निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

कर्मचारी प्रशासन अब सुमनराज अर्यालको नेतृत्वमा

कर्मचारी प्रशासन अब सुमनराज अर्यालको नेतृत्वमा

292
SHARES

काठमाडौं – देशको कर्मचारी प्रशासनको बागडोर सुमनराज अर्यालको काँधमा आएको छ। कर्मचारी प्रशासनको मुख्य ओहोदामा अर्याल नियुक्त भएका छन्। मुख्य सचिवको रूपमा उनले अब ७ महिना निजामती कर्मचारीको नेतृत्व गर्नेछन्।

मन्त्रिपरिषद् बैठकले रक्षा सचिव रहेका अर्याललाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो। अर्याल २०७७ माघमा सचिवमा बढुवा भएका थिए।

उनले कोशी प्रदेशको प्रमुख सचिव, महालेखा नियन्त्रक कार्यालय, महिला, ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय योजना आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा काम गरेका थिए।

नेपाल सरकारको २९ औँ मुख्यसचिवमा रक्षा मन्त्रालयका सचिव सुमनराज अर्याल नियुक्त भएका हुन्। यसअघि मुख्यसचिवमा बैकुण्ठ अर्याल (भ्रष्टाचार आरोपमा निलम्बित),लगत्तै लिलादेवी गड्तौला, एकनारायण अर्याल हुँदै सुमनराज अर्यालले मुख्य सचिव पदमा ह्याट्रिक गरेका हुन्।

काठमाडौँ जोरपाटीका अर्याल २०२५ असार २६ गते जन्मिएका हुन्। उनी उमेर हदका कारण २०८३ असार २५ गते अवकाश पाउनेछन्। तथ्याङ्क विज्ञ समेत रहेका अर्याल असोज पहिलो हप्ता राष्ट्रिय योजना आयोगबाट रक्षा मन्त्रालयमा सरुवा भएका थिए।

मुख्य सचिव एकनारायण अर्याल ५८ वर्षे उमेर हदका कारण मङ्सिर १० गते अवकाशमा जाँदैछन्। निजामती विधेयकमा अवकाशको उमेर हद परिवर्तन गर्दै आफ्नै कार्यकाल लम्ब्याउने उद्देश्यले एकनारायण अर्यालले तीव्र लबिङ र चलखेल गरेको तथ्यसमेत सार्वजनिक भएको थियो। विधेयक तिनै चलखेलका कारण विवादमा तानिएको र कानुन निर्माण प्रक्रियामै हस्तक्षेप गरेको आरोपले एकनारायण निरन्तर आलोचनामा परेको थियो।

मुख्यसचिवमा सुमनराज अर्यालसँगै खानेपानी सचिव प्रमीलादेवी बज्राचार्य शाक्य, राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी मधुसूदन बुर्लाकोटी र श्रम सचिव कृष्णहरि पुष्कर कर्ण प्रतिस्पर्धामा थिए। अर्यालको नियुक्तिसँगै शाक्य, बुर्लाकोटी र कर्णको मुख्यसचिव बन्ने ढोका बन्द भएको छ।

समाचार शेयर गर्नुहोस्
292
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.