निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

चुनावमा नजाने एमाले एक्लो, कांग्रेसको निर्णयले झट्का

चुनावमा नजाने एमाले एक्लो, कांग्रेसको निर्णयले झट्का

312
SHARES

काठमाडौँ – जेनजी आन्दोलनअघि नेकपा एमालेसँग सत्ता सहयात्रामा रहेको नेपाली कांग्रेसले निर्वाचन मिति घोषणा भएको दुई महिनापछि प्रतिनिधिसभा चुनावमा भाग लिने निर्णय गरेसँगै, चुनावमा भाग नलिने भनिरहेको एमाले एक्लो दल बनेको छ।

फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा चुनावका लागि दल दर्ता गर्ने कांग्रेसको निर्णयले संसद् पुनःस्थापनाको रटान दोहोर्‍याइरहेको एमालेलाई ठुलो राजनीतिक झट्का दिएको छ।

अध्यक्ष केपी शर्मा ओलीको हठका कारण एमालेले अझै पनि “निर्वाचनमा भाग लिन्छौँ” भन्ने स्पष्ट घोषणा गर्न सकेको छैन।

एमाले प्रतिनिधिसभा चुनाव नै हुन नसक्ने दाबी गर्दै सर्वोच्च अदालतमा मुद्दा लिएर जाने निर्णयमा अडिएको छ, जबकि त्यसकै बीच एमालेले माघ ११ का लागि तोकिएको राष्ट्रियसभा निर्वाचनमा भने दल दर्ता गरिसकेको छ।

कांग्रेसले ११ माघको राष्ट्रियसभा र २१ फागुनको प्रतिनिधिसभा निर्वाचन दुवैका लागि आयोगमा दल दर्ता गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशसरण महतले जानकारी दिए।

कांग्रेससँग पनि साथ पाउने आशा गरेको एमालेको संसद् पुनःस्थापनाको रणनीति कांग्रेसले अस्वीकार गरेसँगै ओली नेतृत्वमा रहेको एमाले राजनीतिक रूपमा थप एक्लिँदै गएको देखिन्छ।

तर, एमाले अध्यक्ष केपी शर्मा ओली भने वर्तमान सरकारलाई चुनाव गराउने अधिकार नै नभएको जिकिर गर्दै आएका छन्। कांग्रेसले चुनावमा जान निर्णय गरेको दिनमै भृकुटीमण्डपमा कार्यकर्ता भेला सम्बोधन गर्दै ओलीले भने “संसद् पुनर्स्थापनाबाहेक कुनै विकल्प छैन।” उनले सरकारमाथि आगजनी, लुटपाट र विध्वंस मच्चाएर सत्तामा आएको आरोप लगाए।

एमाले अहिले सडकबाटै सत्ता पल्टाउने अभियानमा लागेको छ। शनिवार काठमाडौँमा शक्ति प्रदर्शन गरेको एमालेले फेरि २७ गते अर्को “ऐतिहासिक कार्यक्रम” गर्ने घोषणा गरेको छ।

बागमती प्रदेश कमिटीको आयोजनामा प्रदर्शनीमार्गमा गरिएको ‘शान्तिपूर्ण जनप्रदर्शन तथा जनसभा’लाई एमालेले आफ्नो सबल शक्ति प्रदर्शनका रूपमा अर्थ्याएको छ।

संसद् विघटन र सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक रूपमा बनेको भन्दै जनसभा गरिएको एमाले नेताहरूले स्पष्ट पारे। यसअघि पनि प्रतिनिधिसभा पुनःस्थापनाको माग राख्दै एमालेले देशभर प्रदर्शन गरिसकेको थियो।

राज्यका सुरक्षा निकायप्रति अविश्वास जनाउँदै नेशनल भोलेन्टियर फोर्स गठन गरेको एमालेको यो कदम पनि चुनावको तयारीको सट्टा नयाँ युवा दस्ता घोषणा गरेको विवादास्पद निर्णयका रूपमा आलोचित भइरहेको छ।

पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने जेनजी आन्दोलनको लहरलाई क्यास गर्ने रणनीतिमा सक्रिय देखिएका छन्।
वाईसीएल नेपालले पेरिसडाँडामा गरेको कार्यक्रममा प्रचण्डले जेनजीले उठाउँदै आएका मुद्दाहरूलाई आफूहरूले अगाडि सारेको बताए।

उनले अब देश र पार्टी नेतृत्व नयाँ पुस्ताले सम्हाल्नुपर्ने धारणा राखे। चुनावमा अधिकतम युवालाई अवसर दिने विषयमा पार्टीभित्र गम्भीर छलफल भइरहेको समेत उनले बताए।

चुनावमा भाग लिन दल दर्ता गर्ने समय नजिकिँदै जाँदा जेनजी मुभमेन्टका युवाहरू भने आन्दोलनलाई वैधानिकता दिन प्रधानमन्त्रीलाई बुझाइएको प्रस्तावित सम्झौतापत्रमा हस्ताक्षरको प्रतीक्षामा छन्।

कात्तिक २८ गते जेनजीका विभिन्न समूहले आन्दोलनकारी र सरकारबीचको जनादेशबारे प्रस्तावित सम्झौता प्रधानमन्त्रीलाई बुझाएका थिए।

निर्वाचन हुनुपर्छ भन्ने पक्षमा आफूहरू भए पनि, सम्झौतामा हस्ताक्षर भएपछि मात्रै कसरी चुनावमा सहभागी हुने भन्ने निर्णय गर्ने जेनजी मुभमेन्ट अलायन्सका अगुवा रिजन रानामगरले बताए।

भदौ २३ र २४ को जेनजी आन्दोलनले नेपालको राजनीतिक परिदृश्य हल्लाएको दुई महिना भइसकेको छ। आन्दोलनपछि जेनजीका विभिन्न समूहहरू आन्तरिक छलफलमा व्यस्त छन्। आगामी दिनमा राजनीतिक समाधान कसरी निकाल्ने भन्नेबारे आन्तरिक विश्लेषण चलिरहेको रानामगरले बताए।

समाचार शेयर गर्नुहोस्
312
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.