ह्यारिसवर्ग – अमेरिकामा कीट नियन्त्रणका लागि काम गर्ने प्राविधिकहरूको छाता संस्था नेशनल पेस्ट म्यानेजमेन्ट एसोसिएसनले सन् २०२४ मा गरेको सर्वेक्षण अनुसार, उडुस पर्यो भनेर सहयोग खोज्नेहरू मध्ये ९१ प्रतिशत एकल परिवारमा बसिरहेका मान्छे छन्। उडुस नियन्त्रण सेवा खोज्ने मध्ये अपार्टमेन्ट तथा कन्डोहरू ८९ प्रतिशत र ६८ प्रतिशत होटेलहरू छन्। नर्सिङ होम, विद्यालय, डे केयर सेन्टरहरू, कलेजका छात्रावास र हस्पिटलहरू मात्रै होइन, अस्पताल र सार्वजनिक सवारी साधनमा समेत उडुस उल्लेख्य मात्रामा भेटिएका छन्।
नियन्त्रण गर्न सबैभन्दा कठिन कीटहरूबारे सन् २०२४ मा गरिएको सर्वेक्षण “बग्स विदआउट बोडर्स रिपोर्ट” का अनुसार, उडुस सबैभन्दा नियन्त्रण गर्न गाह्रो हुने तथा फैलिइरहेको ओछ्याने किरामा पर्छ। यसै रिपोर्टको आधारमा हरेक वर्ष अमेरिकामा ओछ्यानमा आउने किरा नियन्त्रणको बारेमा जनचेतना जगाउन सात दिने “बेड बग्स एक्स्पोज्ड” अभियान नै सञ्चालन हुन्छ।
उडुस नियन्त्रणमा काम गरिरहेकाहरूमध्ये ६८ प्रतिशत प्राविधिकहरूले अहिले नियन्त्रण गर्न सबैभन्दा गाह्रो ओछ्यानको किरा भनेको उडुस नै हो भनेका छन्।
उडुसहरू अमेरिकाका ५० वटै राज्यमा छन् र विशेषगरी ठुला सहरहरू सिकागो, फिलाडेल्फिया, न्युयोर्क, लस एन्जलस, डेट्रोइट, डल्लास धेरै उडुस पाइने सहरहरू हुन्। ओहायो, टेक्सास, फ्लोरिडा, क्यालिफोर्निया र पेन्सिल्भानिया यी पाँच राज्यहरूमा तुलनात्मक रूपमा बढी उडुसहरू छन्।
अमेरिकामा गरिएको एक राष्ट्रव्यापी सर्वेक्षण अनुसार, हरेक ५ जनामा एक जनालाई कि त उडुसले टोकेको छ वा उसको नजिकको व्यक्तिलाई उडुसले टोकेको कुरा त्यही व्यक्तिले थाहा पाएको छ। पुरा अमेरिकी जनसङ्ख्यालाई आधार मान्दा, उडुसले सताएका अमेरिकीहरूको सङ्ख्या सन् २०२३ को जनगणना अनुसार १ करोड ६५ लाख हुन्छ।
अमेरिकाका ५० राज्यमा गरेर झन्डै ३२ हजार कीट नियन्त्रण गर्ने व्यवसाय सञ्चालित रहेको सरकारी रिपोर्टले देखाउँछ। ती मध्ये ९७ प्रतिशतले उडुस नियन्त्रणमा काम गरिरहेका छन्। यो व्यापार–व्यवसाय वर्षको झन्डै ४ प्रतिशतको दरले बढिरहेको छ। उडुसको प्रभाव पनि ४ देखि ६ प्रतिशतको हाराहारीमा बढिरहेको मानिन्छ।
आर्काइभ मार्केट रिसर्च एएमआरको अनुसन्धान रिपोर्ट अनुसार, विश्वव्यापी उडुस नियन्त्रण व्यवसायको बजार सन् २०३३ सम्ममा २ हजार ३८ मिलियन डलर पुग्ने प्रक्षेपण गरिएको छ। अमेरिकामा पनि उडुसको साम्राज्य अझै विस्तार भैरहने अध्ययनहरूले देखाउँछन्। अमेरिकामा सन् २०२४ मा ८ प्रतिशतले बढेर १३ अर्ब डलरको कीट नियन्त्रण व्यवसाय सञ्चालित थियो।
यात्रुको ब्यागेज, झोला वा अन्य कपडामार्फत घर, अपार्टमेन्ट वा होटेलको एउटा कोठाबाट अर्कोमा पाहुना लाग्न गएको उडुसले अमेरिकीहरूको रगत चुसेर द्रुत गतिमा आफ्नो वंश विस्तार गरिरहेको छ। सँगै जोडिएको युनिट, होटेलको कोठा र सरकारी तथा निजी कार्यालयमा उडुसको साम्राज्य विस्तार भैरहेको छ। कार्यालय तथा सार्वजनिक स्थलका सोफा, खाटका फ्रेम, ह्विल चेयर, स्कुल बस, एयरपोर्ट र हवाईजहाज मात्रै होइन, कि मानिसले पैसा बोक्ने पर्समा समेत उडुसले फूल पारेर बच्चा निकाल्ने गरेको फेला परेको छ।
घामको प्रत्यक्ष उज्याले नछिर्ने ठाउँहरू उडुसका राम्रो वासस्थान हुन् र त्यस्ता ठाउँमा उडुसलाई भोक लागेको बेलामा तुरुन्तै रगत चुस्न मानिसहरू पनि उपलब्ध हुन्छन्।
एउटा उडुस ६ महिना देखि वर्ष दिनसम्म बाँच्न सक्छ। उडुसले आफूभन्दा ७ गुणा बढी तौल बराबरको रगत पिउन सक्छ। सामान्यतया ३ देखि १० दिनसम्ममा उपलब्धताको आधारमा उडुसले मानिसलाई टोक्छ।
