लैङ्गिक अल्पसङ्ख्यक उम्मेदवार मधुको प्रचार खर्च शून्य

लैङ्गिक अल्पसङ्ख्यक उम्मेदवार मधुको प्रचार खर्च शून्य

372
SHARES

रुपन्देही – रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार देवेन्द्र बहादुर खत्री (मधु) ले प्रतिनिधिसभा निर्वाचनमा गरेको खर्च विवरण सार्वजनिक गरेका छन्।

समावेशी समाजवादी पार्टीबाट उम्मेदवार बनेका मधुले निर्वाचनमा अत्यन्त न्यून खर्च भएको विवरण सार्वजनिक गरेका हुन्। उनले निर्वाचन प्रक्रियासँग सम्बन्धित अनिवार्य शुल्कबाहेक चुनाव प्रचारप्रसारमा एक रुपैयाँ पनि खर्च नगरेको बताएका छन्।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको नेतृत्वमा गठन भएको समावेशी समाजवादी पार्टीबाट प्रत्यक्ष उम्मेदवार बनेका मधुले मङ्गलवार निर्वाचन कार्यालय रुपन्देहीमा आफ्नो खर्च विवरण बुझाएको जानकारी दिए।

निर्वाचन आयोगले तोकेको कानुनी व्यवस्था अनुसार प्रत्येक उम्मेदवारले चुनावी खर्चको विवरण अनिवार्य रूपमा निर्वाचन कार्यालयमा बुझाउनुपर्ने प्रावधान रहेको छ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मधु रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका थिए। लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकार, सम्मान र सामाजिक न्यायका मुद्दा उठाउँदै आएका अभियन्ता मधुले आफ्नो चुनावी अभियानलाई फरक ढङ्गले सञ्चालन गरेका थिए।

उनले चुनाव प्रचारप्रसारमा पोस्टर, ब्यानर, सवारी साधन, सभा–जुलुस वा अन्य प्रचार सामग्रीमा एक रुपैयाँ पनि खर्च नगरेको विवरण बुझाएका छन्।

उनका अनुसार निर्वाचन प्रक्रियासँग प्रत्यक्ष सम्बन्धित दुईवटा शीर्षकमा मात्र खर्च भएको छ। उनले उम्मेदवार मनोनयन दर्ता शुल्कबापत १० हजार रुपैयाँ र निर्वाचन आयोगको निर्देशनअनुसार चुनावी कारोबारका लागि बैङ्क खाता खोल्न १ हजार रुपैयाँ खर्च भएको विवरण निर्वाचन कार्यालयमा बुझाएका छन्।

निर्वाचन आयोगले प्रत्येक उम्मेदवारलाई चुनावी आम्दानी–खर्च पारदर्शी बनाउन अनिवार्य रूपमा बैङ्क खाता खोल्नुपर्ने व्यवस्था गरेको थियो। सोही व्यवस्थाअनुसार बैङ्क खाता खोल्दा लागेको खर्चसमेत आफ्नो विवरणमा उल्लेख गरिएको मधुले बताएका छन्।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका प्रतिनिधित्वका सवालमा मधुको उम्मेदवारीलाई प्रतीकात्मक रूपमा पनि महत्त्वपूर्ण मानिएको छ। मधु सीमित स्रोतसाधन र न्यून आर्थिक खर्चका बाबजुद समुदायका मुद्दा लिएर चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए।

समाचार शेयर गर्नुहोस्
372
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.