बर्दियाको बारबर्दियामा समलिङ्गी जोडीको विवाह दर्ता, वडा कार्यालयले गर्‍यो सम्मान

बर्दियाको बारबर्दियामा समलिङ्गी जोडीको विवाह दर्ता, वडा कार्यालयले गर्‍यो सम्मान

2.7k
SHARES

बर्दिया : बर्दियाको बारबर्दिया नगरपालिका वडा नं ८ को कार्यालयले लेस्बियन जोडीको विवाह दर्ता गरेको छ। परिवारले धामी लगाएर छुटाउने प्रयास गरेका लेस्बियन जोडी कानुनी रूपमा विवाह दर्ता गराउन सफल भएका छन्।

बर्दिया बासगढी नगरपालिका वडा नं ४ की मधु सुनार र बारबर्दिया वडा नं ८ भगतपुरकी रेखा विश्वकर्माले कानुनी रूपमा विवाह दर्ता प्रमाणपत्र पाए।

वडा नं ८ का वडा सचिव चुमान बहादुर घर्तिमगरले सर्वोच्च अदालतको आदेश र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको परिपत्र अनुसार मधु र रेखाको कानुनी रूपमा अस्थायी विवाह दर्ता प्रमाणपत्र जारी गरिएको जानकारी दिए।

मधु र रेखाका बुबाआमाको नागरिकता, गाउँ सर्जमिन गरेर विवाह दर्ताको प्रमाणपत्र दिएको वडा सचिव घर्तिमगरले बताए। विवाह दर्ता गर्ने जोडी मधु र रेखालाई वडा कार्यालयले खादा ओढाएर सम्मान समेत गरेको छ।

समलिङ्गी तेस्रो*लिंगी विवाह सहज तरिकाले दर्ता गर्न परिपत्र जारी

बर्दिया जिल्लामा दोस्रो र बारबर्दिया नगरपालिकामै पहिलो पटक समलिङ्गी जोडीको विवाह दर्ता भएको वडा सचिव घर्तिमगरले बताए। ‘सर्वोच्च अदालतको आदेश, पञ्जीकरण विभागको परिपत्र र यसअघि समलिङ्गी विवाह दर्ता गर्ने स्थानीय पालिकासँग समन्वयन गरियो,’उनले भने,’उहाँहरू कहिले देखि सँगै बस्दै आउनु भएको छ भनेर गाउँ सर्जमिन गराएर प्रमाणपत्र प्रदान गरेका छौँ।’

विवाह दर्ता प्रमाणपत्रसँगै वडा कार्यालयले गरेको सम्मानबाट खुसी लागेको प्रतिक्रिया दिए। विवाह दर्ता गर्न पाउने समान हक पाउँदा खुसी लागेको रेखाले बताइन। ‘धेरै खुसी लागिरहेको छ,’रेखाले पहिचानसँग भनिन्,’अझ वडा कार्यालयको सम्मानले उत्साह थपिदिएको छ।’ सर्जमिनका लागि रेखाले गाउँका पाँच जना स्थानीय वडा कार्यालयमा उपस्थित गराएकी थिइन।

मधु र रेखालाई केही महिना अघि मात्रै परिवारले समलिङ्गी सम्बन्ध नराख्न झारफुक गराएको थियो। निको नभएको भन्दै कुटपिट समेत हुन थालेपछि मधु भागेर रेखाको घरमा गएर बसेकी थिइन। उनीहरूले १७ वैशाख बुधवार वडा कार्यालयमा उपस्थित भएर विवाह दर्ताको अस्थायी प्रमाणपत्र हात पारे।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको हक अधिकारका लागि क्रियाशील मायाको पहिचान नेपालले मधु र रेखालाई वैवाहिक जीवनको शुभकामना दिएको छ। सचिव सुरेन्द्र पाण्डेले घरपरिवारबाट भएको दुर्व्यवहारविरुद्ध मायाको पहिचान नेपालसँग सहयोग मागेका जोडीको विवाह दर्ता हुनु खुसीको कुरा भएको बताए। समाज र घरपरिवारमा आफ्नो पहिचानसँग लडेर विवाह दर्ता गर्नु उनीहरूको जीत भएको सचिव पाण्डेले उल्लेख गरे।

भारतको बैंगलोरमा भेट भएको थियो, मधु र रेखाको। बैंगलोरमै विवाह गरेर सँगै बस्ने निधो गरेर नेपाल फर्किएका थिए उनीहरू। गत वर्षको दसैँमा घर आएका उनीहरूको विवाह गर्ने चाहनामा बाधक बनेको थियो परिवार। भन्यो,’छोरीछोरीको पनि कहीँ विवाह हुन्छ?’ यस्तो सोच आउनुलाई रोग मान्यो र छुटाउन झारफुकसम्म गरायो।


दुवै लेस्बियन (समलिङ्गी महिला) हुन्। मधुले कक्षा १२ र रेखाले १० कक्षा पास गरेका छन्। रेखाका बाबा छैनन्। पटकपटक छुटाउन खोजेको परिवारलाई मधु र रेखाले कानुनी रूपमा विवाह दर्ता गरेर जवाफ दिएका छन्। विवाह दर्ताको प्रमाणपत्र हातमा पार्दा उनीहरू प्रफुल्लित भएका छन्।

समलिङ्गी जोडीलाई छुटाउन धामी लगाएर झारफुक

रेखा दुलाहा र मधु दुलही हुन्। लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक जोडीको अस्थायी अभिलेख रहने गरी सर्वोच्च अदालतले १२ असारमा अन्तरिम आदेश जारी गरेको थियो। सर्वोच्च अदालतको आदेश पछि लमजुङको दोर्दी गाउँपालिका कार्यालयले दक्षिण एसियामै पहिलो पटक माया गुरुङ्ग र सुरेन्द्र पाण्डेलाई समलिङ्गी विवाह दर्ता प्रमाणपत्र दिएको थियो।

बर्दियाको बढैयाताल गाउँपालिका –२ ले लेस्बियन जोडी अन्जुदेवी श्रेष्ठ (दीप्ति) र सुप्रिता गुरुङको जोडीलाई विवाह दर्ताको अस्थायी प्रमाणपत्र दिएको थियो।

मायाको पहिचान नेपालको पहलमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले १२ वैशाख २०८१ मा ७५३ वटै स्थानीय तहलाई लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता गर्न परिपत्र जारी गरेको थियो। विभागको परिपत्र पछि स्थानीय तहमा सहज रूपमा विवाह दर्ता हुँदै आएको छ।

यो पनि : नयाँ वर्ष २०८२ : सर्वोच्चको निर्णय कुर्नेदेखि ट्रम्पलाई नेपालमा स्वागत गर्नेसम्म

समाचार शेयर गर्नुहोस्
2.7k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.