निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

विशेष महाधिवेशनका लागि हल बुक, देउवाले बोलाए बैठक

विशेष महाधिवेशनका लागि हल बुक, देउवाले बोलाए बैठक

232
SHARES

काठमाडौँ – नेपाली कांग्रेसभित्र तोकिएको समयमै नियमित महाधिवेशन गर्न नसक्ने अवस्था सिर्जना भएपछि अब विशेष महाधिवेशनमा जानुपर्ने बहस औपचारिक निर्णयको चरणमा पुगेको छ।

सभापति शेरबहादुर देउवासहितको संस्थापन पक्षले विधानतः अनिवार्य नियमित महाधिवेशन अघि नबढाएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन नै अबको एक मात्र व्यवहारिक विकल्प भएको स्पष्ट पारेका छन्।

बिहीबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै महामन्त्रीद्वयले पहिलो विकल्पका रूपमा सभापति देउवाले नै केन्द्रीय समिति बैठक बोलाएर विशेष महाधिवेशन आह्वान गर्नुपर्ने बताएका छन्।

शनिवारसम्म पनि सभापति देउवाबाट महाधिवेशन आह्वान नगरिए दोस्रो विकल्पका रूपमा महामन्त्रीहरूले आफैँ विशेष महाधिवेशनको प्रक्रिया अघि बढाउने तयारी रहेको सन्देश दिएका छन्।

महामन्त्रीहरूको विज्ञप्तिपछि विशेष महाधिवेशन पक्षधर समूहले तयारीलाई मूर्त रूप दिन सुरु गरिसकेको छ। विशेष महाधिवेशनका लागि भृकुटीमण्डप बुकिङ गर्ने, विभिन्न समिति र उपसमितिहरू गठन गरी व्यवस्थापन, तयारी र समन्वयका काम तीव्र पारिएको छ।

नियमित महाधिवेशनका लागि तोकिएको मितिमै अब विशेष महाधिवेशन हुने अवस्था बनेको छ। कांग्रेसभित्र ‘नियमित महाधिवेशनको च्याप्टर क्लोज’ को रूपमा हेरिन थालिएको छ।

केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले विधानअनुसार पुस २८ गतेभित्र अनिवार्य रूपमा महाधिवेशन गरिसक्नुपर्ने बाध्यकारी व्यवस्था हुँदाहुँदै त्यसलाई लत्त्याउने प्रयास भएको बताए। उनले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको प्रस्तावअनुसार विशेष महाधिवेशनको तयारी अघि बढाइएको स्पष्ट पारे।

महाधिवेशन रोक्नकै लागि क्रियाशील सदस्यतासम्बन्धी विषयमा नियतवश विवाद सिर्जना गरिएको उल्लेख गर्दै उनले अब १५ औँ महाधिवेशनमा समेत १४ औँ महाधिवेशनका प्रतिनिधिहरूमार्फत नेतृत्व चयन गरिने अवस्था सिर्जना भएको बताए।

महामन्त्रीद्वयले जारी गरेको विज्ञप्तिमा क्रियाशील सदस्यता नवीकरण अन्तिम चरणमा पुगेको जानकारी दिँदै खोटाङ, बारा, कञ्चनपुर र कैलाली जिल्लाबाहेक ५ लाख ७९ हजार ३ सय ९५ सदस्यता नवीकरण भइसकेको उल्लेख गरिएको छ। ती चार जिल्लामा पनि प्रक्रिया टुङ्गिएपछि कुल नवीकरण सङ्ख्या ६ लाख पुग्ने अनुमान गरिएको छ।

यस अवधिमा १ लाख ९५ हजार ७ सय ३७ नयाँ क्रियाशील सदस्यता इन्ट्री भएको महामन्त्रीद्वयले स्पष्ट पारेका छन्। अन्य जिल्ला तथा जनसम्पर्क समितिहरूबाट पनि नयाँ सदस्यता इन्ट्रीको कार्य निरन्तर भइरहेको र नियमित महाधिवेशनको कार्यतालिका स्थगित भए पनि नयाँ क्रियाशील सदस्यता इन्ट्रीको प्रक्रिया रोकिन नदिन सबै तहलाई निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख छ।

जेनजी आन्दोलनको आक्रमणमा परेका सभापति शेरबहादुर देउवाले औपचारिक रूपमा कार्यवाहक जिम्मेवारी सुम्पिएको देखिए पनि, महाधिवेशन र पार्टीको निर्णय प्रक्रियामा उनको हस्तक्षेप भने निरन्तर जारी रहेको संस्थापन–इतर समूहको आरोप छ। यही हस्तक्षेपका कारण नियमित महाधिवेशन जानाजानी रोकिएको र पार्टीलाई विशेष महाधिवेशनतर्फ धकेलिएको निष्कर्षमा इतर समूह पुगेको छ।

विशेष महाधिवेशनको तयारी तीव्र पार्दा संस्थापन पक्षले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक पौष १८ गते शुक्रवार दिनको ३ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिको लागि निर्देशानुसार अनुरोध गरेका छन्।

बैठकले यसअघि तोकिएको मितिमा महाधिवेशन हुन नसक्ने निर्णय गर्ने सम्भावना प्रबल रहेको एक केन्द्रीय सदस्यले बताए। तर, त्यही मितिमा विशेष महाधिवेशनको निर्णय गर्न इतर समूहले सभापति देउवालाई दबाब दिएको छ। देउवामाथि भने महाधिवेशनको मिति सार्ने तयारीमा लागेको आरोप छ।

समाचार शेयर गर्नुहोस्
232
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.