निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

“अपत्यारिलो खबरले नराम्ररी झस्कायो”

“अपत्यारिलो खबरले नराम्ररी झस्कायो”

342
SHARES

काठमाडौँ – मसिनो स्वर, हाँसेर बोल्ने बानी र सहयोगी स्वभावको पहिचान बनेका पत्रकार तथा रेडियो अडियोका सञ्चालक दिपेन्द्र खनिया थापागाउँस्थित आफैँले बिक्री गरिसकेको घरको बरन्डामा झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। पत्याउन कठिन यो घटनाले परिवार र साथी–शुभचिन्तकहरूलाई स्तब्ध बनाएको छ।

कोही दुःखमा नपरोस् भन्ने मनसाय राख्ने, हास्यव्यङ्ग्यमार्फत दुखी मनलाई पनि हँसाइदिने स्वभाव थियो उनको। हवाईजहाजमा दाइ गुमाएको पीडा भुलेरै जीवनमा अघि बढिरहेका उनी आज आएर आफैँ अस्ताए, पत्याउन पनि गाह्रो हुने गरी। उनी सबै मित्रहरूको आँखामा आँसु बनेर बिलाए। बिक्री गरेको घरको बरन्डामा झुन्डिएको अवस्थामा मृत फेला परे खनिया।

परिवार भावविह्ल छ। थप केही जानकारी लिन पनि कठिनाइ भएको प्रहरीको भनाइ छ। उनले काठमाडौँ महानगरपालिका–१० थापागाउँमा घर बनाएका थिए। नयाँबानेश्वरमा राखिएको रेडियो अडियोको स्टेसन पनि त्यही घरमा सारिएको थियो र त्यही घरमै उनी मृत फेला परे।

खनियाले घर ऋषीकेश भट्टलाई बिक्री गरिसकेको खुलेको छ। पाँचतले घरको चौथो तलामा भाडामा बस्दै आएका उनी रेलिङमा झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। घटनास्थलको प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए।

दिपेन्द्र खनिया फरक धारको पत्रकारिता गर्थे। उनी कला र गलाका धनी थिए। रेडियो सगरमाथा, कम्युनिकेसन कर्नर, उज्यालो ९० नेटवर्क हुँदै रेडियो अडियो सञ्चालन गरेका उनी अब स्मरणमा मात्रै रहने गरी बिदा भएका छन्।

उनको मृत्युका खबरले साथीभाइ, शुभचिन्तक सबैलाई स्तब्ध बनाएको छ। सामाजिक सञ्जाल फेसबुकमा उनको तस्बिर पोस्ट गर्दै उनीप्रति पोखिएका श्रद्धाञ्जलीका शब्दहरू गहिरा पीडा र अपत्यारिलो शोकले भरिएका छन्।

“पत्याउनै गाह्रो! कति सम्झनाहरू थिए/छन् पत्रकारिताको सुरुवातकालीन यात्राका रेडियो सगरमाथाका सङ्घर्षका दिनहरूका!

सुन्दा पनि कस्तो नमिठो लाग्ने! पत्याउन पनि गाह्रो!!

खनिया रेडियो-अडियोका सञ्चालक हुन्। उनी छक्का पन्जा ५ का निर्मातासमेत थिए। असामयिक निधनको खबरले मन छोयो, छाती चिसो बनायो।

मन बडो बिथोलियो! रेडियो अडियो आफैँमा बेग्लै, त्यसमा पनि दीपेन्द्रजीको सोच बेग्लै, स्वाद बेग्लै! तर अब केवल सम्झना बाँकी रहनेछन्!

