निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

१२६ दल दर्ता कायम, १० दल सम्पर्कबाहिर

१२६ दल दर्ता कायम, १० दल सम्पर्कबाहिर

अब संसद् पुनःस्थापनाको अडान लिने हो भने त्यस कार्यले केवल विगतको राजनीतिक दुर्घटनालाई दोहोर्‍याउन खोजेको पुष्टि हुन्छ।

227
SHARES

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले चुनावमा भाग लिने प्रयोजनका लागि मङ्सिर १० गतेभित्र दल दर्ता अनिवार्य रूपमा सम्पन्न गर्न सबै दललाई अपिल गरेकी छन्। दल दर्ताबाट पछि हट्ने दलहरू लोकतन्त्र होइन, अराजकता रोज्ने ठहरिने चेतावनी पनि उनले दिइन्।

संसद् पुनःस्थापना र सरकारको वैधानिकतामाथि प्रश्न उठाएका दलहरूलाई प्रधानमन्त्री कार्कीले यस्ता गतिविधिले देशलाई फेरि अस्थिरताको चक्रमा पुर्‍याउन सक्ने बताइन्।

संसद् पुनःस्थापनाको मुद्दा लिएर सर्वोच्च अदालतमा जान तयार भएको नेकपा एमालेको निर्णयप्रति सङ्केत गर्दै प्रधानमन्त्री कार्कीले भनिन्, ‘निर्वाचनको घोषणापछि पनि कुनै कुनै दलमा राजनीतिको छेउकुनामा देखिएको अन्योल, संसद् पुनःस्थापनाको माग र सरकारको वैधानिकतामाथि प्रश्न उठाउने कार्यले राष्ट्रलाई फेरि अस्थिरताको चक्रमा धकेल्न सक्छ। अब संसद् पुनःस्थापनाको अडान लिने हो भने त्यस कार्यले केवल विगतको राजनीतिक दुर्घटनालाई दोहोर्‍याउन खोजेको पुष्टि हुन्छ।’

प्रधानमन्त्री कार्कीले दलका नेताहरूलाई सिंहदरबारमा बोलाएर राजनीतिक बहसलाई अब संवैधानिक निकासको बाटो अर्थात् निर्वाचनमा केन्द्रित गर्नुपर्ने धारणा राखिन्।

राजनीतिक दलहरूले पनि चुनावमा भाग लिन विश्वासको वातावरण बनाउन प्रधानमन्त्रीलाई भनेको नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले जानकारी दिए।

सरकार दलहरूसँग छलफल गरिरहँदा बारा जिल्लामा शान्ति सुरक्षा कायम गर्न कर्फ्यु जारी गरिएको थियो। संसद् पुनःस्थापनाका लागि सर्वोच्च अदालतमा मुद्दा लैजाने निर्णय गरेको नेकपा एमालेका महासचिव शङ्कर पोखरेल र नेता महेश बस्नेतको बारा जाने कार्यक्रम रद्द भयो।

राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी आन्दोलनको बलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको दुई महिना पूरा भएको छ। प्रधानमन्त्री कार्कीको सिफारिसमा संसद् विघटन गरी आउँदो फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति घोषणा गरिएको छ।

निर्वाचन आयोगले नयाँ दल दर्तादेखि प्रमाणपत्र प्राप्त गरेका दलहरूलाई निर्वाचन प्रयोजनका लागि दर्ता गर्न मङ्सिर १० गतेसम्मको समय दिएको छ। दल दर्ता सुरु भएको तेस्रो दिन प्रतिनिधिसभातर्फ २२ दल दर्ता भइसकेका छन्। बुधवार संयुक्त नागरिक पार्टी, नेपाल जनमुक्ति पार्टी, नेपाल कम्युनिस्ट पार्टी (संयुक्त), राष्ट्रिय यथार्थवादी पार्टी नेपाल र नेपाल परिवार दलले निर्वाचन प्रयोजनार्थ दल दर्ता गरेको आयोगले जनाएको छ।

