निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

बर्दियाका दलित समलिङ्गी जोडीको पीडा : ज्याला माग्दा घरमै गएर कुटपिट, न्याय खोज्दा अपमान

बर्दियाका दलित समलिङ्गी जोडीको पीडा : ज्याला माग्दा घरमै गएर कुटपिट, न्याय खोज्दा अपमान

329
SHARES

बर्दिया – धान रोपाइँ गरेको ज्याला धान भित्र्याइसक्दा पनि नदिएपछि रेखा विश्वकर्मा गङ्गा महतको घरमै पुगिन्। दिदी धान रोपेको ७ सय रुपैयाँ ज्याला दिनु न भनेपछि गङ्गाले पैसा छैन भन्दै जवाफ फर्काइन्। त्यसपछि उनले नजिकै देखाएर, “यो कुर्सीको ७ सय रुपैयाँ पर्छ, लिएर जाऊ,” भनी व्यङ्ग्यसमेत गरिन्। गङ्गाका नजिकका मान्छेले “भित्रबाट निकालेर दिए भयो नि” भने पनि गङ्गा भित्र छिरिनन्। अन्ततः ज्याला दिइनन् गङ्गाले।

तर यही क्षणदेखि रेखाको जीवनमा अर्को ठूलो बज्रपात खस्यो। केही क्षणमै गङ्गा र उनका भाइ सागर घरमै पुगे। रेखाको कपाल भुत्लाउँदै मुक्का प्रहार गर्न थाले। रेखा र गङ्गाबीच भुत्लाभुत्ली परिरहँदा छुट्याउनुपर्ने गङ्गाकै भाइ सागरले उल्टै रेखाको मुखमा मुक्का हाने।

“उसले कपाल समाएर भुत्लाएपछि मैले पनि उसको कपाल भुत्लाएको थिए,” रेखाले पहिचानसँग भनिन्, “उसको भाइले मुखमा हान्यो, मेरो त खुन नै बग्यो।”

गङ्गा र उनका भाइले कानुनले नै निषेध गरेका निकृष्ट शब्द प्रयोग गरेको रेखाको आरोप छ। घटना हुँदा रेखाको घरमा आमा थिइनन्। घरमा रेखा र मधु मात्र थिए। “हाम्रो कोही छैन भनेर साह्रै हेपे। घरमै आएर कुटे,” रेखाले मलिन स्वरमा भनिन्।

यस्तो गम्भीर घटनामा पनि स्थानीय जनप्रतिनिधिले वास्ता नगरेको रेखाको आरोप छ।

न्यायको खोजीमा रेखा बिहीबार इलाका प्रहरी कार्यालय जयनगर पुगिन्। प्रहरीले किटानी जाहेरी लिएर गङ्गालाई पटक–पटक बोलायो। “शुक्रवार प्रहरीको टोली गाउँमै गयो,” इलाका प्रहरी कार्यालय जयनगरले भन्यो।

शनिवार गङ्गा एक जना विनोद नामका व्यक्तिसँग प्रहरी कार्यालय पुगिन्। रेखाका अनुसार विनोदविरुद्ध केही समयअघि रेखाकै दिदीलाई हातपात गरेको उजुरी थियो र उनले १० हजार रुपैयाँ क्षतिपूर्ति बुझाएका थिए। गङ्गाले यही घटना उठाउँदै “तिमीहरू पैसा लिनलाई यस्तो गर्छौ” भन्दै रेखामाथि उल्टै आरोप लगाइन्।

प्रहरीले सुरुमा रेखाको पीडा बुझेझैँ गरे पनि गङ्गा र विनोदसँग ‘गोप्य वार्ता’ गरेपछि कुनै कागजपत्र नै नबनाई ७ सय रुपैयाँ लिएर जान सुझायो। “सामान्य घटना हो, जहाँ गए पनि जाऊ,” भनेर जयनगर प्रहरी कार्यालयका प्रहरी निरीक्षक विवेक भट्टराईले दिएको जवाफले आफूहरूलाई उल्टै अपराधीको रूपमा व्यवहार गरिएको रेखाले बताइन्।

“न्याय पाइएला भनेर प्रहरी कार्यालय पुगेको थिएँ, तर उल्टै अन्यायमा परेँ,” रेखाले गुनासो गरिन्, “न्याय त हुनेखानेकै लागि रहेछ, हाम्रो त कोही छैन, अब कहाँ जाऊँ?”