“एउटा अपत्यारिलो खबर—जसले नराम्रोसँग झस्कायो आज। अलबिदा दिपेन्द्र दाइ।”

“सबैलाई हँसाउने रेडियोको सुरुवात गरेऊ, तर सायद मनभित्र अनेकन् रुवाइहरू दबाएर। यात्रा सजिलो थिएन, तैपनि आँटेर अघि बढेऊ। ‘प्रभात दाइ, यस्तो इभेन्ट गर्नु पर्छ’ भन्थ्यौ। सँगै बसेर रमाइलो गर्दा हाँसो, खेल, ठट्टा सबै थियो। तर यस्तो पाइला चाल्नु अघि एकचोटी फोन गरेका भए हुँदैनथ्यो? केही उपाय निस्किन्थ्यो कि? कति लेखूँ, कति बोलूँ… अलबिदा।”

“सधैँ अरूलाई हार खानुहुन्न भनेर सम्झाइरहने मान्छेले हार खाएको देख्दा निकै दुख लाग्दो रहेछ! आफूमाथि दुःख लुकाएर अरूलाई हँसाउने व्यक्तिले आज सारा श्रोता, शुभचिन्तकहरूलाई रुवाएर मित्र Deependra Khaniya यस धर्तीबाट बिदा लिनुभएको खबरले स्तब्ध र निःशब्द भयौँ। मृतात्माका प्रति चिरशान्तिको कामना गर्दै परिवारजनलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस्।”

“सधैँ हाँसिरहने अनुहारभित्रको पीडा कसले देख्छ र… हार्दिक श्रद्धासुमन दाइ।”

“निकै मज्जाको मान्छे दिपेनजी आज नमज्जाले छाडेर जानुभयो। बैकुण्ठवास होस्। हार्दिक श्रद्धाञ्जली।”

“निःशब्द छु साथी! तिम्रो हरेक Birthday मा Wish गर्दै यो फोटो राख्ने गर्थे। तर आज के सुन्नुपर्‍यो साथी? मलाई ढाडस दिने मान्छेले आफैँले चाहिँ… तिम्रो वैकुण्ठमा बास होस्। शोकसन्तप्त परिवारमा हार्दिक समवेदना।”

“जीवनका आरोह–अवरोहसँग लड्दै थियौ, हिम्मत नहार्ने कुरा भएको थियो त साथी, आखिर किन हारेर गयौ? तिमीले आफ्नो छोरीका लागि भए पनि बाँच्नुपर्थ्यो Deependra। तिम्रो आत्माले शान्ति पाओस्।”

“सँगत २०४८ साल देखी, २०४९ मा तँ र म सम्धी बन्ने है भनेर तैँले मनदेखि भनेको ती भावनाका छाल, २०५० सालको SLC सँगै। त्यसपछि काठमाडौँ रहँदा सङ्घर्षका दिनमा कर्म गरेका बागबजारको पुस्तक पसल, वीर अस्पताल अगाडिको औषधि व्यवसाय हुँदै पत्रकारितामा छलाङ मार्दै, छक्का पन्जाका निर्माता हुँदै, रेडियो अडियोको निर्देशक भएर उचाइको विशाल शिखरमा पुग्दा—कसरी यो अनन्त यात्रा रोजिस् साथी? जहाँ गइस्, शान–मानका साथ रहनु। तेरो वैकुण्ठमा बास होस्।”

“निःशब्द छु यार साथी। सधैँ अरूलाई ऊर्जा दिने, मेहनत गर्न प्रेरित गर्ने, हाँसो बाँड्ने, सपना बाँड्ने मान्छे—झल्याँस्स बिउँझिँदा सपना जस्तै हराएर जानुहुन्छ जस्तो लागेको थिएन। यसरी सजिलै हार मान्नुहुन्छ जस्तो लागेको थिएन। आज बिहान आँखा खोल्दै तपाईँको फोटोमा मानिसहरूको श्रद्धाञ्जली देख्दा विश्वासै लागेन। रेडियो अडियोमा काम गर्दा धेरै कुरा सिकियो। ४–५ वर्षको सहकार्यमा तपाईँका इनर्जी, नयाँ गर्न खोज्ने सोच, मेहनत—सबै देखेर चकित हुन्थें। तर आज संसारलाई चकित पारेर कहिल्यै नफर्कने गरी किन हराउनुभयो? जहाँ हुनुहुन्छ, सदा हाँसी–खुसी रहनुहोला। अलबिदा दिपेन्द्र सर, म सधैँ सम्झिरहनेछु।”

“दाइ, योजना अधुरा रहे, सँगै गर्ने भनेका काम अधुरा रहे, सपना अधुरा रहे। अलबिदा। हार्दिक श्रद्धाञ्जली!”

