निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

सर्वसम्मत अध्यक्ष बन्ने ओलीको तयारीमा झट्का, पोखरेल मैदानमा

सर्वसम्मत अध्यक्ष बन्ने ओलीको तयारीमा झट्का, पोखरेल मैदानमा

282
SHARES

काठमाडौँ – नेकपा एमालेमा अन्ततः केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्न वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उम्मेदवारी घोषणा गरेका छन्। एमालेको सर्वसम्मत अध्यक्ष बनेर इतिहास रच्ने ओलीको योजनामा पोखरेलले उम्मेदवारी घोषणा गरेर धक्का दिएका छन्।

आफूसँग भिड्नेहरूको हालत माधवकुमार नेपाल र भीम रावलको जस्तै हुने सङ्केत दिँदै आएका ओली अन्ततः वरिष्ठ उपाध्यक्ष पोखरेलसँग प्रतिस्पर्धा गर्नु पर्ने अवस्थामा पुगेका छन्।

अध्यक्ष ओलीसँग प्रतिस्पर्धामा उत्रने घोषणा गर्दै पोखरेलले मङ्गलवार औपचारिक रूपमा अध्यक्ष पदका लागि उम्मेदवारी सार्वजनिक गरेका हुन्। वक्तव्यमार्फत पार्टी पुनर्गठन र रूपान्तरणका लागि कार्यकर्ताबाट आएको सुझावअनुसार आफू अध्यक्षका लागि अगाडि बढेको उनले उल्लेख गरे।

एमालेको ११औँ महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म हुँदैछ। यही महाधिवेशनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको समर्थनमा पोखरेल अध्यक्ष ओलीसँग प्रतिस्पर्धामा उत्रने तयारीमा लागेका हुन्।

संस्थापन पक्षका नेताहरूले ओलीको विकल्प नरहेको दाबी गरिरहँदा, आफ्नो अपिलमा पोखरेलले अध्यक्ष ओलीलाई अब अभिभावकको भूमिकामा बसेर नेतृत्व हस्तान्तरणतर्फ अगाडि बढ्न आग्रह गरेका छन्।

पोखरेलले पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरण गर्नुपर्ने माग पनि उठाएका छन्। दुई कार्यकाल राष्ट्रपतिको भूमिका सम्हालेकी भण्डारीको सदस्यता नवीकरणको विषय लामो समयदेखि विवादमा छ।

संस्थापन–इतर नेताहरूले ११औँ महाधिवेशनमा प्रत्येक पदमा प्रतिस्पर्धा हुने र यसपटक आफूहरू पछि नहट्ने स्पष्ट गरेका छन्। अध्यक्ष ओलीले प्रतिस्पर्धा रोक्ने मनसाय नभए पनि, चुनाव हारेपछि पार्टी छोडेर गएका माधवकुमार नेपाल र भीम रावलको प्रसङ्ग उठाउँदै सावधानी आवश्यक रहेको सङ्केत दिइसकेका छन्।

समाचार शेयर गर्नुहोस्
282
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.