प्रतिनिधिसभा चुनावअघि माघ ११ गते राष्ट्रिय सभा चुनाव सम्पन्न गर्ने जिम्मेवारी पनि कार्की नेतृत्वको सरकारकै काँधमा छ। गठन भएको दुई महिनामै प्रश्नै–प्रश्नले घेरिएको सरकारलाई दुई वटा चुनाव सम्पन्न गराउने चुनौती कम भने छैनन्।

राष्ट्रिय सभा चुनावमा भाग लिन ६ वटा दलले निवेदन दिएका छन्। नेपाल मजदुर किसान पार्टी, बहुजन शक्ति पार्टी, नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टीले राष्ट्रिय सभामा रिक्त १९ सदस्यका लागि हुन लागेको चुनावमा भाग लिन दल दर्ता गराएका छन्।

प्रतिनिधिसभा चुनाव नै नहुने रटान लगाउँदै आएको नेकपा एमालेले बुधवार राष्ट्रिय सभा चुनावमा भाग लिन दल दर्ता गरेको छ। राष्ट्रिय जनमोर्चासहित बुधवारसम्म ६ दलले दल दर्ता गराएको आयोगले जानकारी दिएको छ।

निर्वाचन आयोगमा दर्ता भएका दलको सङ्ख्या १२६ पुगेको छ। जेनजी आन्दोलनपछि नयाँ ७ दलले दर्ता प्रमाणपत्र बुझेका छन्। श्रम संस्कृति पार्टी, गतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, राष्ट्रिय परिवर्तन पार्टी, राष्ट्रिय जनमत पार्टी, कम्युनिस्ट पार्टी नेपाल र राष्ट्र निर्माण दल नेपालले दर्ता प्रमाणपत्र प्राप्त गरेका हुन्।

जेनजी आन्दोलन अघि साउन २७ गते दर्ता निवेदन दिएको उज्यालो नेपाल पार्टीले अझै प्रमाणपत्र प्राप्त गरेको छैन। कार्तिक ३० गतेसम्म आयोगमा निवेदन दिएका २९ दल दर्ता प्रक्रियामै रहेका आयोगले जनाएको छ।

आयोगमा पहिलो पटक लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूले पनि दल दर्ताको निवेदन दिएका छन्। नुमा लिम्बु अध्यक्ष रहेको समावेशी समाजवादी पार्टीले कार्तिक २७ गते निवेदन दिएको छ।

निर्वाचन आयोगले चुनावी तयारी तीव्र पारिरहँदा सरकारले पनि आयोगमा दर्ता भएर प्रमाणपत्र लिएका १२५ दललाई छलफलमा बोलाएको छ। ११५ दललाई निम्तो पठाइएको छ। तर आयोगबाट प्रमाणपत्र लिएका १० दल सरकारको सम्पर्कमै आएनन्।

सरकारले सम्पर्कको प्रयास गरे पनि १० दलसँग समन्वय हुन नसकेको सरकारका प्रवक्ता जगदीश खरेलले बताए। ‘तर पनि सरकारले १०० भन्दा बढी दलसँग छलफल गर्‍यो,’ उनले भने, ‘सबै राजनीतिक दलहरूसँग निर्वाचन तयारीका सन्दर्भमा संवाद गरिएको छ।’

फागुन २१ को चुनावमा भाग लिन दल दर्ता गर्न ७ दिन मात्र बाँकी रहँदा नेपाली कांग्रेस र नेकपा एमाले अझै दोधारमा छन्। कांग्रेसले सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको छ भने नेकपा एमालेले सरकार गठन नै असंवैधानिक भएको दाबी गरिरहेको छ।

सरकारका प्रवक्ता खरेलका अनुसार प्रधानमन्त्री कार्कीले बोलाएको सर्वदलीय बैठकमा पनि सुरक्षा चासो उठाइएको छ, ‘जुन सरकारले सम्बोधन गर्छ।’

