निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

कांग्रेस-एमाले एकै कित्तामा, संसद् विघटनविरुद्धको रिट दर्ता

कांग्रेस-एमाले एकै कित्तामा, संसद् विघटनविरुद्धको रिट दर्ता

रिटको पेशी पुस २ गते

290
SHARES

काठमाडौँ – अन्ततः नेपाली कांग्रेस जेनजी आन्दोलन अघिकै अवस्था ब्युँताउन लागेको छ। प्रतिनिधिसभा पुनःस्थापनाको रिट लिएर कांग्रेस सर्वोच्च अदालत पुगेको छ।

सोमबार धरौटी रकम जम्मा नगराउँदा तामेलीमा रहेको कांग्रेसको रिट मङ्गलवार मात्रै दर्ता भएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ। जेनजी विद्रोहपछि उत्पन्न राजनीतिक सङ्कटको समाधान निर्वाचनमार्फत खोज्ने निर्णय गरिसकेको नेपाली कांग्रेस अहिले संसद् विघटनविरुद्ध सर्वोच्चमा रिट दायर गरेर एमालेकै पथमा लागेको छ।

चुनावका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको कांग्रेस सर्वोच्च गएपछि राजनीतिक विश्वसनीयतामाथि नै प्रश्न खडा गरेको छ।

पार्टीको आधिकारिक निर्णय बिना नै कांग्रेसका ७ निवर्तमान सांसदको तर्फबाट पूर्व महान्यायाधिवक्ता खम्बबहादुर खातीले आइतबार सर्वोच्चमा रिट पेस गरेका थिए।

कांग्रेसले दायर गरेको रिटमा मुख्य गरी प्रतिनिधिसभा विघटन र सरकार गठनलाई मुख्य विषय बनाएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले जानकारी दिए।

कांग्रेसले पेश गरेको रिट निवेदन ३ दिनपछि मङ्गलवार दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले जानकारी दिए। रिटको पेशी पुस २ गतेका लागि तोकिएको छ।

कांग्रेसका तर्फबाट आशा विक, दीपक खड्का, सीताकुमारी राना, नागिना यादव, शान्ति विक र श्रवणकुमार श्रेष्ठ सहित ७ जना सर्वोच्च पुगेका थिए।

नेकपा एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको भेटपछि कांग्रेसका सांसदहरूले रिट दायर गरेका हुन्।

रिट दायरसँगै कांग्रेसको भूमिकामाथि प्रश्न उठ्न थालेको छ। जसका कारण कांग्रेस ‘ओलीको इसारामा चलेको’ भन्दै राजनीतिक वृत्तमा चर्चा चुलिएको छ। तर कांग्रेस नेताहरूले भने यस आरोप अस्वीकार गरेका छन्।

यसअघि नेकपा एमालेले पनि प्रतिनिधिसभा विघटनविरुद्धको रिट सर्वोच्चमा दर्ता गरेको थियो। आगामी निर्वाचन नजिकिँदै जाँदा दुई ठूला दल एमाले र कांग्रेस एकै कित्तामा उभिएका छन्।

समाचार शेयर गर्नुहोस्
290
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.