निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

देउवाले दोस्रो पटक पार्टी नफुटाउने गगनको विश्वास

देउवाले दोस्रो पटक पार्टी नफुटाउने गगनको विश्वास

महाधिवेशनको मिति सार्ने निर्णय

229
SHARES

काठमाडौं – नेपाली कांग्रेसले ‘रकेट स्पिड’मा सम्पन्न गर्ने भनिएको १५औँ महाधिवेशनको मिति अन्ततः लम्ब्याउने निर्णय गरेको छ। पुस २७ देखि २९ गतेसम्म तय गरिएको महाधिवेशन कार्यतालिका सार्दै कांग्रेसले अब २०८३ वैशाख २८, २९, ३० र ३१ गते काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको हो।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नियमित महाधिवेशनको मितिमै विशेष महाधिवेशन गर्ने महामन्त्री गगनकुमार थापाको प्रस्ताव अस्वीकृत गरेको छ। बैठकपछि महामन्त्री थापाले सभापति शेरबहादुर देउवाले बहुमतको बलमा पार्टी विधानको धारा १७ विपरीत निर्णय गराएको आरोप लगाए।

महामन्त्री थापाका अनुसार ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको आवाज थुन्ने गरी सभापति देउवाले महाधिवेशनको मिति सार्ने निर्णय गराएका हुन्, जुन निर्णय पार्टी विधान विपरीत छ।

उनले एक–दुई दिनमा विधान विपरीतको निर्णय सच्याइने विश्वास समेत व्यक्त गरे। थापाले दोस्रो पटक पार्टी फुटाउने गरी सभापति देउवाले पार्टीको विधान नमिच्ने आशा पनि व्यक्त गरे।

महामन्त्री थापाले क्रियाशील सदस्यताका विषयमा पार्टी प्रवक्ता डा. प्रकाशशरण महतलाई पाँच पटक पढाएको बताए। तर, प्रवक्ता महत भने सिरियल नम्बर नभएको सदस्यता फारमको विषय उठाइरहेको थापाको आरोप छ।

बैठकमा महामन्त्री थापाले पढाउँदा बुझेजस्तो गर्ने तर बैठकपछि मिडियामा त्यही सिरियल नम्बर नभएको क्रियाशील सदस्यताको कुरा निकाल्ने गरिएको थापाको भनाइ छ। कांग्रेस प्रवक्ता महतमाथि महामन्त्री गगनले बैठकमा पढाउँदै गर्दा चुप लागेर बस्ने तर बैठकपछि धेरै बकबक गर्नुहुँदैन भनेका छन्।

यसअघि कांग्रेसले २०८२ मंसिर १५ गते केन्द्रीय कार्यसमितिको बैठकबाट पुस २७ देखि २९ गतेसम्म १५औँ महाधिवेशन गर्ने निर्णय गरेको थियो। सो प्रस्ताव महामन्त्री थापाले जेनजी आन्दोलनपछि गत असोजमा केन्द्रीय समितिमा पेस गरेका थिए। ढिलो गरी गरिएको निर्णयलाई पुसबाट वैशाखमा सार्नुको कारण क्रियाशील सदस्यतालाई बनाइएको छ।

कांग्रेस विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्न सक्ने व्यवस्था छ। अहिले भने ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन आह्वान गर्न हस्ताक्षर बुझाइसकेका छन्।

पार्टी विधानको धारा १७ अनुसार निवेदन परेको तीन महिनाभित्र विशेष केन्द्रीय महाधिवेशन गर्नुपर्ने व्यवस्था छ। विशेष महाधिवेशन माग गरिएको तीन महिना पुस २८ र २९ गते पूरा हुन्छ। तर, केन्द्रीय कार्यसम्पादन समितिले महाधिवेशन वैशाखमा सार्ने निर्णय गरेको हो।

महाधिवेशनको मिति वैशाखमा सार्नु मात्र होइन, कांग्रेसले वर्तमान कार्यसमितिको अवधि पनि २०८३ जेठ मसान्तसम्म कायम रहने निर्णय गरेको छ। यो निर्णय सर्वसम्मत हुन सकेन र निर्णयमा फरक मत समेत दर्ज गरिएको छ।

पार्टी प्रवक्ताले वैशाखमा महाधिवेशन हुने बताए पनि महामन्त्री थापाले विशेष महाधिवेशनका लागि प्रतिनिधिहरूलाई काठमाडौं बोलाएका छन्। केन्द्रीय कार्यसमितिले निर्णय नगरे केन्द्रीय कार्यालयबाट महाधिवेशन प्रतिनिधिहरूलाई एक–दुई दिनमै पत्र जाने थापाले बताए।

