निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

ओली मुड : जेनजीसँग भिड्ने, सुरक्षामा स्वयंसेवक

ओली मुड : जेनजीसँग भिड्ने, सुरक्षामा स्वयंसेवक

सच्चिनेभन्दा ‘मच्चिने’ प्रवृत्ति हाबी

264
SHARES

काठमाडाैं – जेनजी आन्दोलनले हुँदाखादाको प्रधानमन्त्रीबाट राजीनामा दिएर ज्यान जोगाउन सेनाको ब्यारेकमा लुक्न पुगेका केपी शर्मा ओलीले आफूलाई ‘निष्कलंकित व्यक्ति’ को रूपमा प्रस्तुत गर्दै आएका छन्। “हामीले के भ्रष्टाचार गरेका छौँ र? अहिलेको सरकारका मन्त्रीको देखिएको छैन र?” भन्ने शैलीमा ओली उल्टै प्रश्नकर्ता बनेका छन्।

ठुलो स्वरमा चिच्याएर गल्ती ढाकछोप गर्ने नेताको सूचीमा ओली वर्षौँदेखि ‘पहिलो नम्बर’ का नेता मानिँदै आएका छन्। भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन छानबिन आयोगले ओलीलाई काठमाडौँ उपत्यका बाहिर जान अनुमति लिन भनेको छ। परिवर्तन स्वीकार गर्नुपर्ने परिस्थितिसँग मेल खाने प्रयासभन्दा पनि ‘दाँतबाट पसिना निस्के झैँ’ कठिन अवस्थामा ओली देखिन थालेका छन्।

भदौ २३ र २४ को आन्दोलन जनमतले चाहेमा तत्कालै सत्ता उलटपुलट गर्न सकिने ऐतिहासिक उदाहरण बनेको छ। जेनजी युवाको विस्फोट थियो त्यो आन्दोलन राजनीतिक विश्लेषण सही नगरी, दम्भ देखाउँदै हिँडेका ओलीका कारण देश दुई दिनमै असुरक्षाको आगोले जल्यो।

कार्यपालिका, विधायिका र न्यायपालिका तहसनहस भए। प्रहरी प्रशासन निरीह बन्यो। ओलीको घमन्डीपनले उनलाई नेपालको राजनीतिक इतिहासमा ‘कलङ्कित प्रधानमन्त्री’ को पहिचान दिलाइदियो। जति नै धोइपखाली गरे पनि उनले लगाएको दाग मेटाउन एमाले नेतृत्व नै सकसको बोझ बोक्दैछ।

त्यही सकसकाबीच बसेको एमाले केन्द्रीय कमिटीको ६० औँ पूर्ण बैठक करिब ६ घण्टा चल्यो। बैठकले सरकार ‘राजनीतिक गतिविधि निषेध’ गर्ने बाटोमा लागिरहेको ठहर गर्‍यो। “नेताहरूलाई स्थानहद तोकियो, गतिविधि गर्न अनुमति दिइएन,” उपमहासचिव प्रदीप ज्ञवालीले बैठकको निष्कर्ष सुनाए।

सरकार निर्वाचनको बाटो बनाउनेतर्फ होइन, निषेधका सोचहरूलाई अघि बढाउँदै छ, उनले थपे। बैठकले संसद् पुनर्स्थापनाको सान्दर्भिकता बढेको निष्कर्ष निकालेको ज्ञवालीले बताए।

परिवर्तन स्विकारेर सच्चिन लागौँ भन्नेहरूसँग ओली नजिकिनै चाहँदैनन्। उनको निष्कर्ष नै ‘पार्टीको आधिकारिक धारणा’ बन्ने गरिरहेकै अवस्था छ। उनी जुन निर्णय चाहन्छन् पार्टीले त्यही स्विकार्नुपर्ने संरचना बनाइएको छ। लोकतान्त्रिक अभ्यासप्रति पनि उनको चासो देखिँदैन।

