निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

प्रसाईँले घोषणा गरेका बन्द–हडताल फिर्ता

प्रसाईँले घोषणा गरेका बन्द–हडताल फिर्ता

292
SHARES

काठमाडौँ – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले घोषणा गरेको अनिश्चितकालीन आम हडतालका कार्यक्रम फिर्ता लिएको छ।

सरकार र महाअभियानका प्रतिनिधिबीच शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा आम हडताल फिर्ता लिने सहमति भएको प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले जानकारी दिएको छ।

वार्तामा महाअभियानले उठाएका २७ बुँदे मागका सन्दर्भमा विस्तृत छलफल गरिएको थियो। छलफलका क्रममा वर्तमान शान्ति–सुरक्षाको अवस्थालाई ध्यानमा राख्दै महाअभियानले उठाएका मुद्दाहरू समाधान गर्न सरकारले निरन्तर छलफल, वार्ता र सहजीकरण गर्दै जाने सहमति बनेको सचिवालयले जनाएको छ।

महाअभियानले मङ्सिर ७ गतेदेखि लागू हुने गरी घोषणा गरेको नेपाल बन्द तथा अनिश्चितकालीन आम हडताल कार्यक्रम फिर्ता लिने निर्णय भएको छ। वार्तामा महाअभियानका तर्फबाट सचिव प्रेमदीप लिम्बुको नेतृत्वमा अधिवक्ताद्वय विनोदमणि भट्टराई, लवण न्यौपाने र डा. निराजन प्रसाई सहभागी थिए।

सरकारतर्फबाट गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, सल्लाहकार गोविन्दनारायण तिमिल्सिनालगायतको उपस्थिति थियो। वार्ता प्रधानमन्त्री निवासमै सम्पन्न भएको हो।

प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार आगामी चरणको वार्ता महाअभियानको शीर्ष नेतृत्वसहित यथाशीघ्र गर्ने समझदारी गरिएको छ।

महाअभियानका संयोजक दुर्गा प्रसाई भने पक्राउ परेका छन्। प्रसाई पक्राउ परेको केही दिनमै महाअभियानले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ।

समाचार शेयर गर्नुहोस्
292
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.