पत्रकारितामा सत्य, तथ्य, मर्यादा र स्तर सुधारको आवश्यकता टड्कारो रूपमा देखिएको आम सञ्चार तथा पत्रकारिता क्षेत्रका विज्ञहरूले बताएका छन्। सम्पादक समाज नेपालले स्वर्गीय वरिष्ठ पत्रकार गोविन्द वियोगीको २० औँ स्मृतिमा स्थापना गरेको पत्रकारिता पुरस्कार तथा सम्मान कार्यक्रममा वक्ताहरूले पत्रकारिता क्रमशः मनोरञ्जनको साधन मात्रै बन्न खोजेकामा गहिरो चिन्ता व्यक्त गरे।
समारोहमा सम्मानित वरिष्ठ पत्रकार सुदर्शन आचार्यले पत्रकार सधैँ सत्यको पक्षमा उभिनुपर्नेमा जोड दिँदै कोही रिसाउला भनेर सत्य लुकाउनु नहुने बताए।
उनले पत्रकारिता भनेको सुविधा र डरभन्दा माथि उठेर तथ्य र सत्यको सेवा गर्ने पेसा भएको उल्लेख गर्दै सत्यबाट विचलित हुने हो भने पत्रकारिताको नैतिक आधार नै भत्किने बताए।
अर्का सम्मानित भाषाविद् शरदचन्द्र वस्तीले अहिलेको पत्रकारितामा मूल तत्त्व नै डाइभर्ट भएको टिप्पणी गर्दै महत्त्वपूर्ण सूचनाहरू ख्याल–ठट्टा र सनसनीको विषय बन्न पुगेकोमा चिन्ता प्रकट गरे। उनले भने, “आजको अवस्थामा पत्रकार आफैँले आफू कसैको समर्थक वा विरोधी त होइन, पक्षपाती त भइरहेको छैन, कतै दलाली पो गरिरहेको छैन भनेर आत्ममूल्याङ्कन गर्नुपर्ने समय आएको छ।”
उनले विगतमा स्रोतमा पत्रकारको मात्रै पहुँच हुँदा समस्या कम हुने गरेको तर अहिले प्रविधिका कारण स्रोतमा सबैको पहुँच पुगेकाले पत्रकारितामा चुनौती झनै बढेको बताए। सबैलाई उपलब्ध सूचनाबाट तथ्य छनोट, सत्यपना र सन्दर्भ निर्माण गर्न नसक्दा पत्रकारिताको मूल्य खस्कँदै गएको उनको भनाइ छ।
पुरस्कृतहरूको तर्फबाट बोल्दै रत्न राज्यलक्ष्मी क्याम्पस, पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख डा. जगत नेपालले पत्रकारिता खस्किँदा त्यसको प्रत्यक्ष असर समाजमा पर्ने भएकाले आलोचना मात्रै होइन, पत्रकारितालाई ‘रेस्क्यु’ गर्न आवश्यक रहेको बताए। उनले धेरै सञ्चारगृहमा पत्रकारका लागि स्थायी भ्याकेन्सी नखोली इन्टर्न राखेर समाचार कक्ष चलाउने प्रवृत्ति बढेको उल्लेख गर्दै यसले पेसागत गुणस्तरमा नकारात्मक असर गरेको बताए।
कार्यक्रममा शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्द थपलियाले विगतमा २५–३० हजार मात्रै पर्यटक आउने आफ्नो पालिकामा सम्पादक समाजसँगको सहकार्य र पत्रकारहरूले लेखेका समाचारकै कारण प्रचार–प्रसार बढ्दा अहिले एक लाखभन्दा बढी पर्यटक आउने गरेको जानकारी दिए। यसबाट जिम्मेवार पत्रकारिताको सकारात्मक प्रभाव समाज र स्थानीय विकासमा कति महत्त्वपूर्ण हुन्छ भन्ने स्पष्ट हुने उनले बताए।
सत्य, तथ्य र प्रमाणमा आधारित पत्रकारिता कमजोर बन्दै जाँदा भ्रष्टाचारीहरूले यही अवस्थालाई आफ्नो अपराध लुकाउने, भ्रम सिर्जना गर्ने र कानुनी तथा नैतिक जबाफदेहीबाट उम्कने भर्याङ बनाइरहेका छन्।