प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार सर्वदलीय बैठकमा उनले निर्वाचनमा दलहरूलाई प्रचार–प्रसारको अवधि २१ दिनभन्दा बढी नदिने व्यवस्था मिलाइने जानकारी दिइन्। भदौ २३ र २४ गते युवाहरूको विद्रोहले दलाल, बिचौलिया, भ्रष्ट, माफियालाई संरक्षण दिने प्रवृत्तिको अन्त्य गर्न आह्वान गरेको जनाउँदै उनले यो आवाजलाई पूर्ण रूपमा सम्मान गर्ने बताइन्।

मलाई झापामा चुनाव लड्न आऊ भनेको पनि सुनेको छु। म चुनाव लड्दिनँ। चुनाव लड्न आएको पनि होइन।

उनले जुनसुकै राजनीतिक विवाद वा अराजकतालाई नियन्त्रण गरी प्रत्येक नागरिकले निर्भयताका साथ मतदान गर्न सक्ने वातावरण निर्माण गरिने पनि स्पष्ट पारिन्। राजनीतिक हिंसा र टकराब नियन्त्रण गर्न सबै पक्षसँग ट्र्याक–टु वार्ता र संवादको पहल चलिरहेको जानकारी पनि उनले दिइन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता गणेश पराजुलीले प्रधानमन्त्रीकै शब्द सापटी लिएर चुनाव भाँड्ने अभिव्यक्ति दिएर ठुला दलले जनतामाथि छारो हाल्ने काम गरेको आरोप लगाए। उनका अनुसार चुनावको विपक्षमा उभिने शक्ति लोकतन्त्र विरोधी हुन्।

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अन्ततः दलकै हातमा सरकार आउने विश्वास व्यक्त गरे। उनले नेकपा एमालेले कुनै पनि गैरजिम्मेवार अभिव्यक्ति नदिने बताए।

सर्वदलीय बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले दिएको समापन मन्तव्य

हामीले दललाई बोलाएका थियौँ। यहाँहरू आइदिनुभयो। पुनः धन्यवाद दिन चाहन्छु। यहाँहरूले नै पनि एकापसमा चिन्ने चिनिने मौका पाउनुभयो भन्ने पनि लागेको छ।

१२५ दलमध्ये ११० भन्दा बढी दलको उपस्थिति यहाँ छ। अहिलेसम्म ५६ जनाले बोल्नुभयो। सबैको कुरा मैले भ्याएसम्म टिपेकी छु।

यस्तो भेला पहिला नै पनि गरौँ भन्ने लागेको थियो। तर अन्य कार्यव्यस्तता र वातावरण मिलाउँदा आजको दिन जुर्‍यो।

सुरुमा त दलहरूलाई भेट्ने अवस्था नै थिएन। जेनजीहरु एकदमै उग्र र आक्रोशित थिए। आक्रोश हुनु स्वाभाविक पनि थियो। आन्दोलनकारी, घाइते र सहिद परिवारका कुरा सुन्यौँ। उहाँहरूको आक्रोश सुन्ने र मत्थर पार्ने नै हाम्रो पहिलो प्राथमिकता रह्यो। त्यो आक्रोश सुन्नका निम्ति हामीले पर्याप्त समय नदिएको भए फेरि सडकमा पोखिन सक्थ्यो। सडकमा जानबाट रोक्यौँ।

हामी राजनीतिक अनुभव भएका कोही थिएनौँ। कोही न्यायाधीश कोही वकिल । आआफ्नो पेसागत क्षेत्रको मात्र अनुभव हामीसँग थियो। हठात् रूपमा यहाँ आयौँ ।

हाम्रा बालबालिका यसरी मारिए, जुन अहिले सम्झिँदा पनि मन थाम्न गाह्रो हुन्छ। भर्खरको पढिरहेको बच्चाको टाउकोमा, छातीमा गोली लागेको छ। परिवारको सहारा गुमेको छ। घरको दियो निभेको छ। भर्खर २० वर्षकी दुलहीले श्रीमान् गुमाएकी छन्। दुई वर्षकी छोरीले बाबु खोजिरहेको छन्। यस्तो अवस्था आउला भन्ने कसले कहिले सोचेको थियो र? कहिल्यै नहुने काम भयो। अब कहिल्यै नहोस् पनि। यस्तो हृदयविदारक घटना पुनः नघटोस्।

