निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

अर्को जेनजी आन्दोलनको तयारी, कांग्रेस-एमालेको नेतृत्वमा जेनजी निषेध !

अर्को जेनजी आन्दोलनको तयारी, कांग्रेस-एमालेको नेतृत्वमा जेनजी निषेध !

115
SHARES

काठमाडौँ- जेनजी आन्दोलनको बलमा बनेको सरकारले ३ महिना पूरा गर्न लागेको छ। भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त सुशीला कार्कीले ‘मिसन फागुन २१’ अघि बढाएकी छन्।

चुनावमा भाग लिने दलहरूसँग उनी निरन्तर परामर्शमा जुटिरहेकी छन्। निर्वाचन आयोगमा दर्ता भएका दलका नेताहरूसँग पालैपालो छलफल गरेकी प्रधानमन्त्री कार्कीले २०७९ को चुनावमा पहिलो, दोस्रो र तेस्रो स्थान पाएका दलका शीर्ष नेताहरूसँग भने अझै छलफल गर्न सकेकी छैनन्।

राष्ट्रपति रामचन्द्र पौडेललाई साक्षी राखेर दोस्रो तहका नेताहरूसँग मात्र सरकारले छलफल अघि बढाएको छ। प्रतिनिधिसभाको निर्वाचन २१ फागुनमा हुँदैछ भने त्यसअघि माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन तोकिएको छ।

यसअघि पनि उनले सबै राजनीतिक दलहरूसँग दलगत रूपमा छलफल गरिसकेकी थिइन्। उनले आगामी निर्वाचनमार्फत सत्ता युवापुस्ताको हातमा हस्तान्तरण गर्ने इच्छा रहेको बताइरहेकी छन्।

तर, जेनजी सरकारको कुरा पत्याउने अवस्थामा छैन। सरकार ‘घुमिफिरी रुम्झाटार’ शैलीमा चल्न थालेपछि, दुई दिनमै डेढ लाख मानिस उतारेको दाबी गर्ने जेनजी समुदायले अब फेरि आन्दोलनको धम्की दिएको छ। पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार जेनजीकै घेराबन्दीमा परेको छ।

दुई दिनमै सत्ता उल्ट्याएको जेनजी आन्दोलन पुनः जुरमुराउने तयारीमा छ। डिस्कर्डमार्फत एक लाख पचास हजार मानिस उतारेको बताउने ‘हामी नेपाली अभियान’ का सुदन गुरुङले अर्को आन्दोलनको तयारी दुई महिनादेखि चलिरहेको खुलासा गरेका छन्। “अब जनता दलहरूको पेट्रोल र मासु–भातमा नबिक्ने,” उनले कटाक्ष गरेका छन्।

जेनजी आन्दोलन ८४ को चुनाव ८२ मा सार्नका लागि नभएको, भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने मागमा सरकार पूर्ण रूपमा विफल भएको उनीहरूको आरोप छ। सरकारले साना–ठुला जुनसुकै भ्रष्टाचारमा संलग्नलाई कारबाही गर्नुपर्ने मूल मागलाई बेवास्ता गरिरहेको उनीहरूको बुझाइ छ।

सुदन गुरुङका अनुसार ‘झुक्क्याएर’ गृहमन्त्री बनेका ओम प्रकाश अर्यालको काम शून्य छ। “उनले कि काम गर्नुपर्छ, कि कुर्सी छोड्नुपर्छ।” काम गर्नकै लागि मन्त्री बन्नु पर्ने अनुभूति गरेको उनले सुनाए। जेनजी आन्दोलनलाई नजरअन्दाज गर्नेहरूलाई ‘हिसाबमा फेल’ हुनेको संज्ञा समेत दिए।

भदौ २३ को जेनजी आन्दोलनमा नरसंहार नमच्चिएको भए २४ गतेको दुर्दशा देख्न नपर्ने जेनजी पुस्ताको तर्क छ। “तत्कालीन राज्य पक्षले भदौ २३ मा दमन नगरेको भए भदौ २४ आउँथ्यो?” गुरुङको प्रश्न छ। नेताहरुको हिसाब २४ अनि २३ छ,त्यही भएर उनीहरु हिसाबमा फेल भए।

गुरुङले रुपन्देही जिल्ला अदालतको आदेशमा जेल परेका रास्वपाका सभापति रवि लामिछानेलाई नख्खु कारागारमा भेटेपछि यो अभिव्यक्ति दिएका हुन्। उनले अदालतको आदेश मान्नै पर्ने बताए। लामिछानेले आफूमाथि अन्याय भएको गुनासो राखेपछि, त्यो गुनासो प्रधानमन्त्री सुशीला कार्कीसम्म पुर्‍याइने गुरुङले बताए।

सहकारी पीडितहरू काठमाडौँमा धर्नामा बसेका छन्। काठमाडौँ, रुपन्देही, पर्सा, चितवन र कास्कीका सहकारीबाट ठूलो रकम हिनामिना भएको आरोपमा रविसँगै पूर्व डिआइजी छविलाल जोशी जेलमै छन् भने जीवी राई फरार छन्।

लामिछाने आफैँ उपप्रधान तथा गृहमन्त्री हुँदा पनि राई पक्राउ परेनन्। अहिलेका गृहमन्त्री अर्यालले समेत राईलाई नेपाल ल्याउन सकिरहेका छैनन्।