प्रेस इन्स्टिच्युटका अध्यक्ष तीर्थ कोइरालाले पुँजी र प्रविधिको चेपुवामा पत्रकारिता परिरहेको उल्लेख गर्दै यसलाई मर्यादित बनाउने प्रयास जारी रहेको बताए। उनले भने, “प्रविधिले ठूलो फड्को मारेको छ तर पत्रकारिताप्रतिको विश्वसनीयता गम्भीर चुनौतीमा पुगेको छ। अबको पुस्तालाई मर्यादित पत्रकारितातर्फ डोर्याउन सम्पादक समाजजस्ता संस्थाको भूमिका निर्णायक हुनुपर्छ।”
नेपाल अमेरिका पत्रकार समाजका अध्यक्ष टङ्क पन्तले अहिले पत्रकारहरूलाई दिइने पुरस्कार र सम्मान व्यक्तिगत मात्रै नभई आमपत्रकार र सम्पूर्ण पत्रकारिता पेसाकै सम्मान भएको बताए।
समाजका संरक्षक किरण वैद्यले पनि पत्रकारिता अत्यन्त चुनौतीपूर्ण अवस्थामा पुगेको उल्लेख गर्दै एउटै माध्यमबाट बाहिरिएको सूचनालाई अरूले कुनै भेरिफिकेसन नगरी पुनः प्रकाशन गर्ने प्रवृत्तिले पत्रकारिता थप मारमा परेको बताए। पत्रकारहरू तथ्य पत्ता लगाउने, पुष्टि गर्ने र सन्दर्भ दिने काममा अझ बढी केन्द्रित हुनुपर्ने उनको सुझाव थियो।
सम्पादक समाजका उपाध्यक्ष तथा गोरखापत्र दैनिकका प्रधानसम्पादक जुनारबाबु बस्नेतले यो कार्यक्रम मर्यादित पत्रकारितामाथि विमर्श गर्ने थलो भएको उल्लेख गर्दै अहिले संसारभर नै पत्रकारिताका मूल्य र मान्यताबारे गम्भीर बहस चलिरहेको बताए।
सार्वजनिक पदमा रहेका व्यक्तिहरूले पत्रकारका प्रश्नलाई उत्तर दिनुभन्दा मिडियामाथि आक्रमण गर्ने, पत्रकारलाई धम्की दिने वा कानुनी दबाब सिर्जना गर्ने प्रवृत्ति बढ्दै गएको छ।
सूचना प्रविधिको तीव्र विकास र खुला समाजको आँधिहुरीले पत्रकारितालाई असजिलो अवस्थामा पुर्याएको स्वीकार गर्दै उनले पत्रकारिताको गुणात्मक सुधार अपरिहार्य भएको धारणा राखे।
समाजका महासचिव श्याम डोटेलले स्वर्गीय पत्रकार गोविन्द वियोगीको इच्छाअनुसार संस्थाले काम गरिरहेको बताए। उनले प्रिन्ट पत्रकारिताको अध्ययन केन्द्र स्थापना गरिसकिएको र अब विद्युतीय पुस्तकालय निर्माण गर्ने चरणमा संस्था अघि बढिरहेको जानकारी दिए। साथै पर्यापर्यटन विकास र जलवायु परिवर्तन न्यूनीकरणका क्षेत्रमा पनि सम्पादक समाजले काम थालेको बताए।
पत्रकारितामा अहिले सत्य डगमगाएको, तथ्य भेटिन छाडेको, पक्षधरता हाबी हुन थालेको र पत्रकारिताको विश्वसनीयता हराउँदै गएको भन्ने टिप्पणी सार्वजनिक भइरहेका छन्। प्रविधिको तीव्र विकाससँगै सूचना उत्पादन र प्रसारण अति सहज बनेपछि पत्रकारितालाई गम्भीर जनचासोको विषयभन्दा बढी मनोरञ्जनको रूपमा लिन थालिएकोप्रति पनि चिन्ता व्यक्त गरिएको छ। यही प्रवृत्तिले पत्रकारिताको मूल मर्म कमजोर बन्दै गएको विज्ञहरूको ठहर छ।
भ्रष्टाचार, अनियमितता, बेथिति र विसङ्गतिमा संलग्न व्यक्तिहरूका लागि पत्रकारितामा देखिएको वर्तमान सङ्कट अवसरमा रूपान्तरण हुँदै गएको छ। सत्य, तथ्य र प्रमाणमा आधारित पत्रकारिता कमजोर बन्दै जाँदा भ्रष्टाचारीहरूले यही अवस्थालाई आफ्नो अपराध लुकाउने, भ्रम सिर्जना गर्ने र कानुनी तथा नैतिक जबाफदेहीबाट उम्कने भर्याङ बनाइरहेका छन्।
