निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

नयाँ दलका चुनाव चिन्हः जुत्तादेखि डोजरसम्म

नयाँ दलका चुनाव चिन्हः जुत्तादेखि डोजरसम्म

257
SHARES

काठमाडौँ – प्रतिनिधिसभा सदस्यका लागि फागुन २१ गते तय भएको निर्वाचनमा भाग लिने राजनीतिक दलहरूले थरीथरीका चुनाव चिन्ह माग गरेका छन्।

बिजुलीको चिमदेखि स्कुटर, जुत्ता, जाँतो, गुलाबको फुल, बाँसुरी, श्रीवस्त्र, चक्र, ध्वजा, फलेको केराको बोट, डोजर, सुनिरहेको कानसम्मका चिन्हहरू दलहरूले आयोगमा प्रस्ताव गरेका छन्।

निर्वाचन आयोगका अनुसार दल दर्ताका लागि प्रस्ताव गरी निवेदन पेस भएर दर्ता भएका २१ र निवेदन पेस भएका १६ दलहरूले मतदाता आकर्षित गर्न विभिन्न प्रकारका चुनाव चिन्ह माग गरेका छन्।

धरानका मेयर हर्कराज राई अध्यक्ष रहेको श्रम संस्कृति पार्टीले ‘अँजुलीमा रहेको माटो’ चिन्ह प्रस्ताव गरेको छ। गतिशील लोकतान्त्रिक पार्टीले ‘दिपज्योति’, नागरिक उन्मुक्ति पार्टी, नेपालले ‘जाँतो’, राष्ट्रिय परिवर्तन पार्टीले ‘बाँसुरी’, राष्ट्रिय जनमत पार्टीले ‘मुठी’ वा ‘डोजर’ चिन्ह माग गरेका छन्।

कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले ‘बलेको चिम’, नागरिक सेवा पार्टीले ‘स्कुटर’, प्रगतिशील नागरिक पार्टीले ‘बिरुवा’, नेपाल जनसेवा पार्टीले ‘जुत्ता’ चिन्ह प्रस्ताव गरेका छन्।

त्यसैगरी, राष्ट्रिय ऊर्जाशील पार्टी नेपालले ‘चापाकल’, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले ‘गुलाबको फुल’, नागरिक सर्वोच्चता पार्टीले ‘मुठीमा धानको बाला’, नेपाल लिबरल पार्टीले ‘सिक्का’ चिन्ह माग गरेका छन्।

सुन्दर नेपाल निर्माण पार्टीले ‘फलेको केराको बोट’ माग गरेको छ भने आवाज पार्टीले ‘सुनिरहेको कान’ प्रस्ताव गरेको छ। नुमा लिम्बू अध्यक्ष रहेको समावेशी समाजवादी पार्टीले ‘श्रीवस्त्र’ वा ‘चक्र’ वा ‘ध्वजा’ मध्ये कुनै एक चिन्ह दिन माग गरेको छ।

दलले मागेका ती चिन्ह उपलब्ध गराउने विषयमा निर्वाचन आयोगले छलफल अघि बढाएको छ। प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले मागेअनुसार नै चुनाव चिन्ह पाउने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए।

आयोगले जानकारी दिए अनुसार चुनावमा भाग लिनका लागि १ सय ९ दल दर्ता भएका छन्। आयोगले आइतबार १४ मंसिरसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय दिएको छ, यो दल दर्ता प्रमाणपत्र प्रदान गर्ने अन्तिम दिन हो। प्रतिनिधिसभा चुनावमा भाग लिनका लागि दर्ता कायम हुने दलहरूको सङ्ख्या १३९ पुगेको छ।

नयाँ दल दर्ताका लागि निवेदन दिएका ३७ मध्ये २१ दलले दर्ता प्रमाणपत्र प्राप्त गरिसकेका छन् भने १६ दल दर्ता प्रक्रियामा रहेका छन्।

फागुन २१ को निर्वाचन नजिकिँदै जाँदा राजावादी दल तथा समूहहरू हौसिएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)देखि दुर्गा प्रसाईँसम्म विभिन्न धारणासहित चुनावको पक्ष–विपक्षमा सक्रिय बनेका छन्।

प्रधानमन्त्री कार्कीले भनिन्,“मुलुकको वातावरण बिगार्न धेरै लागेका छन्। यिनलाई कारबाही नगर्ने हो भने यो देश कहिल्यै उँभो लाग्नेवाला छैन,”

राप्रपाका नेताहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजा, राजनीतिक दल र जेनजीबीच नयाँ समझदारी आवश्यक रहेको बताएका छन्। उनीहरूले बुझाएको पाँच बुँदे ज्ञापनपत्रमा फागुन २१ को निर्वाचनमा अन्तरजिल्ला तथा विदेशबाट मतदान गर्न पाउने व्यवस्था सुनिश्चित गर्न पनि आग्रह गरिएको छ।

प्रधानमन्त्री कार्कीले राप्रपा नेताहरूसँग मुलुकको वातावरण बिगार्नेलाई कारबाही नगरे देश उँभो नलाग्ने बताइन्। “मुलुकको वातावरण बिगार्न धेरै लागेका छन्। यिनलाई कारबाही नगर्ने हो भने यो देश कहिल्यै उँभो लाग्नेवाला छैन,” उनले भनिन्।

उनले दण्डहीनतालाई प्रश्रय दिए राम्रो नहुने बताउँदै यसपटक त्यस्तो नदोहोरिने स्पष्ट पारिन्। “निर्दोष बालबालिका सडकमा हिँड्दाहिँड्दै पनि मारिएका छन्। छानबिन आयोगको प्रतिवेदनमा जे सिफारिस आउँछ, त्यो कार्यान्वयन हुन्छ,” प्रधानमन्त्री कार्कीले भनिन्।

चुनावमा अनियन्त्रित खर्च नियन्त्रण गर्न सरकारले तयारी गरेको उल्लेख गर्दै उनले दलहरूलाई पनि स्वच्छ चुनावका लागि मितव्ययी ढङ्गले लाग्न आग्रह गरिन्।

समाचार शेयर गर्नुहोस्
257
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.