जेनजी आन्दोलनको अवमूल्यन गर्ने, निहुँ खोज्ने अभिव्यक्ति दिँदा बाराको सिमरा दुई दिनदेखि अस्थिर बनेको छ। ओलीलाई गुण्डुमा डेरा खोजेर बसेका महेश बस्नेतको भड्काउने भाषण र उनी समर्थकको आक्रमणपछि कर्फ्यु लगाइयो। एमालेबाट निर्वाचित दुई वडाध्यक्ष गिरफ्तार गरिएका छन्।

विमानस्थलमै नेता र युवा सङ्गठन परिचालन गरी जेनजी युवामाथि मुक्का हाने पछि अवस्था झन् तनावपूर्ण बन्यो। त्यसकै कारण दोस्रो दिन पनि सिमरा अस्थिर रह्यो। एमालेका शीर्ष नेताहरू काठमाडौँमै रोकिए पनि सिमरामा एमाले–जेनजी झडप रोकिएन।

स्थिति नियन्त्रणमा नआएपछि स्थानीय प्रशासनले बिहीबार राति ८ बजेसम्म कर्फ्यु जारी गरेको थियो। कर्फ्युकै बीच जेनजीले प्रदर्शन जारी राखेपछि प्रहरीले लाठीचार्ज, ३ राउन्ड हवाई फायर र ६ राउन्ड अश्रुग्याँस प्रहार गर्नुपर्‍यो। बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईका अनुसार अहिले स्थिति क्रमशः सामान्य बन्दैछ।

एमाले आक्रमणमै उत्रिएपछि प्रतिरक्षाका लागि प्रदर्शन जारी राखेको जेनजी युवा सौरभ पाण्डे बताउँछन्। नेता बस्नेतको अराजक अभिव्यक्ति सुनेर पनि आफूहरू शान्त रहन खोजेको तर निरन्तर आक्रमण भएपछि प्रतिकारमा उत्रिन बाध्य भएको उनी बताउँछन्।

जेनजीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले एमालेबाट निर्वाचित दुई वडाध्यक्ष ४१ वर्षीय धनबहादुर श्रेष्ठ र ३८ वर्षीय क्यामुदिन अन्सारीलाई पक्राउ गरिसकेको छ। जेनजी युवालाई मुक्का हानेका अरविन्द साह पनि पक्राउ परेका छन्। साहलाई पक्राउ नगरिएको भन्दै जेनजीले प्रमुख जिल्ला अधिकारीले बोलाएको वार्ता बहिष्कार गरेका थिए।

जेनजी युवाले ९ जना विरुद्ध उजुरी दर्ता गराएका छन्। मुक्का हानेका साह पक्राउ परेसँगै परिस्थिति सामान्य हुने विश्वास सहायक सिडिओ भट्टराईले व्यक्त गरे।

बाराको अवस्था स्थिर नबन्दै एमाले निकट अनेरास्वियुले काठमाडौँ नयाँबानेश्वरमा मसाल जुलुस निकालेको छ। महेश बस्नेतको नेतृत्वमा एमालेले ‘युवा फोर्स’ गठन गरी जेनजीलाई “तह लगाउने” चेतावनी दिँदै आएको छ।

एमालेले ६ गते काठमाडौँमा विशाल सभाको प्रचार गरिरहेको छ। एमाले विरोधीहरूसँग भिड्ने तयारीमा देखिएको छ। सच्चिनेभन्दा ‘मच्चिने’ प्रवृत्ति हाबी देखिन्छ।नेताहरूको सुरक्षाका नाममा स्वयंसेवक दस्ता परिचालन गर्ने निर्णय बैठकले गरेको छ।

ओलीले पार्टीको पहिलो सर्वसम्मत अध्यक्ष बन्ने रणनीति अघि बढाएका छन्। प्रतिस्पर्धीलाई ‘माधव नेपाल र भीम रावल’ को अवस्थासम्म पुर्‍याइने डर देखाइरहेका छन्। बाहिर बोलेको जस्तो ‘एकता महाधिवेशन’ होइन, त्यो एकता ओलीकै नेतृत्वमा हुनुपर्ने सङ्केत उनी निरन्तर दिइरहेका छन्।

समाचार शेयर गर्नुहोस्
264
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.