सूचनाको अतिरिक्त, सामाजिक सञ्जालको अनियन्त्रित प्रयोग र प्रविधिको तीव्र विस्तारसँगै गलत सूचना, अपुरो तथ्य र योजनाबद्ध प्रचार सामग्री सहजै फैलिन थालेका छन्। यसले भ्रष्टाचारविरुद्ध काम गर्नुपर्ने पत्रकारिता उल्टै भ्रष्टाचार ढाकछोप गर्ने माध्यम बन्ने खतरा पैदा गरेको छ। तथ्य जाँच नगरी सार्वजनिक गरिने समाचार, सामाजिक सञ्जालमा भाइरल हुने अपुष्ट दाबी र ‘ब्रेकिङ’को होडले भ्रष्ट कार्यमा संलग्नहरूलाई रणनीतिक रूपमा फाइदा पुर्याइरहेको छ।
विशेषगरी, भ्रष्टाचारमा मुछिएका व्यक्ति वा समूहले पत्रकारितामाथि नै प्रश्न उठाउने, “यो समाचार पूर्वाग्रही हो”, “यो चरित्रहत्या हो” वा “मिडिया ट्रायल हो” भन्ने भाष्य निर्माण गर्दै असली मुद्दालाई मोड्ने प्रयास गरिरहेका छन्। जब पत्रकारिता आफैँ विश्वसनीयताका प्रश्नले घेर्छ, तब भ्रष्टाचारविरुद्ध उठेका गम्भीर आरोपहरू पनि ‘विवादित समाचार’का रूपमा खारेज गरिने अवस्था सिर्जना हुन्छ।
अर्कोतर्फ, पुँजी र शक्ति भएका भ्रष्ट पात्रहरूले केही सञ्चारमाध्यम वा सञ्चारकर्मीलाई प्रभावित पारेर आफूअनुकूल समाचार लेखाउने, गलत सूचना फैलाउनेजस्ता अभ्यासलाई पनि प्रविधिको सहायताले अझ परिष्कृत बनाएका छन्। डिजिटल प्लेटफर्म, ट्रोल नेटवर्क र भ्रामक सामग्री प्रयोग गरी जनमतलाई विभाजित बनाइन्छ, जसले भ्रष्टाचारको मूल विषयलाई ओझेलमा पार्छ।
पारदर्शिता र जबाफदेहिता क्रमशः कमजोर बन्दै गएको देखिन्छ। सार्वजनिक पदमा रहेका व्यक्तिहरूले पत्रकारका प्रश्नलाई उत्तर दिनुभन्दा मिडियामाथि आक्रमण गर्ने, पत्रकारलाई धम्की दिने वा कानुनी दबाब सिर्जना गर्ने प्रवृत्ति बढ्दै गएको छ। जब पत्रकार सुरक्षा र पेसागत स्थायित्वको सङ्कटमा पर्छन्, तब गहिरो अनुसन्धान र तथ्य अन्वेषण गर्ने पत्रकारिता झनै कठिन बन्छ।
यसले अन्ततः लोकतान्त्रिक संरचनामै गम्भीर असर पार्छ। पत्रकारिता कमजोर हुँदा भ्रष्टाचार फस्टाउँछ, भ्रष्टाचार फस्टाउँदा राज्य संयन्त्र कमजोर हुन्छ, र राज्य कमजोर हुँदा जनताको अधिकार कुण्ठित हुन्छ। यही दुष्चक्रलाई कायम राख्न भ्रष्टाचारीहरू पत्रकारिताको सङ्कटलाई सुनियोजित रूपमा प्रयोग गरिरहेका छन्।
त्यसैले अहिलेको चुनौती पत्रकारिताको मात्र होइन, सुशासन र लोकतन्त्रकै चुनौती हो। तथ्यमा आधारित, प्रमाणसहितको, प्रविधिमैत्री तर मूल्य–मान्यतामा अडिग पत्रकारिता बिना भ्रष्टाचारविरुद्धको लडाइँ सम्भव छैन। पत्रकारिताको विश्वसनीयता जोगाउनु भ्रष्टाचारीहरूलाई उम्कने बाटो बन्द गर्नु हो र यही वर्तमान समयको सबैभन्दा ठूलो आवश्यकता बनेको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.