कुनै समय अमेरिकीहरूले आगोको धुवाँ लगाएर उडुस नियन्त्रणको प्रयास गर्थे। पछि लुगा फाटो पानीमा उमालेर उडुस नियन्त्रणको प्रयास भयो। सन् १८७४ मा पत्ता लागेको कडा विषादीको सूत्रलाई पहिलो विश्वयुद्ध सुरु हुनुअघि सन् १९३९ मा स्विडिस रसायनशास्त्री पाउल मूलरले कीट नियन्त्रण गर्न सकिने गुणहरू भएको कडा डीडीटी विषादीको रूपमा आविष्कार गरे।
विश्वयुद्धको बेलामा मलेरिया र अन्य रोग सार्ने किरा नियन्त्रण गर्न खूब काम लागेको त्यही विषादीलाई सन् १९५० को दशकमा अमेरिकीहरूले उडुस विरुद्ध प्रयोग गरे। त्यसपछि अमेरिकामा उडुस करिब–करिब निर्मूल नै भयो।
समयक्रममा कडा विषादी डीडीटीको उपयोग असाध्यै बढ्न थाल्यो। जसले उडुस, पतेरा लगायतका शत्रु किरा मात्रै होइन, मित्र किरा पनि मारेर वातावरणमा असर पर्ने अवस्था आयो। कडा विषादीको अत्यधिक प्रयोगले मानिसको स्वास्थ्य र वातावरणमा असर देखिन थालेपछि सन् १९७२ मा त्यो कडा विषादी डीडीटीमा प्रतिबन्ध लाग्यो र सन् १९८० को दशकदेखि ओछ्यान वा मानिसको वासस्थानमा आधारित किरा अर्थात् उडुस, उपियाँहरूको पुनर्जागरणको युग सुरु भयो।
उडुसहरूले अहिले सामान्य खालका रासायनिक विषादी प्रतिरोधी क्षमता विकास गरेका छन् र सानो तिनो औषधि पचाइदिन थालेका छन्। अहिले अमेरिकामा उडुस नियन्त्रणका लागि रसायनसँगै गैररासायनिक विधिहरू अपनाइने गरिएको छ।
अहिलेसम्म उडुसले टोकेर कुनै रोग एक व्यक्ति वा जनावरबाट अर्कोमा सरेको प्रमाणित भएको छैन, तर तिनीहरूले टोकेपछि छिलाउने र छाला रातो हुने गर्छ। बच्चा र संवेदनशील छाला भएका मानिसहरूमा धेरै समस्या देखिन सक्छ।
उडुसका परिवार, चिल्लर र फूलहरूलाई भ्याक्युमले तान्ने र तातो चिसो पानी छ्यापेर मार्ने विधिहरू अपनाइन्छ। अमेरिकामा उडुस, उपियाँ, जुम्रा मार्ने गरी तातो पानीले लुगा धुने र सुकाउने मेसिन प्रयोग हुन्छ।
उडुसको वंश विस्तार द्रुत गतिमा हुन्छ। पोथी उडुसले दिनमा एकदेखि ५ वटा सम्म फूल पार्छे भने जीवनकालमा ५०० सम्म फूलहरू पार्छे। फूल आएको ६ देखि १० दिनमा उडुसको चिल्लर निस्किन्छ र मानिसको रगत चुस्दै जवान हुँदै जान्छ।
एउटा उडुस ६ महिना देखि वर्ष दिनसम्म बाँच्न सक्छ। उडुसले आफूभन्दा ७ गुणा बढी तौल बराबरको रगत पिउन सक्छ। सामान्यतया ३ देखि १० दिनसम्ममा उपलब्धताको आधारमा उडुसले मानिसलाई टोक्छ।
वयस्क र फूल पार्ने उमेरको पोथी उडुसलाई हरेक दोस्रो दिनमा रगत पिउने मानिस आवश्यक पर्छ। लगातार केही महिनासम्म रगत पिउन नपाए पनि पेट चाउरिएका उडुसहरू जिउँदै हुन्छन् र मानिसलाई भेटेपछि टोक्छन्।
उडुसहरू मानिसलाई मध्यरातदेखि बिहान ५ बजेसम्मको मस्त निद्रामा टोकिन मन पराउँछन्। उडुसको सङ्ख्या धेरै छ र मानिसको दिउँसो सुत्ने बानी छ भने दिउँसो पनि उडुसले टोक्छन्।
मानिसले सास फेर्दा निस्कने कार्बन डाइअक्साइड र शरीरको तातो अनुभव गरेर उडुसहरूले मानिस सुत्न आएको चाल पाउँछन् र मुख मिठ्याउन थाल्छन्।
अहिलेसम्म उडुसले टोकेर कुनै रोग एक व्यक्ति वा जनावरबाट अर्कोमा सरेको प्रमाणित भएको छैन, तर तिनीहरूले टोकेपछि छिलाउने र छाला रातो हुने गर्छ। बच्चा र संवेदनशील छाला भएका मानिसहरूमा धेरै समस्या देखिन सक्छ।
फैलँदो उडुसको सङ्ख्याले अहिले अमेरिकाका होटेल, अस्पताल, अपार्टमेन्ट तथा हाउजिङ सञ्चालकहरू मात्रै होइन, परिवार र साथीभाइ मिलेर बस्ने बहुराष्ट्रिय विद्यार्थीहरू पनि प्रभावित भैरहेका छन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.