सपना साकार पार्ने २ मूलभूत साधन रहेको बताएकी छन्।
पहिलो, तपाई-हामी नागरिकको विवेक। त्यो विवेक, जसले सही गर्छ, गलत गर्दैन र गलत गर्न पनि दिँदैन प्रधानमन्त्री कार्कीले भनिन्।
दोस्रो, त्यो विवेकलाई प्रयोग गर्ने आधिकारिक साधन अर्थात् मतदाता परिचय पत्र। जेनजी युवा र समस्त नेपालीको सपनाको नेपाललाई यथार्थको नेपाल बनाउन, सबैभन्दा पहिला तपाईँ-हामीले हाम्रो मतदाता परिचय पत्र बनाउनुपर्छ। अनि त्यसको सही उपयोग गरेर सही प्रतिनिधि छान्नुपर्छ। अथवा, यहाँहरू आफै सही प्रतिनिधि बन्नुपर्छ उनले भनिन्।
विद्यमान बेथितिसँग लड्न र देश विकासमा सँगै अगाडि बढ्न हरेक योग्य नागरिकले आफ्नो मताधिकारको सदुपयोग गरौँ। मताधिकारको सदुपयोग गर्न नजिकैको निर्वाचन कार्यालय गएर आजै मतदाता परिचय बनाऔँ।
भिडियो :
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.