निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

कांग्रेसभित्रको घरझगडाले पूर्वराष्ट्रपति यादवलाई पीडा

कांग्रेसभित्रको घरझगडाले पूर्वराष्ट्रपति यादवलाई पीडा

गोविन्द वियोगी पत्रकारिता पुरस्कार एवं सम्मान हस्तान्तरण

76
SHARES
सम्पादक समाज नेपालका संस्थापक अध्यक्ष गोविन्द वियोगीको २०औँ स्मृति दिवसका अवसरमा आज शिवपुरी गाउँपालिका–७ सुइरेचौर, नुवाकोटमा आयोजित समारोहमा ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार २०८२’ वितरणपछि गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवसँग सामूहिक तस्बिरमा पुरस्कृत एवं सम्मानितहरु र सम्पादक समाज नेपालका पदाधिकारी । तस्बिरः नारायण ढुङ्गाना /रासस

नुवाकोट – पूर्वराष्ट्रपति डा.रामवरण यादवले नेपाली कांग्रेसभित्र देखिएको घरझगडाले आफूलाई गहिरो पीडा भएको बताएका छन्। लोकतन्त्रको लडाइँ सुरु गरेको दल कांग्रेसमै देखिएको आन्तरिक विवाद दुःखद रहेको टिप्पणी गर्दै उनले यसले मुलुकको लोकतान्त्रिक यात्रामाथि नै प्रश्न उठाएको बताए।

मुलुकको लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिकामा रहेको नेपाली कांग्रेस आजको अवस्थामा आइपुग्नु दुःखद भएको उनको भनाइ छ। जनताको अधिकारका लागि सङ्घर्ष सुरु गरेको कांग्रेसले तीन–तीन वटा परिवर्तनको अगुवाइ गरेको स्मरण गर्दै पूर्वराष्ट्रपति यादवले पार्टीको इतिहास र योगदानलाई स्मरण गराए।

कांग्रेसका नेतृत्वले विगतमा पनि आफ्नो घरझगडा समाधान गरेर लोकतन्त्रका लागि योगदान गरेको स्मरण गर्दै उनले भोलिका दिनमा पनि यही भूमिकालाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

पूर्वराष्ट्रपति यादवले अहिले संविधानमा क्षयीकरणको अवस्था देखिएको बताए। लोकतन्त्रका लागि विश्वकै उम्दा संविधान नेपालमा बनेको उल्लेख गर्दै उनले भने, “यो संविधान समावेशी छ, गणतान्त्रिक छ, समानुपातिक छ र धर्मनिरपेक्ष छ।” यही संविधानलाई जोगाएर अघि बढ्न सकिए समाज रूपान्तरण सम्भव हुने उनको भनाइ थियो।

सम्पादक समाज नेपालका संस्थापक अध्यक्ष गोविन्द वियोगीको २०औँ स्मृति दिवसका अवसरमा शनिवार नुवाकोटको शिवपुरी गाउँपालिका–७ सुइरेचौरमा आयोजित ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार’ वितरण समारोहमा बोल्दै उनले २०७२ सालको संविधान समावेशी, समानुपातिक र धर्मनिरपेक्षतासहितका विशेषताले उत्कृष्ट संविधान बनेको बताए।

उनले लोकतन्त्र पुनःस्थापनाका लागि गोविन्द वियोगीले निर्वाह गरेको भूमिकाको सराहना गर्दै सम्पादक समाज नेपालले नेपाली समाजलाई उन्नतिको मार्गमा रूपान्तरण गर्ने दिशामा क्रियाशील हुनुपर्ने सुझाव दिए।

कार्यक्रममा पूर्वराष्ट्रपति डा. यादवले सम्पादक समाज नेपालको ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार–२०८२’ रत्न राज्यलक्ष्मी क्याम्पस, पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख डा. जगत नेपाललाई प्रदान गरे। सम्पादक समाज नेपालले नुवाकोटको सुइरेचौरमा गरेको कार्यक्रममा उनले प्रमाणपत्रसहित नगद २५ हजार एक रुपैयाँ राशिको पुरस्कार डा. नेपाललाई हस्तान्तरण गरेका हुन्।

यसैगरी, गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार वातावरण संरक्षण तथा जलवायु परिवर्तनका प्रभाव न्यूनीकरणका विषयमा निरन्तर कलम चलाउँदै आएकी गोरखापत्र दैनिककी पत्रकार चाँदनी हमाल र नेपाल भाषामार्फत पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याउँदै आएका ‘शुक्रवाः या तँसापौ’ साप्ताहिकका स्तम्भकार राजेन्द्र मानन्धरलाई प्रदान गरिएको छ। हमाल र मानन्धरलाई प्रमाणपत्रसहित जनही १५ हजार एक रुपैयाँ नगद प्रदान गरिएको छ।

यस्तै, सम्पादक समाज नेपालले यस वर्ष वरिष्ठ पत्रकार शरदचन्द्र वस्ती र सुदर्शन आचार्यलाई सम्पादक समाज नेपाल सम्मान प्रदान गरेको छ।

संस्थाको आफ्नै भवन गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्र, सुइरेचौर, शिवपुरी–७ मा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति डा. यादवले पुरस्कार तथा सम्मान हस्तान्तरण गरेका हुन्।

समाचार शेयर गर्नुहोस्
76
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.