निरीक्षक भट्टराईसँग सम्पर्क गर्दा उनले टिप्पणी दिन अस्वीकार गर्दै जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न भने।

जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डिएसपी देवेन्द्र बहादुर मल्लले घटनाबारे चासो व्यक्त गर्दै, “न्याय नपाइने भन्ने हुँदैन, घटनाको सोधपुछ हुन्छ,” भनेर आश्वासन दिए।

जयनगर प्रहरीले न्याय नदिएपछि अब जिल्ला प्रहरी कार्यालय धाउनुपर्ने बाध्यता परेको रेखाले बताइन्। “गङ्गाले प्रहरीको टेबलमा छोडेको ७ सय मैले लिएर आएकी छैन,” रेखाले भनिन्, “घरमै आएर कुटपिट गरेको छ, ज्याकेट च्यातिएको छ, रगत बगेको छ। तीन दिनदेखि धाइरहेछु, न्याय पाइएन। उल्टै प्रहरी नै हाम्रोलाई गल्ती देखाएर ‘जे गर्छौ गर’ भन्छ। त्यही कुरा झन् पीडादायी छ।”

रेखाको जीवनमा बज्रपात

गत वैशाखमा बर्दिया बारबर्दिया–८ भगतपुरकी रेखाले कानुनी रूपमा बासगढी–४ की मधु सुनारसँग समलिङ्गी विवाह दर्ता गराएकी थिइन्। विवाहका लागि परिवारसँग गम्भीर सङ्घर्ष गर्नु पर्‍यो। परिवारले ‘समलिङ्गी रोग हो’ भन्दै झारफुकसम्म गराएको थियो।

विवाहपछि घर चलाउनै भन्दै रेखा विदेश जाने निर्णयमा पुगिन्। विदेश पठाउने काममा पनि गङ्गाले एजेन्ट शर्मिलासँग सम्पर्क गराइदिएकी थिइन्। भिजिट भिसामा दुबई पुगेकी रेखा छातीमा दाग देखिएको भन्दै एक महिनामै कामबाट निकालिइन्।

नेपाल फर्कने टिकट र एक महिनाको मजदुरी कम्पनीले बनाइदिए पनि ज्याला भने एजेन्ट शर्मिलाको खातामा राखिएको कुराले रेखा स्तब्ध भइन्। “मैले काम गरेको पैसा देऊ” भन्नासाथ शर्मिलाले “दुबई पठाउँदा खर्च लागेको हो” भन्दै हालसम्म पैसा दिएकी छैनन्। रेखाले ५५ हजार रुपैयाँ पाउनु पर्ने बताइन्।

शर्मिलाले भने रेखासँग आफूले एक रुपैयाँ पनि नलिएको दाबी गर्दै, “ट्राभल एजेन्सीलाई नगद बुझाएर पठाएको हुँ, उल्टै मलाई दिनुपर्ने हिसाब छ,” भनिन्। गङ्गाले पनि रेखाले एक महिनामै फर्किएपछि पैसा मागिरहेकाले आफूले केही दिनु नपर्ने बताएकी थिइन्।

तर अब घरमै आएर कुटपिट गर्ने घटनाबारे सोध्न फोन गर्दा गङ्गाले उठाएकी छैनन्।

नोक्सानी, धोका, परिवारको अस्वीकार, विदेशमा भएको बेरोजगारी, एजेन्टको विवाद, ज्याला नपाएपछि घरमै आएर गरिएको कुटपिट रेखाको जीवनमा अहिले एकमाथि अर्को बज्रपात झरिरहेकै छ।

*पहिचान अनलाइनमा समाचार प्रकाशित भएपछि गङ्गाले फोन गरेर ७ सय रुपैयाँ आफूले प्रहरी कार्यालयमै छोडेर आएको बताइन। उनले कुर्सी उठाएर लगे पछि रेखाको घरमा गएको बताइन। उनले सामान्य भनाभन भए पनि आफूले अपशब्द प्रयोग नगरेको जिकिर गरिन्।

समाचार शेयर गर्नुहोस्
329
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.