यति ठूलो घटना किन भयो त? यहाँ उकुसमुकुस थियो। भ्रष्टाचार थियो। निराशा थियो। आक्रोश थियो। त्यो विस्फोट भयो। छताछुल्ल भयो।

अब यसलाई सम्हाल्नुपर्छ। सम्हालिनुपर्छ।

हामी पनि सम्हाल्न भनेरै आएका हौँ। राष्ट्र सम्झेर आएका हौँ। देशको अवस्था देखेर आएका हौँ। ती निर्दोष बच्चाको माया लागेर आएका हौँ।

हामीलाई अहिले धन्यवाद दिनुपर्दैन। जुन दिन निर्वाचन होला, त्यसैको भोलिपल्ट धन्यवाद दिनुहोला।

हामी लागेर देश जोगाउन सक्छौँ कि भनेर यो अप्ठ्यारो परिस्थितिमा आएका हौँ। हामी गाडी चढ्ने रहरले वा कुनै सुविधा पाउने लोभले आएका होइनौँ। खासमा भन्दा म प्रधानमन्त्री हुँ भन्ने अनुभूति पनि छैन। गौरव पनि छैन। देशको यो दुर्गति भएका बेला मुलुक, धर्म र इमान सम्झेर केही बचाउन सकिन्छ कि भनेर आएका हौँ। यो समाज बिथोलिएको अवस्थामा केही जोड्न सकिन्छ कि भनेर आएका हौँ।

हामीले सरकारमा कस्ता व्यक्ति ल्यायौँ त्यो पनि हेर्नुहोस्। जो जिन्दगीभर अपहेलित भए हिजो। कुलमान घिसिङ काम गर्दागर्दै अपहेलित हुनुभयो। महावीर पुन पुस्तक बेच्दाबेच्दै आउनुभयो। मैले ८ र अरू मन्त्रीजीहरूले पनि तीन-चार मन्त्रालय बोकेर हिँडेका छौँ। राति १ बजेसम्म पनि काम गरेर पनि बसेका छौँ।

हामी निर्वाचन गराउनै आएका हौँ। हामी चाहन्छौँ नयाँ पुस्ताको हातमा जाओस् यो देश। केही भिजन भएको मान्छेले सम्हालिदेओस् यो देश।

हिजोका सबै भ्रष्टाचारी फटाहा भन्न खोजेको होइन। तर अब निष्पक्ष निर्वाचनमार्फत बिना पैसा, न्यूनतम खर्चमा, उम्मेदवार चयन हुन सकोस्। कम खर्चमा चुनाव लड्न सक्ने वातावरण बनोस् भनेर हामी लागेका छौँ।

मलाई झापामा चुनाव लड्न आऊ भनेको पनि सुनेको छु। म चुनाव लड्दिनँ। चुनाव लड्न आएको पनि होइन।

हामी गाडी चढ्न र रमाइलो गर्न पनि आएका होइनौँ। महात्मा गान्धीले सादा वेशमै सडकमा निस्केर बाटो देखाउनुभयो। नेल्सन मन्डेलाले पनि देश सम्झेर गरेको त्याग विश्वले देखेको छ। हामी त्यो तहमा नहौँला तर हामीमा देशप्रति एउटा भावनामा छ, माया छ, चिन्ता पनि छ। त्यसैले हामीलाई केही नगरी बस्न दिएको छैन।

निर्वाचनको ६० प्रतिशत तयारी पूरा भइसक्यो भनेर निर्वाचन आयोगले नै भनिसकेको छ। हामी यहाँ आएको ३ दिनपछि नै निर्वाचनको काम सुरु गरिसकेका हौँ। आयोगसँग सम्पूर्ण साधन छन्। हामीले कुनै कमी हुन दिएका छैनौँ। चुनाव हुन्छ भन्नेमा हामी ढुक्क छौँ।

