काठमाडौं – जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको सर्वोच्च अदालतले सोमबारदेखि पूर्ण सेवा प्रदान गर्ने भएको छ। जेनजी आन्दोलनपछि ५ वटा इजलासमा सीमित हुँदै आएको सर्वोच्च अदालतले सोमबारदेखि थप ६ वटा इजलास थप गरेर पूर्ण सेवा दिन लागेको हो।
गत भदौ २४ को आगजनीपछि सीमित इजलासमा मुद्दाको पेसी तोकेर सुनुवाइ गर्दै आएको सर्वोच्चले अब थप ६ वटा इजलास सञ्चालनमा ल्याउने सहायक प्रवक्ता निराजन पाण्डेले जानकारी दिए। उनका अनुसार सोमबारदेखि अदालतका सबै इजलासहरू पूर्ण रूपमा सञ्चालनमा आउनेछन्।
जेनजी आन्दोलनपछि गत भदौ २४ गते सर्वोच्चमा आगजनी हुँदा इजलास गठनमै समस्या आउँदै आएको थियो। इजलास बस्ने पर्याप्त स्थल अभावका कारण हालसम्म सीमित मुद्दाको मात्रै पेसी तोकिएर सुनुवाइ हुँदै आएको थियो।
तर सोमबारदेखि सर्वोच्चको एनेक्स भवनबाट ५ वटा र नयाँ भवनबाट ६ वटा इजलास सञ्चालनमा आउनेछ। संवैधानिक इजलास पनि नयाँ भवनबाटै सुरु हुने सहायक प्रवक्ता पाण्डेले बताए।
हाल सर्वोच्च अदालतमा २१ न्यायाधीश भए पनि न्यायाधीशको दरबन्दी भए पनि हाल १९ जना छन्। जेनजी आन्दोलनका कारण पुगेको क्षतिका कारण सबै इजलास पूर्ण रूपमा सञ्चालन हुन सकेका छैनन्। अहिले अदालतले ५० प्रतिशत क्षमतामा मात्रै काम गर्दै आएको छ।
यसैबीच, सर्वोच्च अदालतमा नेपाली कांग्रेस पनि संसद् पुनर्स्थापनाका लागि रिट दर्ता गर्न पुगेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरे लगत्तै कांग्रेस पनि संसद् पुनर्स्थापनाको पक्षमा खुलेर उभिएको छ।
विघटित प्रतिनिधिसभामा कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेकै अग्रसरतामा कांग्रेसले वारेसमार्फत सर्वोच्चमा रिट पठाएको हो। प्रतिनिधिसभा पुनर्स्थापनाको माग राखेर घिमिरेसहित सुशीला थिङलगायतकाे हस्ताक्षरमा पूरक निवेदन पछि पठाउने गरी सर्वोच्च पुगेको प्रमुख सचेतक घिमिरेले जानकारी दिए।
तर सर्वोच्च अदालतले भने कागजात हेर्दा ती कांग्रेसका तर्फबाट भएको जस्तो नदेखिएको जनाएको छ। सर्वोच्च अदालतका सहायक प्रवक्ता निराजन पाण्डेले कांग्रेसका प्रतिनिधिहरू थप कागजातसहित आए मात्र पुष्टि हुने बताए। उनका अनुसार उक्त रिट हाल अध्ययनकै क्रममा छ।
यसअघि, संसद् पुनः स्थापनाको माग गर्दै गत मङ्सिर ९ गते एमालेले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो। एमालेले असंवैधानिक तरिकाले संसद् विघटन गरिएको भन्दै पुनर्स्थापनाको माग गर्दै आएको छ। देउवासँगको भेटमा ओलीले संसद् पुनर्स्थापना भए देउवा नै प्रधानमन्त्री बन्ने बताएका थिए।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.