निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

सरकार चुनावमा तीव्र, ठुला दलको अविश्वास कायम

सरकार चुनावमा तीव्र, ठुला दलको अविश्वास कायम

184
SHARES

काठमाडौँ – सरकारले निर्वाचन केन्द्रित छलफललाई तीव्रता दिएको छ। प्रधानमन्त्री सुशीला कार्कीले बुधवार सबै दललाई छलफलमा बोलाउने तयारी गरेकी छन्। अर्को साता पनि राजनीतिक दलसँगै निर्वाचन आयोग लगायतसँग छलफल गर्ने तयारी भइरहेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।

सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री कार्कीले नागरिक अगुवाहरूसँग छलफल गरिन्। घोषित मितिमा निर्वाचन सम्पन्न गर्नुका साथै मुलुकमा भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न गम्भीर रूपमा लाग्नुपर्ने सुझाव नागरिक अगुवाहरूले दिएको मन्त्री खरेलले बताए।

घोषित मितिमा निर्वाचन सम्पन्न गर्न उपयुक्त वातावरण बनाउन नागरिक अगुवाहरूले दिएको सुझावलाई प्रधानमन्त्री कार्कीले सकारात्मक रूपमा लिएको नागरिक समाजका प्रतिनिधि खगेन्द्र संग्रौलाले बताए। उनले चुनावमा भाग लिने दलहरूसँग नै प्रधानमन्त्रीले छलफल गर्नुपर्ने सुझाव दिएको बताए।

सुरक्षाविद् गेजा शर्मा वाग्लेले पनि दलहरू र जेनजी पुस्तामात्र होइन, आम नागरिकसमेत विश्वस्त हुन नसकिरहेको जानकारी गराएपछि प्रधानमन्त्रीले विश्वासको वातावरण बनाउने जवाफ दिएको सुनाए।

तर सरकारका प्रवक्ता खरेलले आम नागरिकले सोचे जस्तो नभई आधुनिक सुरक्षा व्यवस्थापनको तयारी भइसकेको दाबी गरे।

संसद् पुनर्स्थापनाको बाँसुरी

नेपाली कांग्रेस र नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापना नै मुख्य एजेन्डा बनाएका छन्। दुवै दलले विघटित प्रतिनिधिसभाका सदस्यहरूको हस्ताक्षरसमेत सङ्कलन गरेका छन्।

एमालेले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनी सके पनि कांग्रेस केन्द्रीय समितिको बैठकले निर्णय लिन बाँकी छ। दुवै दलमा अर्कोतर्फ महाधिवेशनको दबाब पनि कायम छ।

कांग्रेसमा प्रतिनिधिसभा पुनर्स्थापना कि चुनाव भन्ने विषयमा विवाद चलिरहेको छ। कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसद् ब्युँताएर बन्ने सरकारले मात्र चुनाव गराउने र जेनजीको माग सम्बोधन हुने धारणा कायम रहेको बताए।

घिमिरेका अनुसार तीन साता लामो उपचारपछि स्वदेश फर्किएका सभापति शेरबहादुर देउवाले यसबारेको निर्णय लिनुपर्ने जिम्मा केन्द्रीय समितिलाई नै सुम्पेका छन्। देउवाले कार्यवाहक सभापति सुम्पिएर सक्रिय राजनीतिबाट बिदा लिइसकेको उनको आशय थियो।

घिमिरे र एमालेका मुख्य सचेतक महेश बर्तौलाले आइतबार सिंहदरबार पुगेर सभामुख देवराज घिमिरेसँग भेट गरेका थिए। प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्छ भन्नेमा स्पष्ट रहेको एमालेले मङ्गलवार नै विघटित प्रतिनिधिसभाको संसदीय दलको बैठक बोलाएको छ।

एमाले संसद् पुनर्स्थापनाको बाँसुरी बजाउन छोडेको छैन। जेनजी आन्दोलनको बलमा बनेको सरकार अवैध रूपमा गठन भएको दाबी गर्दै आएको छ।

संसद् पुनर्स्थापना गरी जेनजी समूहको समेत सहभागितामा सरकार गठन गरेर फागुन २१ गते नै चुनावमा जान सकिने नेकपा एमालेका युवा नेता महेश बर्तौलाको तर्क छ।

समाचार शेयर गर्नुहोस्
184
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.