ह्यारिसबर्ग – भुटानका जेलमा रहेका राजनीतिक बन्दीहरूको रिहाइका लागि अन्तर्राष्ट्रिय वकालत गर्दै आएका मानवअधिकार अभियन्ता राम कार्की अमेरिकामा सम्मानित भएका छन्। कार्की सन् २०२५ को डिस्का कम्युनिटी कराते अवार्डबाट सम्मानित भएका हुन्।
ड्रुक इन्टरनेशनल शितो रियो कराते डो एसोसिएसन (डिस्का) ले हरेक वर्ष प्रदान गर्दै आएको प्रतिष्ठित डिस्का अवार्ड तीन दशकभन्दा बढी समयदेखि भुटानी शरणार्थी तथा राजनीतिक बन्दीहरूको अधिकारका पक्षमा निरन्तर र साहसी रूपमा वकालत गर्दै आएको योगदानको कदर गर्दै कार्कीलाई प्रदान गरिएको हो।
कार्कीलाई भुटानमा भइरहेको मानवअधिकार उल्लङ्घनबारे अन्तर्राष्ट्रिय स्तरमा चेतना फैलाउने, नेपालको झापाको मैधरामा पहिलो भुटानी शरणार्थी शिविर स्थापना गर्न सहयोग गर्ने, १९९० को दशकको सुरुवातमा जबरजस्ती निष्कासन गरिएका पीडितहरूलाई साथ दिने, तथा आजसम्म पनि भुटानी राजनीतिक बन्दीहरूको निःशर्त रिहाइको मागसहित अन्तर्राष्ट्रिय अभियान सञ्चालन गर्दै आएको भूमिकाको विशेष प्रशंसा गरिएको छ।
भुटानी राजबन्दी रिहाइका लागि अन्तर्राष्ट्रिय अभियानका संयोजकसमेत रहेका कार्कीलाई समारोहमा ‘साहस, करुणा र सत्यको प्रकाशस्तम्भ’का रूपमा वर्णन गरिएको थियो, जसको निरन्तर प्रयासले समुदायलाई प्रेरणा दिएको र आवाजविहीनहरूलाई आशा दिलाएको उल्लेख गरिएको छ।

हाल नेदरल्याण्ड्समा बसोबास गर्दै आएका कार्कीले अमेरिकाको ह्यारिसबर्गमा आयोजना हुने सम्मान समारोहमा स्वयं उपस्थित हुने योजना बनाएका थिए। तर अन्तिम समयमा उत्पन्न आपत्कालीन परिस्थितिका कारण उनी यात्रा गर्न असमर्थ बने।
समारोहमा सहभागी हुनुपर्ने ठिक त्यही समयमा कार्कीका ९२ वर्षीय बुबा खड्गबहादुर कार्कीको भुटानस्थित आफ्नै निवासमा निधन भएको थियो। भुटानी निरङ्कुश शासनका कारण नेदरल्याण्ड्समा रहेका कार्की बुबाको निधनपछि काजकिरिया गर्न समेत आफ्नै देश भुटान जान नपाउने अवस्थामा परे, जसले भुटानी शासकहरूको निर्दयता र राजनीतिक बन्दी तथा अभियन्तामाथिको कठोर व्यवहारलाई अझ स्पष्ट पारेको छ।
बुबाको निधनका कारण गहिरो शोकमा रहेका कार्कीको लिखित सन्देश सम्मान समारोहमा डिस्काका अध्यक्ष डा. हेमन्त घिसिङले पढेर सुनाएका थिए। सन्देशमा कार्कीले यो पुरस्कार रबुना, चामगाङ र समद्रुप जोङखारका कारागारमा अझै पनि थुनामा रहेका भुटानी राजनीतिक बन्दीहरू र उनीहरूको पीडामा बाँधिएका परिवारहरूलाई समर्पित गरेका छन्।
कार्कीले सन् २०१९ मा भुटानी राजनीतिक बन्दीहरूका तर्फबाट प्राप्त भएको एक हस्तलिखित पत्र स्मरण गर्दै, त्यस पत्रमा बन्दीहरूले आफूहरूको शीघ्र रिहाइका लागि अन्तर्राष्ट्रिय वकालत जारी राख्न आग्रह र अनुरोध गरेको उल्लेख गरेका छन्। उनले त्यस क्षणलाई ‘मौन आवाजहरू’का लागि बोलिरहने आफ्नो आजीवन प्रतिबद्धतालाई थप दृढ बनाउने मोडका रूपमा वर्णन गरेका छन्।
कार्कीका अनुसार यो सम्मान केवल व्यक्तिगत मान्यता मात्र होइन, न्याय, स्वतन्त्रता र मानवअधिकारका लागि दबाब निरन्तर जारी राख्न गरिएको नयाँ आह्वानसमेत हो।
संयुक्त राज्य अमेरिकामा आधारित ड्रुक इन्टरनेशनल शितो रियो कराते डो एसोसिएसन (डिस्का) ले मार्सल आर्टमार्फत अनुशासन, अखण्डता र मानवीय मूल्यमान्यताहरूको प्रवर्द्धन गर्दै आएको जनाएको छ। संस्थाले हरेक वर्ष साहस, करुणा, सत्य र मानवताको सेवामा उल्लेखनीय योगदान दिने व्यक्तित्वहरूलाई सम्मान गर्दै आएको बताएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.