“हामी खनियाहरूले मात्र नभई देशभरिका धेरै श्रोताहरूले मन पराएको त्यो मखमली आवाज आजबाट सदाका लागि अन्त्य भएको छ। किन, कसरी यस्तो निर्णयमा पुग्यौ नि? तिम्रो अकल्पनीय र हृदयविदारक निधनले स्तब्ध बनाएको छ। शोकको यस घडीमा स्वर्गीय आत्माको चिरशान्ति र बैकुण्ठवासको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। साथै शोकाकुल परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस्।”

“लेख्न कुनै शब्द छैन। तपाईँसँग सहकार्य गरेको, तपाईँले बोल्न सिकाएको त्यो पहिलो पल—सबै आज पनि स्मरणमा छन्। तपाईँले दिनुभएको उपदेश सदैव सम्झनामा रहनेछ। सधैँ प्रेरित गर्दै ‘हिम्मत हार्नु हुँदैन’ भन्न सिकाउनुभयो।”

“सपना जस्तै लागिरहेछ—सबैलाई सकारात्मक ऊर्जा बाँड्ने, हिम्मत हार्न नदिन सिकाउने मान्छेले यस्तो निर्णय कसरी गर्नुभयो? तैँले यो के गरिस् दिपेन्द्र? Deependra Khaniya, कसरी सम्हालूँ ३० वर्षदेखिका ती आत्मीय पलहरू? हरेक कठिनाइमा सल्लाह लिने तेरो मनले यसपटक मलाई किन सम्झिएन? अस्ति रातिसम्म जिस्किएर भिडियो कल गरेको तैँले आज आफ्नै जीवनलीला किन समाप्त पारिस्? यी प्रश्न अनुत्तरित नै रहे।”

“हामी ‘ज्युँदै’ भएका हरुले फ्याट्टै भनिदिन सक्छौं- कति कमजोर, किन त्यस्तो गरेको?’ तर मृत्यु रोज्नु सामान्य विषय हुँदै होईन। सजिलै मान्छे त्यो अवस्थामा पुग्दैन किनकी हामीलाई केही पनि थाहा छैन, देह त्याग्नु अघि ऊ कुन मनोदशामा थियो होला, कति पीडामा थियो होला? हामी अनुमान पनि लगाउन सक्दैनौं। र, हामीले सोध्ने फुर्सद पनि निकालेनौं र शायद हामी औपचारिकता बाहेक सोध्दैनौं पनि। हुन त मेरो आफ्नो त्यति राम्रो अनुभव छैन। तर वश मैले वा अरु कसैले ‘भेटौंन, कुरा गरौंन’ भन्यो भने स्वीकार्दिनुस किनकी यस्तो कसैले त्यतिकै भन्दैन। किनकी केही साथीहरु संवाद र सम्पर्कको अभावमा नर्फकने गरी गए। आज प्रिय मित्र दीपेन्द्र खनियाँ (दुई महिना अघिको भेटनै अन्तिम भयो) छुटे जस्तै भोलि म तपाइँबाट छुटिन सक्छु वा तपाइँ पनि मबाट छुटिन सक्नुहुन्छ। त्यसैले साथीभाई लाई सोधौं कुरा गरौं ‘ठिक ठाक छ कि छैन?’ खुले जिन्दगी अर्कै हुन्छ। किनकी ‘म छु’ भन्दिदा मात्रै पनि आशाको आधार भेटिन सक्छ। वश एक वचनले जीवन र मृत्युको दुरी तय गरिदिन सक्छ। हार्दिक श्रद्धाञ्जलि साथी दीपेन्द्र।”

दिपेन्द्र खनियाको असामयिक निधनले नेपाली रेडियो पत्रकारिता, मनोरञ्जन क्षेत्र, सहकर्मी, श्रोता र नजिकका मित्रहरूको हृदयमा गहिरो खालीपन छोडेको छ। सधैँ अरूलाई हँसाउने, ऊर्जा दिने व्यक्ति आफैँ यसरी बिदा हुँदा “किन?” भन्ने प्रश्न अनुत्तरित छ।

समाचार शेयर गर्नुहोस्
342
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.