निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

छेपारोजस्तै दल फेर्ने दौड, नयाँ-नयाँ पार्टी घोषणा

छेपारोजस्तै दल फेर्ने दौड, नयाँ-नयाँ पार्टी घोषणा

हरेक चुनावमा छेपारोले जस्तै रङ्ग फेर्ने बानी परेका नेताहरूले पुरानो दल त्याग्ने, नयाँ दल खोल्ने या अरूले खोलेको दलमा प्रवेश गरेर अबिर जात्रा गर्ने क्रम चलिरहेको छ।

260
SHARES

काठमाडौँ – विभिन्न राजनीतिक दलमा आबद्ध नेताहरूको दल अदल–बदल तीव्र बनेको छ। फागुन २१ का लागि तोकिएको चुनावका लागि नयाँ दल घोषणा गर्ने प्रतिस्पर्धा चलेको छ।

एउटा दलले अर्को दलका नेताहरूलाई बेहुली भित्र्याएको झैँ फूलमाला लगाएर स्वागत गर्ने क्रम चलिरहेको छ। हरेक चुनावमा छेपारोले जस्तै रङ्ग फेर्ने बानी परेका नेताहरूले पुरानो दल त्याग्ने, नयाँ दल खोल्ने या अरूले खोलेको दलमा प्रवेश गरेर अबिर जात्रा गर्ने क्रम चलिरहेको छ।

माओवादी छोडेर नयाँ शक्ति हुँदै नेपाल समाजवादी पार्टी खोसेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेपाली कम्युनिस्ट पार्टीमा अटाउन नसकेका पूर्वअर्थमन्त्री जनार्दन शर्मा तथा रास्वपा त्यागेका पूर्वसांसद सन्तोष परियारसम्मिलित नयाँ पार्टीको घोषणा भएको छ।

भट्टराईको नेपाल समाजवादी पार्टी नयाँ शक्ति, शर्माको प्रगतिशील राष्ट्रिय अभियान तथा परियारको राजनीतिक समूहबीच एकीकरण गरी ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ घोषणा गरिएको हो।

नयाँ पार्टीको घोषणा गर्दै पूर्वप्रधानमन्त्री डा. भट्टराईले जेनजी आन्दोलनको उपचको रूपमा आफूहरू एक ठाउँमा उभिएको बताए।

भट्टराईले पार्टीमा आफू अभिभावकीय भूमिकामा रहने र फरक मत रहे पनि दबाब नदिने सुनाए।

नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले कांग्रेस, एमाले र माओवादी केन्द्रले आ–आफ्नो क्रान्तिकारी छवि बचाउन नसकेकै कारण मुलुक चरम भ्रष्टाचार र परिणामविहीन अवस्थामा पुगेको आरोप लगाए।

शर्मा पटक–पटक सरकारको मन्त्री बनेर राज्यसत्ताको लाभ लिएका पात्र हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टी छोडेर नयाँ पार्टीमा जोडिएका नेता सन्तोष परियारले एकताबद्ध हुन आग्रह गरे।

एमाले–कांग्रेसलगायत दलका नेताहरूको अभिव्यक्तितर्फ लक्षित गर्दै अर्का नेता सुदन किराँतीले जेनजी विद्रोह विदेशीको कारणले भएको भन्नु लाज–लजाउने अभिव्यक्ति भएको टिप्पणी गरे। उनले घुमाउरो तरिकाले पूर्वपार्टी अध्यक्ष प्रचण्डको पनि आलोचना गरे।

एकतामा केही जेनजी समूहसमेत सहभागी भएका छन्। नेतृ दुर्गा सोबको नाममा सो पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेको छ। पार्टीको मार्गदर्शक सिद्धान्त प्रगतिशील समाजवाद र चुनाव चिन्ह ‘आँखा’ राखिएको छ।

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का ६ नेताले भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सँग एकीकरणको घोषणा गरेका छन्। सङ्घीय परिषद् अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठसहितका ६ नेताहरू प्रचण्ड नेतृत्वको नयाँ पार्टीमा समाहित हुने भएका हुन्।

उपेन्द्र यादवको पार्टी फुटाउँदा साथ दिएका नेताहरू नेकपामा समाहित हुने निर्णय गरेकै दिन अशोक राईले रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नेपालको चुनाव चिन्हबाट निर्वाचन लड्ने सहमति गरेका छन्।

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालले पनि आगामी चुनावमा नाउपा नेपाल (नागरिक उन्मुक्ति पार्टी) को ‘जाँतो’ साझा चुनाव चिन्हको रूपमा प्रयोग गर्ने सहमति भएको छ। तीनवटै पार्टी हालै पुनर्गठन भएका हुन्।

जेनजी विद्रोहपछि चारतिर छरिएका जेनजीहरू पछिल्लो समय विभिन्न दलसँग नजिकिएका छन्। दलहरू एकताको तालमेलमा लागिरहँदा विभिन्न समूहका जेनजीहरू पनि मिसिन पुगेका छन्।

पछिल्लो समय जेनजी आन्दोलनसँग सक्रिय रूपमा जोडिएकी जस्मिन ओझा केही दिन अघि मात्र पत्रकार ऋषि धमलाको संरक्षकत्वमा प्रस्तावित पार्टीको केन्द्रीय सदस्यको रूपमा जोडिन पुगिन्।

‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ घोषणा कार्यक्रममा जेनजी मुभमेन्ट अलायन्सका सदस्य रिजन रानामगर, अमित खनाल, संविधान प्रसाईँ, द रिभोलुसन जेनजी मुभमेन्ट अलायन्सका तर्फबाट लुजा महर्जन, जेनजी अगुवा ओजस्वी भट्टराई पुगेका थिए।

अभियानमा जोडिएकी भट्टराईले राज्य संयन्त्रको उदासीनताकै कारण आफूहरू सडकमा उत्रिन बाध्य भएको बताइन।

सडकमा भएको आन्दोलनलाई राजनीतिक आन्दोलनमा रूपान्तरण गर्ने उद्देश्यले अभियानमा जोडिएको जेनजी अगुवा भट्टराईको भनाइ छ।

समाचार शेयर गर्नुहोस्
260
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.