निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन

पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन

345
SHARES

काठमाडौँ – नेपाली कांग्रेसका पूर्वसांसद तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन भएको छ। मेडिकल कलेज (केएमसी) मा भेन्टिलेटरमा राखी उपचार भइरहेका आलमको राति करिब २ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

उनको शव शनिवार बिहान रौतहटको राजपुरस्थित आफ्नै निवासतर्फ लगिएको छ, जहाँ धार्मिक विधिअनुसार अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।

गत जेठमा आलम नख्खु कारागारबाट छुटेका थिए। उनी लामो समयदेखि चर्चित राजपुर बम विस्फोट प्रकरणमा दोषी ठहर भई जेलमा रहेका थिए।

संविधानसभा निर्वाचनको अघिल्लो राति, २०६४ साल चैत २७ गते, रौतहटको राजपुरस्थित आलमका काका शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा विस्फोट भएको थियो। उक्त घटनामा कैयौँ व्यक्ति घाइते भएका थिए।

घटनापछि घाइतेहरूलाई अस्पताल उपचारमा नलगी इँटाभट्टामा जिउँदै जलाएर हत्या गरिएको आरोपमा आलममाथि मुद्दा चलाइएको थियो। त्यस प्रकरणमा जिल्ला अदालत रौतहटले उनलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो।

तर पछि उच्च अदालतले जिल्लाको फैसला उल्टाएपछि आलम थुनामुक्त भएका थिए। जेलमुक्त भएको केही समयपछि नै उनलाई ब्रेन स्ट्रोक भएको थियो, जसपछि उनको स्वास्थ्य अवस्था कमजोर रहँदै आएको परिवारले जनाएको छ।

आफ्नो राजनीतिक जीवनमा आलम नेपाली कांग्रेसभित्र मुस्लिम समुदायका प्रभावशाली नेताका रूपमा परिचित थिए। उनी पटक–पटक मन्त्री तथा सांसदका रूपमा कार्यरत रहँदै आएका थिए।

समाचार शेयर गर्नुहोस्
345
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.