काठमाडौँ – जेनजी जनआन्दोलनपछि नेतृत्व परिवर्तनको दबाबमा परेका राजनीतिक दलहरू महाधिवेशन गराउँदैछन्। प्रधानमन्त्री पदबाट राजीनामा बुझाएर ज्यान जोगाउँदै भाग्नु परेको तितो यथार्थकाबीच केपी शर्मा ओली पार्टीको ११ औँ महाधिवेशनबाट पुनः अध्यक्षमा निर्वाचित हुने वैधानिक प्रक्रिया कुरिरहेका छन्।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कम्युनिस्ट पार्टी गठन गरेर आफैँ संयोजक बनेका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापतिलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन्।
कांग्रेसले एमालेको महाधिवेशन सकिएको एक महिनापछि नयाँ नेतृत्व चयन गर्ने तालिका सार्वजनिक गरिसकेको छ। जेनजी आन्दोलनले विश्राम गर्न ओली, प्रचण्ड र देउवालाई स्पष्ट सङ्केत दिएको विश्लेषण भइरहेका छन्।
तर जेनजी आन्दोलनको भावना विपरीत पुराना दलहरूमा उही नेतृत्व कायम रहने प्रक्रिया चलिरहेको छ। नेकपा माओवादी केन्द्र खारेज गरेका प्रचण्ड घुमिफिरी रुम्जाटार भनेझैँ एकीकरण भएको पार्टीकै संयोजक बनेका छन्। प्रचण्ड मुखले जेनजी भनिरहे पनि व्यवहारमा देखाउन सकिरहेका छैनन्। उनमा शक्तिको लोभ अझै कायम रहेको टिप्पणी भइरहेको छ।
त्यस्तै शक्तिको दम्भ एमाले अध्यक्ष ओलीले पनि प्रदर्शन गरेका छन्। नेपालको असफल प्रधानमन्त्रीको उपमा पाएका ओलीले प्रचण्डकै जस्तो पार्टीको कमान्ड सुम्पने पात्र भेटेका छैनन्। प्रचण्ड जस्तै ‘वन म्यान आर्मी’ बनेका छन् ओली एमालेमा।

उनले ११ औँ विधान महाधिवेशनका निर्णय उल्ट्याएका छन्। आफूसँग अध्यक्षमा प्रतिस्पर्धा गर्न तम्सिएपछि ईश्वर पोखरेल वरिष्ठ उपाध्यक्ष रहेको पद नै खारेज गराएका छन्। सर्वसम्मत अध्यक्ष चुनिने सम्भावना नदेखिएपछि ओली चुनाव फेस गर्ने अवस्थामा पुगेका छन्। ओलीले अध्यक्ष पद नछोड्ने निधो गरिसकेका छन्।
यही कारण नेकपा एमालेको एघारौँ महाधिवेशन एक दिन लम्बिने भएको छ। भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको महाधिवेशन सोमबार सक्ने तयारी थियो। भृकुटीमण्डपमा आइतबार सुरु भएको बन्दसत्रमा नेतृत्वका लागि सर्वसम्मतिको सम्भावना नभएपछि एक दिन थपेर निर्वाचन गराउने तालिका नै सार्वजनिक गरिएको छ।
केन्द्रीय निर्वाचन आयोगले आइतबार बेलुकी सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार सोमबार बिहान ७ बजेदेखि निर्वाचन कार्यक्रम सुरु हुनेछ।
मतदाता नामावली प्रकाशन गरेर बिहान ८ बजेदेखि ९ बजेसम्म मतदाता नामावलीमा दाबी–विरोध, साढे ९ बजे दाबी–विरोधको सूचना प्रकाशन, १० बजे दाबी–विरोधमाथि छानबिन र सवा १० बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिने कार्यतालिकामा उल्लेख छ।
दिउँसो ३ बजेदेखि ५ बजेसम्म उम्मेदवारको नाम फिर्ता गर्ने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ। पुस १ गते बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुने कार्यतालिका तय भएको छ।

चुनावका लागि विद्युतीय भोटिङको तयारी गरिएको छ। बन्दसत्र सुरु हुनुअघि बिहान भृकुटीमण्डपमै एमालेको केन्द्रीय कमिटीको बैठक बसेको थियो। सो बैठकले २०७८ मङ्सिरमा चितवनमा सम्पन्न दशौँ महाधिवेशनबाट पारित व्यवस्थालाई नै ब्युँताएको छ।
एमालेको दशौँ महाधिवेशनबाट केपी शर्मा ओली अध्यक्षमा निर्वाचित भएका थिए। सो महाधिवेशनले नेतृत्व चयन र पार्टी संरचनासम्बन्धी व्यवस्था पारित गरेको थियो, जसलाई अहिलेको एघारौँ महाधिवेशनको बन्दसत्र अघि बसेको केन्द्रीय कमिटी बैठकले पुनः लागू गरेको हो।
