"/>
निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

समावेशी समाजवादी पार्टीको उम्मेदवार बन्दसूचीमा काठमाडौँदेखि कालीकोटसम्मका प्रतिनिधि

समावेशी समाजवादी पार्टीको उम्मेदवार बन्दसूचीमा काठमाडौँदेखि कालीकोटसम्मका प्रतिनिधि

257
SHARES

काठमाडौँ — समावेशी समाजवादी पार्टीले समानुपातिक निर्वाचन प्रणालीतर्फ पेस गरेको उम्मेदवारको बन्दसूची सार्वजनिक भएको छ। निर्वाचन आयोगले समावेशी समाजवादी पार्टीले समानुपातिकतर्फ पेस गरेको १५ जना उम्मेदवारको बन्दसूची सार्वजनिक गरेको हो।

आयोगले समावेशी समाजवादी पार्टीसहित ६४ वटै राजनीतिक दलहरूको समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची सार्वजनिक गरेको जनाएको छ।

समावेशी समाजवादी पार्टीका अनुसार बन्दसूचीमा महिला, पुरुष, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, अपाङ्गता भएका व्यक्ति, मनोरञ्जन क्षेत्रका व्यक्ति, आदिवासी जनजाति, दलित, मधेशी, थारु र मुस्लिम समुदायका व्यक्तिहरूलाई समेटिएको छ। सामाजिक, जातीय, लैङ्गिक तथा क्षेत्रीय रूपमा पछाडि पारिएका वर्ग र समुदायलाई समावेश गर्ने उद्देश्यसहित समानुपातिक बन्दसूची तयार गरिएको पार्टीको भनाइ छ।

पार्टीले काठमाडौँ देखि कालीकोटसम्मका विभिन्न भौगोलिक क्षेत्रबाट आएका व्यक्तिहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा समावेश गरेको छ। तेस्रोलिंगी अधिकारकर्मी तथा लिड नेपाल झापाकी कार्यकारी निर्देशक नुमा लिम्बु चञ्चलाको नेतृत्वमा रहेको समावेशी समाजवादी पार्टी पहिलो पटक आगामी फागुन २१ गते हुने निर्वाचनमा सहभागी हुन लागेको हो।

पार्टीले बन्दसूचीको खस आर्य महिलामा काठमाडौँकी मञ्जु शर्मा, चितवनकी कौसिला आचार्य र मोरङकी प्रतीक्षा चापागाईंलाई समावेश गरेको छ। खस आर्य पुरुषमा मकवानपुरका विश्वराज अधिकारी र कालीकोटका विष्णु सिंह ठकुरीलाई राखिएको छ।

आदिवासी जनजाति महिलातर्फ नुवाकोटकी भावना क्षेत्री तामाङ र मकवानपुरकी सञ्जीवनी लोप्चन छन् भने आदिवासी जनजाति पुरुषतर्फ सिन्धुलीका लासाङ दोर्जे बल र नवलपरासीका चन्द्रबहादुर गुरुङ रहेका छन्।

थारु महिलामा कैलालीकी अंकिता चौधरी, मधेशी पुरुषमा पर्साका जितेन्द्र कुमार कुर्मी र मधेशी महिलामा बाराकी बिनिमा अधिकारी समानुपातिक उम्मेदवारको बन्दसूचीमा परेका छन्।

दलित महिलामा गुल्मीकी पार्वती परियार र दलित पुरुषमा धादिङका वसन्त परियार छन् भने मुस्लिम महिलामा मोरङकी सलमा खातुन समानुपातिक बन्दसूचीको उम्मेदवार छन्।

निर्वाचन आयोगले बन्दसूचीमा नाम समावेश भएका कुनै पनि उम्मेदवारको योग्यतासम्बन्धी दाबी–विरोध गर्न सकिने गरी सूचना प्रकाशन गरेको छ। आयोगका अनुसार माघ ५ गते सोमबारदेखि माघ १० गतेसम्म आयोगको कार्यालयमा उपस्थित भई दाबी–विरोधसम्बन्धी उजुरी दिन सकिने व्यवस्था गरिएको छ।

समाचार शेयर गर्नुहोस्
257
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.