काठमाडौँ – नेकपा एमाले संसदीय दलका नेता सरोज यादव मधेस प्रदेशका नयाँ मुख्यमन्त्री नियुक्त भएका छन्। मधेस प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ (३) बमोजिम उनलाई मुख्यमन्त्रीमा नियुक्त गर्दै सोमबार बिहान शपथ ग्रहण गराएकी हुन्।
बर्दिबास र सिन्धुलीको सिमानामा रहेको एक होटलमा प्रदेश प्रमुख भण्डारीले मुख्यमन्त्री यादवलाई पद तथा गोपनीयताको शपथ खुवाएकी थिइन्। नवनियुक्त मुख्यमन्त्री यादवका अनुसार, आफूसहित चार जनाले शपथ ग्रहण गरेका हुन्। उनले भने, “म हिजो बेलुकी नै मुख्यमन्त्री नियुक्त भएको हुँ। प्रदेश प्रमुखज्यू बिरामी भएर काठमाडौँ जान लाग्नुभएकाले हतारहतार होटेलमै शपथ लिएका हौँ।”
प्रदेश प्रमुख भण्डारी स्वास्थ्य समस्या देखाउँदै सोमबार बिहान जनकपुरबाट काठमाडौं प्रस्थान गरेकी थिइन्। तर, बाटोमै बर्दिबासस्थित होटलमा रोकिएर उनले शपथ ग्रहण गराएकी हुन्। यसअघि नै निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले उनलाई जनकपुरबाट बिदाइ गरेका थिए।
एमालेका केन्द्रीय सदस्य एवम् प्रदेश संसदीय दलका नेता सरोज यादव संविधानअनुसार ठुलो दलको हैसियतमा मुख्यमन्त्री बनेका हुन्। उनीसँगै तीन जना मन्त्री नेकपा एमालेबाट लखन दास, नेपाल समाजवादी पार्टीबाट विमला अन्सारी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कञ्चन विच्छा नियुक्त भएका छन्। उनीहरूले पनि प्रदेश प्रमुख भण्डारीकै उपस्थितिमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
यसअघि आइतबार बेलुकी नेपाली कांग्रेस, जसपा, जनमतलगायत सात दलका ७८ जना प्रदेश सभा सदस्यले संविधानको धारा १६८ (२) बमोजिम वैकल्पिक सरकार गठन गर्न प्रदेश प्रमुखलाई आग्रह गरेका थिए। तर त्यसपछि अप्रत्याशित रूपमा प्रदेश प्रमुखले एमाले संसदीय दलका नेता यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्।
पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलले यो घटनालाई ‘मधेस प्रदेशको अस्मिता समाप्त पार्ने खेल’ भन्दै कडा आपत्ति जनाएका छन्। उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्, “मधेस प्रदेशका जनतासँग धोका भयो। स्वास्थ्य उपचारको नाममा निस्केकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिन्धुली र महोत्तरीको सिमानाको एउटा होटलमा प्रदेशको अस्मितालाई समाप्त पार्ने खेल गरिन्।”
उनका अनुसार बर्दिबास र सिन्धुलीको सिमानामा रहेको सो होटेलमै नियुक्तिपत्र प्रदान गरिएको थियो। भण्डारी त्यसपछि काठमाडौं गएकी थिइन्।
मधेस प्रदेशमा एमाले अहिले सबैभन्दा ठुलो दलको रूपमा छ, जसका २५ जना प्रदेश सभा सदस्य छन्। सभामुखमा रामचन्द्र मण्डल रहेका छन् भने एमालेका प्रदेश सभा सदस्य दीपेन्द्र ठाकुर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दामा निलम्बनमा रहेका छन्।
विश्वासको मत नपाएपछि केही दिनअघि मात्र जितेन्द्र सोनलले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसपछि सुरु भएको राजनीतिक अनिश्चितताबीच अहिले एमाले नेतृत्वमा नयाँ सरकार बनेको छ।
स्वास्थ्य उपचारका नाममा काठमाडौं जाँदै गर्दा बाटोमै ‘होटलमा शपथ’ खुवाइएको घटनाले मधेस प्रदेशको राजनीति फेरि एकपटक विवादको केन्द्रमा आएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.