बारा – नेकपा एमाले निहुँ खोज्ने तरिकाले प्रस्तुत भएको भन्दै जेनजी युवा आक्रोशित भएका छन्। एमाले नेताहरूलाई रोक्न बाराको सिमरा विमानस्थलमै आक्रमणको प्रयास गरेका छन्। जसलाई सुरक्षा निकायले रोकेको छ।
सिमरा विमानस्थलमा उत्रेका एमाले महासचिव शङ्कर पोखरेल, नेता महेश बस्नेतलाई रोक्न जेनजी युवा विमानस्थलमै पुगेर प्रदर्शन गरेपछि स्थिति तनावग्रस्त बन्यो। शान्ति सुव्यवस्था कायम गर्न कर्फ्यु आदेश नै जारी गरिएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ।
आफूलाई जेनजी समूह बताउने युवाहरूको समूहले सिमरा विमानस्थलमा आक्रमणको प्रयास गरेपछि स्थिति शान्तिपूर्ण बनाउन दिउँसो साढे १२ बजेदेखि कर्फ्यु आदेश जारी गरिएको हो।
सिमरा विमानस्थल आसपास क्षेत्रमा जेनजी युवाहरूको प्रदर्शन तथा राजनीतिक दल आबद्ध समूहहरूको झडप भइरहेकोले सरकारी सम्पत्ति, पदाधिकारी, कर्मचारी, सरकारी कार्यालय लगायत निजी सम्पत्ति क्षति हुन नदिन साथै परिस्थिति थप बिग्रन नदिन दिउँसो १२ः३० बजे देखि बेलुका ८ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ।
एमाले मुठभेडतर्फ, मधेशमा काउन्टर धर्ना
बारा जिल्लाको जीतपुरसिमरा उ.म.न.पा. भित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरिएको प्रशासनले निकालेको सूचना उल्लेख छ।
कर्फ्यु आदेश गण्डक नहर देखि पथलैया सडक खण्ड राजमार्गको दायाँ-बायाँ ५०० मिटरसम्म, सिमरा विमानस्थलको वरिपरि ५०० मिटर सम्म कायम गरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जारी गरेको कर्फ्यु आदेशमा उल्लेख छ।
कर्फ्युको आदेश अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरू, एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारी साधनहरू, सञ्चारकर्मीहरू, पर्यटक सवारी साधनहरू, मानव अधिकार तथा कूटनीतिक नियोगका सवारी साधनहरू र हवाई टिकटको आधारमा हवाई यात्रुहरूको आवागमनमा सुरक्षाकर्मीहरूबाट सहजीकरण हुने प्रशासनले जनाएको छ। सिमरा विमानस्थल बन्द गरिएको छ।
जेनजीको नामका युवाहरूले एमाले नेताहरूलाई आक्रमणको प्रयास गरेको सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले जानकारी दिए। ‘काठमाडौँबाट एमाले नेताहरूलाई विमानस्थलमा रोक्न जेनजी नामका युवाहरूले आक्रमणको प्रयास गरेपछि स्थिति तनावपूर्ण भयो,’भट्टराईले पहिचानसँग भने,’स्थिति नियन्त्रणमा लिन केही सेल अश्रुग्याँस प्रहार गरिएको छ।’
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.