बारा – नेकपा एमालेका कार्यकर्ता र जेनजी युवाबीच भएको झडपपछि दिनभर अस्थिर बनेको बारा साँझ मात्रै सामान्यतर्फ फर्किएको छ।
नेकपा एमालेका महासचिव शङ्कर पोखरेल र नेता महेश बस्नेत बारा जान लागेकै सूचना पाएपछि जेनजी युवाहरू बिहानै अवरोध गर्न सिमरा विमानस्थल पुगेका थिए। त्यही बेला उनीहरूलाई स्वागत गर्न पुगेका युवा सङ्घका कार्यकर्तासँग विवाद हुँदै तनाव चर्किँदा झडपसम्म भएको हो। झडपमा परी केही सुरक्षाकर्मी समेत घाइते भएको स्थानीय प्रशासनले जनाएको छ।
स्थिति नियन्त्रणमा लिन प्रशासनले बेलुकी ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो। कर्फ्यु लागेका बेला समेत युवाहरूले दिउँसो सिमरामा प्रदर्शन गरेका थिए। तर, प्रदर्शन शान्तिपूर्ण रहेकाले सुरक्षाकर्मीले हस्तक्षेप गर्नु नपरेको सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले बताए।
झडप बढ्दै गएपछि सुरक्षाकर्मीहरूले माइकिङ गर्दै युवाहरूलाई घर फर्कन आग्रह गर्नुपरेको थियो। तर आक्रोशित भिडले विमानस्थलमा ढुंगामुढा प्रहार गर्नुका साथै विमानस्थल प्रवेशद्वारको गेट तोडेपछि स्थिति थप असामान्य बनेको सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईको भनाइ छ।
विरोधका कारण काठमाडौँमै रोकिएका एमाले नेता महेश बस्नेतले आकस्मिक पत्रकार सम्मेलन गर्दै सरकारले जेनजी आन्दोलनलाई कमजोर पार्न खोजेको आरोप लगाए। शिक्षामन्त्री महावीर पुनले “आफै चुनाव जितेर सरकार बनाऊ” भनेर जेनजीलाई दिएको जवाफ, कुलमान घिसिङको चलखेल र गृहमन्त्रीको गतिविधि जेनजी आन्दोलनको एजेन्डा विपरीत रहेको दाबी उनले दोहोर्याए।
यही मङ्सिर ६ गते काठमाडौँमा हुने एमालेको जनसभापछि प्रधानमन्त्री सुशीला कार्कीले राजीनामा दिनुपर्ने अवस्था आउने चेतावनी समेत बस्नेतले दिए।
बारामा विरोध बढेपछि युवा जनजागरण अभियानअन्तर्गत परवानीपुरमा तय भएको कार्यक्रम भने स्थगित गरिएको एमालेले जनाएको छ।
अध्यक्ष ओलीले बाराको कार्यक्रम लक्ष्य बनाएर सरकारले आफ्नो पार्टीका सभा–सम्मेलन रोक्ने प्रयास गरेको आरोप पनि लगाए। च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित उपत्यकास्तरीय जनप्रतिनिधि भेलामा उनले “सभा गर्न नदिने सरकारले चुनाव कसरी गर्छ?” भनेर सरकारलाई प्रतिप्रश्न गरे। जेनजीको नाममा बारामा एमालेविरुद्ध ढुंगामुढा गराइएको भन्दै उनले सैह्य नहुने चेतावनीसमेत दिए।
एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक यात्रा ओरालोतर्फ लागेको टिप्पणीसमेत भइरहेका बेला ओलीले पक्राउ परेका दुर्गा प्रसाईँलाई तत्काल रिहा गर्न माग गरेका छन्। जेनजी आन्दोलन अघि प्रसाईँलाई ‘अराजकतावादी’ भन्दै आक्रमण गर्दै आएका ओली अहिले उनकै पक्षमा उभिन बाध्य देखिएका छन्। मानव अधिकार आयोगले समेत प्रसाईँको अधिकार हनन गर्न नपाइने स्पष्ट भनिसकेकाले सरकारले पक्राउ गरेर राख्न नपाउने जिकिर ओलीले गरेका छन्।
यद्यपि अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा भने प्रसाईँलाई नै पक्राउ गराएको प्रसङ्ग स्मरण हुन्छ। ओलीको कम्पोडियामा लगानी छ भनेर प्रसाईँले कागज देखाएपछि पक्राउ परेका थिए।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.