निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

प्रधानमन्त्रीलाई देवी दुर्गाको मूर्ति दिँदै प्रसाईँले मागे माफी, बाहिर उठाए जनमत–संग्रहको प्रस्ताव

प्रधानमन्त्रीलाई देवी दुर्गाको मूर्ति दिँदै प्रसाईँले मागे माफी, बाहिर उठाए जनमत–संग्रहको प्रस्ताव

60
SHARES

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीसँग दुर्गा प्रसाईँले माफी मागेका छन्। आफूले बाहिर भनेका कुराबारे प्रधानमन्त्री कार्कीसमक्ष औपचारिक रूपमा माफी माग्दै प्रसाईँले भने, ‘मैले बाहिर भनेका कुरामा सरी भन्छु, माफी माग्छु। तपाईँ माता हो, दुर्गा हो। दुर्गाको रूप धारण गरेर काम गर्नुहोस्। तपाईँको साथमा हामी छौँ। यो सरकारको पक्षमा हामी हुन्छौँ। सगरमाथाजस्तै अटल भएर यो सरकारको पक्षमा उभिन्छौँ।’

प्रधानमन्त्री कार्कीलाई उपहारस्वरूप भगवती दुर्गाको मूर्ति प्रदान गरेका प्रसाईँले आफ्ना कुरा सुन्न तयार भएकोमा सरकारलाई धन्यवाद पनि दिए। आफ्ना माग पूरा भए देशभरि खुसीयाली छाउने र कोही पनि सडकमा आउन नपर्ने दाबी प्रसाईँले गरेका प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री कार्कीले प्रसाईँले उठाएका कतिपय माग जेनजी आन्दोलनका क्रममा उठेकै माग भएकाले तिनको सम्बोधन गर्नु आफ्नो दायित्व भएको बताइन्। तर ऋण मिनाहा गर्ने विषय राज्यले कसरी थेग्न सक्छ भनेर हेर्नुपर्ने औँल्याउँदै त्यसबारे अध्ययन आवश्यक रहेको प्रधानमन्त्रीले जवाफ दिइन।

प्रधानमन्त्रीसँग माफी मागेका प्रसाईँले पत्रकारहरूसँग भने राज्यले सम्बोधन गर्न नसक्ने माग राखेको दाबी गरे। उनले व्यवस्था परिवर्तनका लागि जनमत सङ्ग्रहको माग राखे, जसले सरकारलाई सकस पर्ने देखिएको छ।

प्रसाईँका अनुसार सङ्घीयता, धर्मनिरपेक्षता र राजतन्त्र पुनः स्थापनासम्बन्धी जनमत सङ्ग्रह गराउनुपर्ने प्रस्तावलाई सरकारले औपचारिक रूपमा स्वीकार गरेको छ।

प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालसँग वार्ता गर्दै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईँले व्यवस्था परिवर्तनका लागि जनमत सङ्ग्रह गर्नुपर्ने माग राखेको बताए। २७ बुँदे मागसहित ‘दुर्गामाता’ को मूर्ति प्रदान गर्दै वार्ता गरेका प्रसाईँले फागुन २१ को चुनावका लागि समय नपुग्ने बताए।

प्रसाईँका अनुसार चुनाव हुने आशै नराख्न भनिएको छ। आफूले राखेका मागहरू कम्युनिस्टले बोक्ने भएको उल्लेख गर्दै प्रसाईँले भने, ‘कम्युनिस्टले यिनै मागहरूलाई भर्‍याङ बनाए, यिनै गरिबहरूको लासमा टेकेर आज अर्बौँ, अर्बौँ रुपैयाँ कमाए। डेढ–डेढ करोडसम्मका रक्सी खाँदा रहेछन् कम्युनिस्टका नेताहरू।’ प्रसाईँले प्रधानमन्त्रीसमक्ष ‘यस्तो गज्याङगुजुङ कुरा गर्न पाइँदैन’ भनेको पनि सुनाए।

प्रधानमन्त्री कार्कीले आफू सकारात्मक रहेको जनाउँदै पुस २ गते निर्णय दिने बताइन। ‘तपाईँले भनेजस्तै डिसिजन दिन्छौँ’ भन्ने प्रधानमन्त्रीको जवाफ उल्लेख गर्दै प्रसाईँले २०६२/६३ को जनआन्दोलनको माग सङ्घीयता, धर्मनिरपेक्षता ल्याउने वा राजसंस्था फ्याँक्ने नभएको टिप्पणी पनि गरे। चुनावका लागि समय चाहिने भन्दै अब सबै विषयमा जनमत सङ्ग्रह हुनुपर्ने माग प्रसाईँले दोहोर्‍याए।

फागुन २१ गतेका लागि तोकिएको चुनाव सम्पन्न गर्न मतदाता नामावली सङ्कलनदेखि दल दर्तासम्मका काम पूरा भइसकेको छ। समानुपातिक निर्वाचनमा भाग लिन निवेदन दिने मिति मङ्गलवार सकिँदैछ।

प्रधानमन्त्रीको निम्तोमा सिंहदरबार पुगेका प्रसाईँले प्रतिनिधिसभाको चुनावसँगै एउटै मितिमा छुट्टै ढ्वाङ राखेर जनमत सङ्ग्रह गर्न सकिने उपाय पनि सुझाएको बताए।

प्रसाईँले आफ्ना माग पूरा नभए जनविद्रोह हुने चेतावनी दिएका छन्। माग पूरा गर्न उनले पुस २ गतेसम्मको अल्टिमेटम दिएका छन्।

प्रसाईँ समूहले सरकारसमक्ष पेस गरेको २७ बुँदे मागपत्रमा नेपालको वर्तमान संविधानलाई पूर्ण रूपमा खारेज गरी नयाँ संविधान निर्माण गर्ने, राष्ट्रपतिको सट्टा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख प्रणाली लागू गर्ने, राजसंस्था र हिन्दु राज्यसहितका मागहरू समावेश गरिएका छन्।

समाचार शेयर गर्नुहोस्
60
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.