सहकारी काण्डमा कांग्रेस, एमाले, तत्कालीन माओवादी केन्द्र, राप्रपा लगायतका नेताहरू पनि जेलमा छन्, तर आफू मात्र निर्दोष भएको दाबी अन्य प्रतिवादीको जस्तै बयान लामिछानेको छ। त्यही बयान लामिछानेले गुरुङसमक्ष दिए। भेटपछि गुरुङले सहकारी बचतकर्ताको रकम फिर्ता नै पहिलो प्राथमिकता हुनुपर्ने सुनाए।

जेनजी आन्दोलनका घाइतेहरूले पनि सरकारप्रति असन्तुष्टि व्यक्त गरेका छन्। जेनजी विद्रोहकै कारण प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार बने पनि, तीन महिना बित्नलाग्दा समेत आन्दोलनलाई वैधानिकता दिन नसकेकोमा निराश छन्।

प्रधानमन्त्री कार्कीमाथि पूर्ण विश्वास राखे पनि, आन्दोलनकारीहरू पुरानै नेताहरू दलभित्र बसेर देश लुट्ने पुरानै शैली पुनः दोहोरिन लागेको ठान्दै असन्तुष्ट छन्। अस्पतालमा उपचार गराउँदै आएका घाइते प्रकाश बोहरा सरकारको काम देखेर निराशा मात्रै बढेको बताउँछन्।

राजनीतिक दलभित्र दशकौँदेखि जरा गाडेर बसेका नेतृत्वहरूले फेरि सत्ताको खेती गर्दै देशलाई पुरानै व्यवस्था र भ्रष्टाचारतर्फ तान्न खोजिरहेको मूल्याङ्कन पनि उनीहरूको छ। पुराना दलका पुराना नेताहरू पार्टीभित्रै बसेर पुनः सत्ता कब्जा गर्ने कोसिसमा छन्।

उनीहरूकै हस्तक्षेपले नयाँ पुस्ताको नेतृत्व उदाउने बाटो थुनिएको छ। जेनजी पुस्तालाई कार्यकर्ता मात्रै बनाउने दाउमा पुराना दलका अक्षम नेताहरुनै नेतृत्वमा दाबी गर्न थालेका छन्। १० वर्ष सशस्त्र युद्धको नेतृत्व गरेका पुष्पकमल दाहाल प्रचण्डले नयाँ पार्टी गठन गरेर आफ्नो पदीय हैसियत जोगाउन सफल भएको सान देखाइरहेका छन्।

कांग्रेस र एमालेमा पनि युवा पुस्ताको नाममा कोही सच्चिने प्रतिबद्धता सहित त कोही जेनजी आन्दोलनलाई नै ‘हा हुँ’ को संज्ञा दिँदै नेतृत्व हत्याउने योजनामा लागेका छन्। जेनजी पुस्तालाई प्रभावहीन र शक्तिहीन बनाउने रणनीति चलिरहेको छ। सत्ताको स्वाद लिइसकेका कांग्रेस-एमालेका उही नेताहरू पार्टीको नेतृत्वमा हानथाप गरेर जेनजी पुस्तालाई निषेध गर्ने योजनामा लागेका छन्।

एमालेमा केपी ओली नै नेतृत्वमा आउने ओलीसँगै बालुवाटारबाट ज्यान जोगाउँदै भागेका एमाले उपमहासचिव विष्णु रिमालले बताएका छन्। महाधिवेशन सम्पन्न नहुँदै एमालेको अध्यक्षमा केपी ओली फाइनल भएको रिमालले बताए। ओलीको नेतृत्वमा टिम बन्ने उनले ठोकुवा गरे।

नेपाली कांग्रेसमा महामन्त्री गगन थापाले सभापतिको उम्मेदवारी घोषणा गरेर मिसन प्रधानमन्त्री अभियान सुरु गरेका छन्। पुसको अन्तिम साता हुने महाधिवेशनबाट पार्टीको नेतृत्वसँगै आगामी फागुन २१ गते हुने निर्वाचनपछि प्रधानमन्त्री बन्ने गरी थापाले अभियान थालेका छन्।

अर्का महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको निर्णय नै गरेर प्रधानमन्त्रीको रूपमा थापालाई अघि सार्ने तयारीमा रहेको बताएका छन्। संस्थापन पक्षका नेताहरू सभापति शेरबहादुर देउवाको आर्सीवाद नपाएसम्म नबोल्ने रणनीतिमा छन्।

तर विशेष महाधिवेशन पक्षधर नेपाली काँग्रेसका नेताहरूले पार्टी महाधिवेशनको कार्यतालिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन्। गुरु घिमिरे नेतृत्वको विशेष महाधिवेशन पक्षका नेताहरूले महाधिवेशनको मिति सार्ने नियतले कार्यसमितिको म्याद माघ मसान्तसम्म थपिएको बताएका छन्।

नेता जगदीश्वर नरसिंह केसीले सो कार्यतालिका कार्यान्वयन नहुने भएकाले आफूहरूले पुस २८ गतेभित्र विशेष महाधिवेशन गर्ने गरी तयारीको कामलाई अघि बढाउनुपर्ने बताए।

जेनजी आन्दोलनमा नरसंहार मच्चाउनेनै पार्टीको नेतृत्वमा आउने, नेतृत्व फेरिने नाममा ३/३ पटक सांसद, मन्त्री भएकाहरू नै नेतृत्वको दाबी गर्ने चक्र चलिरहँदा जेनजी आन्दोलनका मूल कार्यकर्ताहरूले दलहरूको नेतृत्व परिवर्तन क्षमतामा शङ्का राख्न थालेका छन्।

समाचार शेयर गर्नुहोस्
115
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.