पार्टी विधान उल्लङ्घन गरेको आरोप खेपिरहेका सभापति देउवामाथि भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबाट भएको क्षति भुलेको आरोप समेत लागेको छ। नियमित महाधिवेशनको चक्करमा नलाग्न महामन्त्री थापाले नेतृत्वलाई सुझाव दिँदै आएका छन्।

थापाले देशभरका कांग्रेस महाधिवेशन प्रतिनिधिलाई काठमाडौं आउने तयारी गर्न निर्देशन दिएका छन्। उनले जस्तोसुकै अवस्थामा पनि पार्टी नफुट्ने दाबी गर्दै ‘दोस्रो पटक पार्टी फुटाएको कालो टीका लगाउने कि विशेष महाधिवेशन बोलाउने ?’ भन्दै सभापति देउवालाई खुला चुनौती दिएका छन्।

विशेष महाधिवेशनको औचित्य स्वतः समाप्त

नेपाली कांग्रेसले बैठकपछि जारी गरेको निर्णयमा २०८२ मंसिर १५ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले १५औँ महाधिवेशनको कार्यतालिका सर्वसम्मत रूपमा निर्धारण गरी पार्टी विधानअनुसार प्रक्रिया अघि बढिसकेको उल्लेख गरिएको छ।

नियमित १५औँ महाधिवेशनको प्रक्रिया अघि बढिसकेको अवस्थामा विधानबमोजिम समयमै नियमित १५औँ महाधिवेशन वा सोही अवधिमा गर्न माग गरिएको विशेष महाधिवेशनको औचित्य मंसिर १५ गतेदेखि स्वतः समाप्त भएको स्पष्ट गरिएको छ।

विज्ञप्तिमा महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणलाई अनिवार्य पहिलो तयारी मानिएको छ। क्रियाशील सदस्य नै वडा अधिवेशनका पहिलो मतदाता हुने भएकाले वडा अधिवेशनअघि सदस्यता टुङ्गो लाग्नुपर्ने उल्लेख छ। नयाँ तथा नवीकरण गरिएको क्रियाशील सदस्यताको सूची समयमै केन्द्रमा नपुगेको अवस्था औँल्याइएको छ।

त्यस्तै, २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुन दल दर्ता, समानुपातिक बन्दसूचीसहित मनोनयन दर्ता भइसकेकाले पार्टीका सबै संरचनाको ध्यान अहिले निर्वाचन केन्द्रित हुनुपर्ने अवस्था रहेको उल्लेख गरिएको छ।

विज्ञप्ति अनुसार १५औँ महाधिवेशनको सम्पूर्ण तहको कार्यतालिका संशोधन गर्दै २०८३ वैशाख २८, २९, ३० र ३१ गते काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरिएको छ। सो निर्णयअनुसार नयाँ क्रियाशील सदस्यता, नवीकरण, नेपाली जनसम्पर्क समिति, वडा, पालिका, क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय महाधिवेशनको विस्तृत कार्यतालिका सार्वजनिक गरिएको छ।

विज्ञप्तिमा सदस्यता व्यवस्थापन केन्द्रीय समिति, क्रियाशील सदस्यता केन्द्रीय छानबिन समिति र केन्द्रीय निर्वाचन समितिको भूमिका, जिम्मेवारी र कार्यप्रक्रिया पनि स्पष्ट गरिएको छ।

विशेष परिस्थितिलाई ध्यानमा राख्दै नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ४३ बमोजिम पार्टीका सबै तह र निकायका पदाधिकारी तथा सदस्यहरूको पदावधि २०८३ जेठ मसान्तसम्म थप गरिएको निर्णय पनि सार्वजनिक गरिएको छ।

बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री फरमूल्लाह मन्सुर, उमाकान्त चौधरी, जीवन परियार तथा केन्द्रीय सदस्यहरू कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह के.सी., उमा रेग्मी, जीपछिरिङ लामा र सुजाता कोइरालाले आ–आफ्ना धारणा राखेका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा उल्लेख छ।

विवरण समय तालिका

(१) एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लामा वितरण भएको नयाँ क्रियाशील सदस्यताको सूची जिल्ला कार्यसमितिले प्रकाशित गरी केन्द्रमा पठाउने अवधि— २०८२ माघ ३ गते भित्र