लुटिएका ८२१ हतियार फिर्ता भइसके। ७ हजार कैदीबन्दी नियन्त्रणमा आइसके।

प्रहरीमा नयाँ नेतृत्व आइसकेको छ र एक्सनमा जाने अवस्था छ। प्रहरीको मनोबल हामीले २ महिनामा खस्काएका होइनौँ। हिजो गैरघातक सामग्री र अरू बन्दोबस्तीका सामान हामीले नदिएका हैनौँ। गृह र अर्थ मन्त्रालयमा फाइल हामीले अड्काएका होइनौँ। बरु हामीले फटाफट काम अघि बढाएका छौँ।

नेता र तिनका आफन्त नातेदारहरूका घरमा घरमा भाँडा माझ्न पनि प्रहरी राखिएका थिए हिजो। तिनलाई फिर्ता गरेका छौँ। अब भन्नुहोस् मनोबल कसले घटायो र बढायो?

३५ वर्षमा घटाइएको मनोबल एकपछि अर्को गरी उठाउँदै छौँ हामी। सम्पूर्ण साधन पनि जुटाउँदै छौँ। प्रत्येक प्रहरी कर्मचारीको शिर उठाउने र तिनले गर्व गर्न सक्ने सङ्गठन होस् भनेर हामी निर्णयहरू गर्दै छौँ।

हामीलाई प्रशंसा चाहिएको छैन। अहिले धन्यवाद पनि चाहिएको छैन। हाम्रा राम्रा कुरा लेखिदिएनन् भनेर पत्रिकाहरूसँग गुनासो पनि छैन। भर्खरै कान्तिपुरले वायु सेवा निगममा बिनाप्रतिस्पर्धा अध्यक्ष नियुक्त गर्‍यो भनेर झुट लेख्यो। हामीले त्यहाँ नियुक्ति नै गरेका छैनौँ। भइरहेकै सञ्चालक समितिबाट चलाउन खोज्यौँ। आलोचना नगरी पत्रिका बिक्दैन। त्यसमा मेरो भन्नु केही छैन।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग हामी सम्पर्कमै छौँ। प्रत्येक दिन कति प्रगति भयो भनेर सोधिरहेको छु। सीआईबी र अन्य निकायले पनि अनुसन्धान तीव्र रूपमा अघि बढाएका छन्। तर यी गम्भीर अपराधको अनुसन्धानमा समय लाग्छ। नतिजामा पुग्नुअघि थुप्रै प्रक्रियागत चरण गुजार्नुपर्ने हुन्छ।

निर्वाचन आयोगमा पनि तीनजना आयुक्त हुनुहुन्छ। उहाँहरू पनि रातदिन खटिरहनुभएको छ।

मैले सरकारी काम कारबाही प्रायः सिंहदरबारमै गर्छु। निर्णयहरू सिंहदरबारमै हुन्छ। विदेशीसँग भेटघाट पनि सिंहदरबारमै परराष्ट्र मन्त्रालयका प्रतिनिधिसमेतको उपस्थितिमा मात्र गरेकी छु। बालुवाटार वा अन्यत्र गोप्य रूपमा विदेशीसँग भेटघाट भएको छैन। त्यो मेरो नेचर पनि होइन।

काम गर्दा नियम कानुन मिचिन्छ कि भनी पाइला-पाइलामा हामी सतर्क हुन्छौँ।

नभएका आरोप लगाएर दोष दिँदा आनन्द त आउला तर यो समयमा त्यस्ता कार्यको असर के हुन्छ भनेर हेर्नुपर्ला।

हामीलाई अहिले धन्यवाद दिनुपर्दैन। जुन दिन निर्वाचन होला, त्यसैको भोलिपल्ट धन्यवाद दिनुहोला।

योभन्दा बढी के बोल्नु?

सेवारो।

समाचार शेयर गर्नुहोस्
227
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.