काठमाडाैं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले भदौ २३ र २४ मा जेन–जेड युवाहरूको प्रदर्शनका क्रममा भएको अकल्पनीय जनधन क्षति, हिंसा, आगजनी र व्यापक अराजक गतिविधिको सत्य–तथ्य उजागर गर्ने गरी निष्पक्ष छानबिनको माग गरेको छ।
पार्टीले ती घटनामा ज्यान गुमाएकाहरूमा श्रद्धाञ्जली अर्पण गर्दै परिवारलाई उचित क्षतिपूर्ति र घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ।
भदौ २४ मा विभिन्न सरकारी संरचना, संवैधानिक निकाय, अदालत, पार्टी कार्यालय, उद्योग–व्यवसाय, नेपाली कांग्रेसका शीर्ष नेतादेखि स्थानीय तहका नेता–कर्मचारीको निजी घरसमेतमा भएका तोडफोड, लुटपाट र आगजनीलाई कांग्रेसले ‘अराजनीतिक, आपराधिक र पूर्ण रूपमा विध्वंसकारी’ ठहर गरेको छ।
बैठकले लुटिएका हातहतियार तथा सुरक्षा सामग्री तत्काल फिर्ता गराउनु, फरार कैदीलाई नियन्त्रणमा ल्याउनु र ध्वस्त संरचनाहरूको शीघ्र पुनर्निर्माण गर्न सरकारसँग जोडदार माग राखेको छ।
जेन–जेड पुस्ताले उठाएका ‘भ्रष्टाचार अन्त्य, सुशासन, पारदर्शिता र सूचनाको हक’ जस्ता मुख्य विषयलाई कांग्रेसले वैध मागका रूपमा स्वीकार गर्दै आफू सदैव सकारात्मक ढङ्गले उभिने जनाएको छ। बैठकले पार्टी सभापति शेरबहादुर देउवाले प्रस्तुत गरेको लिखित मन्तव्य अनुमोदन गर्दै देउवा तथा डा. आरजु राणा देउवाको स्वास्थ्यलाभको कामना पनि गरेको छ।
आगामी माघ ११ मा हुने राष्ट्रियसभा र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले दल दर्तासहितका सम्पूर्ण प्रक्रिया पूरा गर्ने निर्णय गरेको छ।
कांग्रेसले राजनैतिक निकास निर्वाचनमै भएको स्पष्ट गर्दै फागुन २१ को चुनावमा भाग लिने निर्णय गरेको छ। शान्ति–सुरक्षाको गिरावट, हजारौँ कैदी फरार, हातहतियार हराइरहनु, राजनीतिक दलले निर्बाध गतिविधि सञ्चालन गर्न नसक्नु जस्ता चुनौती तत्काल सम्बोधन गर्न सरकारलाई ध्यानाकर्षण गराइएको छ।
संसद् विघटन, अन्तरिम सरकार गठन र राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्तिको विषय सर्वोच्च अदालतमा विचाराधीन भएकाले अन्तिम व्याख्या अदालतबाटै हुने कांग्रेसको धारणा छ। कुनै पनि पक्षले हिंसा, उत्तेजना र घृणा फैलाउने कार्य नगर्न बैठकले आव्हान गर्दै समाधान संवादबाट खोज्न आग्रह गरेको छ।
जेन–जेड प्रदर्शनले उठाएका परिवर्तनका मुद्दालाई सम्बोधन गर्न बहुपक्षीय राष्ट्रिय संवाद अपरिहार्य भएको कांग्रेसको ठहर छ। प्रतिनिधिसभाका दलहरू, प्रदर्शन पश्चात् उदाएका समूहहरू, जेन–जेड पुस्ता, नागरिक समाज, बुद्धिजीवी, सञ्चारकर्मी र सरोकारवालाबीच साझा राष्ट्रिय समझदारी निर्माण गर्न पार्टीले पहल गर्ने भएको छ।
जेन–जेड आन्दोलन तथा पछिल्ला घटनाक्रमको सूक्ष्म अध्ययन, अनुसन्धान र दस्तावेजीकरण गर्ने निर्णय पार्टीले गरेको छ।
देश गम्भीर राजनीतिक सङ्कटमा रहेको निष्कर्ष निकाल्दै नेपाली कांग्रेसले सबै दल, नागरिक समाज, बुद्धिजीवी र सञ्चारकर्मीलाई संविधानको संरक्षण, मौलिक हकको सुरक्षा र राष्ट्रिय स्वाधीनताका लागि आपसी संवाद, संयमता र समझदारी अपनाउन अपिल गरेको छ।
कांग्रेसले महाधिवेशनको मिति भने घोषणा गरेको छैन। चुनाव अघि या चुनाव पछि पार्टीको महाधिवेशन गर्ने भन्ने विवादले निर्णय गर्न कांग्रेसलाई सकस परेको छ। केन्द्रीय समिति बैठक मङ्सिर ११ गते पुनः बस्ने कांग्रेसले जनाएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.