(२) दुई वा दुई भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा वितरण भएको नयाँ क्रियाशील सदस्यताको सूची प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले प्रकाशित गरी जिल्ला कार्यसमितिमा र केन्द्रमा पठाउने अवधि— २०८२ माघ १० गते भित्र

(विगतमा विभिन्न कारणले पार्टी परित्याग गरेर स्वतन्त्र बनेका वा अन्य पार्टीमा गएर उम्मेदवार, प्रस्तावक वा प्रचारक बनेका साथीहरूलाई पार्टीमा फर्कनका लागि पार्टीले आह्वान गरेको र त्यसरी फर्किने साथीहरूलाई क्रियाशील सदस्यता प्रदान गरी सो को सूची समेत समावेश गरी पठाउनु पर्नेछ)

(२) नयाँ क्रियाशील सदस्यता वितरण सम्बन्धमा जिल्ला स्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिमा परेका उजुरी उपर छानबिन गरी निर्णय गर्ने र निर्णय अनुसारको सूची प्रकाशित गरी केन्द्रमा पठाउनु पर्ने अवधि— २०८२ माघ २० गते भित्र

(३) क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिले गरेको निर्णय उपर परेको पुनरावेदन र क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिमा क्रियाशील सदस्यता नयाँ र नवीकरण सम्बन्धी परेका उजुरी उपर अन्तिम निर्णय गरी क्रियाशील सदस्यताको नयाँ र नवीकरणको अन्तिम सूची तयार गरी केन्द्रीय सभापति/कार्यवाहक सभापतिलाई बुझाउने अवधि— २०८२ फागुन ५ गते भित्र

(४) पार्टीका केन्द्रीय सभापति/कार्यवाहक सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि – २०८२ फागुन १० गतेभित्र

(ख) नवीकरण सदस्यता सम्बन्धमा :

(१) क्रियाशील सदस्यता नवीकरणको अन्तिम नामावली, जिल्ला कार्यसमितिको बैठकको निर्णय र रकम पठाउने अन्तिम अवधि— २०८२ माघ ३ गते भित्र

(विगतको निर्वाचनमा पार्टीको उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध उम्मेदवार भएका, तिनका प्रस्तावक र समर्थक वा असहयोग गरी अनुशासन विपरीतका काम गरेकाहरूलाई केन्द्रीय अनुशासन समितिले गरेको निष्कासन, निलम्बन र पार्टीको विधान अनुसार स्वतः कारबाहीमा परेकाहरूको बाँकी अवधि माफी/मिनाहा भएको र यसरी कारबाही माफी/मिनाहा भएका व्यक्तिहरूको पार्टीको बहाल रहेको पद नरहने गरी क्रियाशील सदस्यतालाई निरन्तरता कायम गरी क्रियाशील सदस्यता नवीकरण गर्ने निर्णय भएकोले सो अनुसार नवीकरण गर्ने)

(ग) अधिवेशन गर्न बाँकी रहेका नेपाली जनसम्पर्क समितिका सम्बन्धमा :

(१) क्रियाशील सदस्यता नयाँ र नवीकरणको नामावली केन्द्रमा पठाउने अवधि २०८२ माघ ७ गते भित्र

(२) केन्द्रबाट उक्त नामावली स्वीकृत गर्ने अवधि २०८२ माघ १५ गते भित्र

(३) अधिवेशन २०८२ माघ २९ गतेभित्र

(घ) केन्द्रीय महाधिवेशन र मातहतका निकायको अधिवेशनको कार्यतालिका

अधिवेशन : मिति

(क) गाउँ/नगर वडा अधिवेशन– २०८२ चैत्र २१ गते

(ख) गाउँ/नगरपालिका अधिवेशन– २०८२ चैत्र २५ गते

(ग) प्रदेश सभा क्षेत्रीय अधिवेशन – २०८२ चैत्र २८ गते

(घ) प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन – २०८३ वैशाख २ गते

(ङ) दुई वा दुई भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन – २०८३ वैशाख ५ गते

(च) प्रदेश अधिवेशन– २०८३ वैशाख १०, ११ र १२ गते

(छ) केन्द्रीय महाधिवेशन : २०८३ वैशाख २८, २९, ३० र ३१ काठमाडौं

यो पनि : विशेष महाधिवेशनका लागि हल बुक

समाचार शेयर गर्नुहोस्
229
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.