तीन महिनाअघि विधान महाधिवेशनले गरेको निर्णय अहिलेको महाधिवेशनले उल्ट्याएको र बन्दसत्रले अनुमोदन गरेको सचिव पद्मा अर्यालले जानकारी दिइन।
अब अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ जना रहनेछन्। यसअघि सचिवको सङ्ख्या ७ थियो। स्थायी कमिटी (पोलिटब्युरोको एक तिहाइ) र ९९ सदस्यीय पोलिटब्युरो रहनेछ। पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय समितिको निर्वाचनको विधि टुङ्ग्याइसकिएको उनले बताइन।
विधान महाधिवेशनलाई अर्थहीन बनाउने गरी आएको यो नयाँ प्रस्तावप्रति इतर समूहका नेताहरूले विरोध जनाएका छन्। वरिष्ठ उपाध्यक्ष पद खारेज गरेको एमालेले केन्द्रीय कमिटीमा ४० वर्षमुनिका ५ प्रतिशत युवा समेटिने बताएको छ।
उपत्यकासहित सबै प्रदेशबाट एक–एक जना गरी ९ जना, खुला कोटाबाट २ जना, जनजाति आदिवासीतर्फ २ जना, मधेशीतर्फ २ जना र दलिततर्फ १ जना युवा प्रतिनिधि आउनेछन्। यसरी ३०१ सदस्यीय केन्द्रीय समितिमा १५ जना युवा रहनेछन्।
केन्द्रीय कमिटीमा १० देखि १५ प्रतिशतसम्म युवाको सहभागिता सुनिश्चित गर्नुपर्ने माग उठ्दै आएको थियो। गत शुक्रवार बसेको सचिवालय बैठकमा एमालेका सचिव योगेश भट्टराईले केन्द्रीय कमिटीमा १५ प्रतिशत युवा कोटा छुट्याउनुपर्ने प्रस्ताव गरेका थिए।
एमालेमा नेतृत्व परिवर्तनको विषय निकै पेचिलो बनेको छ। अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ। पोखरेललाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समर्थन गरेकी छन्।
अध्यक्ष पद ओलीले नछोड्ने निधो गरेपछि इतर समूह थप दबाबमा परेको छ। बन्दसत्रको हलमा ओलीले अहिलेको समय, परिस्थिति र अवस्थामा आफ्नो विकल्प नभएको बताउँदा अध्यक्षका अर्का प्रत्याशी पोखरेलले ओलीलाई नेतृत्वबाट बिदा हुन सुझाव दिए।
पार्टी जीवनको लोकतान्त्रिकरण गर्ने ओलीकै अघिल्ला महाधिवेशनका प्रस्तावका आधारमा आफू अहिलेको महाधिवेशनमा उभिएको भन्दै पोखरेलले आफ्नो अवधारणा प्रस्तुत गरे। उनले पूर्वराष्ट्रपति एवं पार्टी पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीलाई आउन नदिनु गलत भएको पनि बताए।
पोखरेल पक्षमै उभिएका दुई उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले सक्रिय राजनीतिबाट संन्यासको घोषणा गरेका छन्। स्थायी कमिटी सदस्यसमेत रहेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले एमालेमा प्रतिस्पर्धा गर्नेलाई भीम रावल बनाइन्छ भन्ने गलत भाष्य निर्माण गरिएको भन्दै आपत्ति जनाए।
महाधिवेशन प्रतिनिधिहरूले जेनजी आन्दोलनपछि एमालेलाई लोकप्रिय बनाउने र पार्टीको औचित्य पुष्टि गर्न नयाँ नेतृत्वसहित जनतामा जानु अहिलेको एमालेको आवश्यकता रहेको बताएका छन्। तर पार्टी कार्यकर्ताबाट ओलीकै नेतृत्व अनुमोदन गर्ने गरी माहौल बनेको देखिएको छ।
दाङबाट आएकी खेलकुद महासङ्घकी स्थायी कमिटी सदस्य कल्पना आचार्यले ओलीले नै देश र पार्टीको नेतृत्व गर्न सक्ने बताइन्।
दैलेखबाट एमाले महाधिवेशन प्रतिनिधिका रूपमा काठमाडौँ आएका रुद्र शाहीले एमालेले ओलीलाई नेतृत्वमा ‘रिन्यु’ गरेर चुनावमा जानका लागि नै महाधिवेशन गरेको बताए।
सिराहाको नरहा गाउँपालिकाबाट एमाले महाधिवेशन प्रतिनिधि बनेकी श्रीमतीका कारण सँगै आएका एक शिक्षकले नेता बन्ने तर देश नबन्ने अवस्था कायमै रहेको सुनाए।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.