काठमाडौँ – निर्वाचन आयोगले राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। माघ ११ गते हुने राष्ट्रिय सभा र फागुन २१ गते हुने प्रतिनिधि सभा तर्फको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरिएको निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए।
स्वीकृत निर्वाचन कार्यक्रमअनुसार राष्ट्रिय सभातर्फ पुस १९ गते बिहान १० बजेदेखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन गरिने छ। मतदाता नामावलीमाथि परेको दाबी–विरोध तथा निवेदन–उजुरीको छानबिन सकाएर पुस २२ गते ३ बजेदेखि ४ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिनेछ।
प्रतिनिधि सभातर्फ माघ ६ गते उम्मेदवारको मनोनयन पत्र दर्ताको समय तोकिएको छ। माघ ७ गते उजुरीमाथि छानबिन गरी माघ ८ गते उम्मेदवारको नामावली प्रकाशन गरिनेछ। माघ ९ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिन सकिने आयोगले जनाएको छ। सोही दिन ३ बजेसम्म अन्तिम नामावली सार्वजनिक हुनेछ। माघ ९ गते नै उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिने प्रवक्ता भट्टराईले जानकारी दिए।
समानुपातिक तर्फ मङ्सिर २१ गतेदेखि २३ गतेसम्म निर्वाचनमा सहभागी हुन चाहने दलहरूले निवेदन पेस गर्नुपर्नेछ। २४ गते दलहरूको नामावली प्रकाशनपछि पुस १३ र १४ गते दलहरूले उम्मेदवारको बन्द सूची पेस गर्नुपर्नेछ। यसरी पेस भएका सूचीका आधारमा आयोगले माघ २० गते अन्तिम सूची सार्वजनिक गर्नेछ। स्वीकृत कार्यक्रमअनुसार फागुन २१ गते बिहान ७ बजेदेखि ५ बजेसम्म मतदान हुनेछ।
केन्द्रीय सुरक्षा समितिको बैठकले ‘एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२’ स्वीकृत गरेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा आइतबार सिंहदरबारमा बसेको बैठकले निर्वाचन प्रयोजनका लागि नेपाली सेना परिचालन गर्न रक्षा मन्त्रालयलाई पत्र लेख्ने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए।
एकीकृत सुरक्षा योजनामा सुरक्षा निकायहरू कसरी परिचालन हुने, सुरक्षा संवेदनशीलताका आधारमा जिल्लाबाट वर्गीकृत भएर आएका मतदान केन्द्रहरूमा सुरक्षाकर्मी परिचालन गर्ने विषय तथा निर्वाचन अवधिमा सुरक्षा व्यवस्थापनका योजना तीन तहमा विभाजन गरिएको काफ्लेले बताए।
निर्वाचन प्रयोजनका लागि मङ्सिर ९ गतेदेखि प्रदेश सुरक्षा गोष्ठी आयोजना गर्ने निर्णय पनि बैठकले गरेको छ। बैठकले हिंसा भड्काउने गतिविधि निस्तेज पार्ने निर्णय गरेको प्रवक्ता काफ्लेले जानकारी दिए।
फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुन नयाँ दल दर्ता गर्नेको भीड लागेको छ। आयोगले तोकेको मितिअनुसार कार्तिक ३० गतेसम्म दल दर्ता प्रमाणपत्र लिनुपर्ने व्यवस्था रहेकाले आइतबारसम्म ३२ नयाँ दलले निवेदन दिएको आयोगले जनाएको छ। जेनजी आन्दोलनपछि दल दर्ता निवेदनको सङ्ख्या ३२ पुगेको हो।
तर, ‘जेनजी’ नामबाट दल दर्ता निवेदन परेको छैन। किरण विकले जेनजी पार्टी दर्ताका लागि दिएको निवेदन फिर्ता लिएका छन्। उक्त समूह ‘उज्यालो नेपाल पार्टी’ मा गएको छ।
निवेदन दिएका अधिकांश दलका केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरू आइतबार आयोगमा उपस्थित भएर सनाखत गरेका छन्। आयोगले सनाखत नगराएका दललाई मङ्सिर ५ गतेसम्मको समय दिएको छ।
आयोगले दल दर्ता बन्द नभएको तर फागुन २१ कै चुनावमा भाग लिन चाहने दलका लागि केही खुकुलो व्यवस्था मिलाएको जनाएको छ। मङ्सिर ५ गतेसम्म निवेदन दिने दलले पनि चुनावमा भाग लिन सक्ने गरी सहजीकरण गरिएको आयोगले स्पष्ट पारेको छ।
मङ्सिर १ गते सोमबारदेखि निर्वाचनमा भाग लिने दलहरूको दर्ता प्रक्रिया अघि बढ्ने प्रवक्ता भट्टराईले जानकारी दिए। आइतबार दर्ता गर्न निर्णय गरेको राष्ट्रिय परिवर्तन पार्टीले भने अझै प्रमाणपत्र प्राप्त गर्न बाँकी छ। यससँगै आयोगमा दर्ता प्रमाणपत्र पाउने दलको सङ्ख्या १२३ पुगेको छ।
यसअघि दर्ता भएका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जन समाजवादी पार्टी नेपाल, नेपाल कम्युनिस्ट (समाजवादी) र नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी खारेज भएका छन्। यी सबैले कात्तिक १९ गते एकता गरेर ‘नेपाली कम्युनिस्ट पार्टी (नेकपा)’ बनाएका थिए। आयोगमा निवेदन दिएको नेकपाले प्रमाणपत्र पाइसकेको छ।
निर्वाचन आयोगमा पहिलो पटक लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको तर्फबाट दल दर्ता निवेदन परेको छ। नुमा लिम्बु चञ्चलाको अध्यक्षतामा २१ सदस्यीय केन्द्रीय कार्य समितिले आइतबार आयोगमा उपस्थित भएर सनाखत गरेको छ।
फागुन २१ गतेको चुनावमा भाग लिन दल दर्ता निवेदन दिएको अध्यक्ष चञ्चलाले बताइन्। समावेशी समाजवादी पार्टीले साइबरनेटिक लोकतान्त्रिक सङ्घीयता सहितको घोषणा पत्र पनि सार्वजनिक गरेको छ।
तेस्रोलिंगीको नेतृत्वमा निर्वाचन आयोगमा दल दर्ताको निवेदन
प्रधानमन्त्री कार्कीको सन्देश : “प्रतीक्षा जस्ता युवाले अब देश हाँक्नुपर्छ”
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.