निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

समलिङ्गी–तेस्रोलिंगीको ऐतिहासिक छलाङ : प्रत्यक्षतर्फ ६ उम्मेदवार मैदानमा

समलिङ्गी–तेस्रोलिंगीको ऐतिहासिक छलाङ : प्रत्यक्षतर्फ ६ उम्मेदवार मैदानमा

399
SHARES

काठमाडौँ – लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समलिङ्गी, तेस्रोलिंगी समुदायले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ उम्मेदवार मनोनयन दर्ता गरेर ऐतिहासिक छलाङ मारेका छन्।

प्रतिनिधिसभाको आगामी फागुन २१ गते हुन गइरहेको निर्वाचनमा समावेशी समाजवादी पार्टीबाट देशभर ६ जनाले प्रत्यक्षतर्फ उम्मेदवार दर्ता गरेका छन्।

तेस्रोलिंगीको नेतृत्वमा पहिलो पटक राजनीतिक दल दर्ता गरी समलिङ्गी तथा तेस्रोलिंगी उम्मेदवारहरूले खुला पहिचानसहित प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत चुनावमा होमिनुलाई नेपाली राजनीतिक इतिहासमै साहसिक, ऐतिहासिक र राजनीतिक रूपान्तरणको महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।

समावेशी समाजवादी पार्टीबाट सुरेन्द्र पाण्डे काठमाडौँ निर्वाचन क्षेत्र नं १, देवेन्द्रबहादुर खत्री (मधु) रुपन्देही–२, पार्टीकी अध्यक्ष तथा तेस्रोलिंगी अधिकारकर्मी नुमा लिम्बू मोरङ–४, पिङ्की राई ओखलढुङ्गा–१, तथा विनोद लामा (कोनिका) काभ्रे–१ बाट प्रत्यक्षतर्फ उम्मेदवार बनेका छन्।

यसैगरी, समावेशी समाजवादी पार्टीबाट काठमाडौँ निर्वाचन क्षेत्र नं १० मा लोकदोहोरी गायक पूर्णचन्द्र पौडेलले पनि प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएका छन्।

समलिङ्गी विवाह कानुनी रूपमा दर्ता गरी दक्षिण एसियाकै पहिलो जोडी बनेका सुरेन्द्र पाण्डेले मङ्गलवार काठमाडौँ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ बानेश्वरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका हुन्।

उनले विवाह दर्ताको प्रमाणपत्र पेस गरी उम्मेदवारी दर्ता शुल्कमा ५० प्रतिशत छुटसमेत पाएको बताए। २०८० मङ्सिर १३ गते कावासोती नगरपालिका–८, नवलपरासी पूर्वका सुरेन्द्र पाण्डे र दोर्दी गाउँपालिका–२, लमजुङका रामबहादुर गुरुङ (माया) ले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायबाट कानुनी रूपमा विवाह दर्ता गर्ने दक्षिण एसियाकै पहिलो जोडीका रूपमा इतिहास बनाएका थिए।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको पक्षमा निरन्तर अभियान चलाउँदै आएका सुरेन्द्र पाण्डेले सामाजिक रूपान्तरणका लागि अब राजनीतिमा होमिनु बाहेक अर्को विकल्प नदेखिएको बताए। “चुनौती भरिएको समाजमा उम्मेदवारी दिने आँट गर्नु आफैँमा पनि जित हो,” उनले भने, “अब जनताको मन जित्नुछ, फरक काम गरेर देखाउनुछ।”

यसअघि विसं २०६४ को पहिलो संविधानसभा सदस्य निर्वाचनमा नेकपा (संयुक्त) ले समानुपातिक निर्वाचन प्रणालीमार्फत सुनिल बाबु पन्तलाई सांसद बनाएको थियो। त्यसयता प्रतिनिधिसभामा समलिङ्गी तथा तेस्रोलिंगी समुदायबाट प्रत्यक्ष वा समानुपातिक कुनै पनि प्रतिनिधि संसद्मा नपुगेको अवस्था छ।

समावेशी समाजवादी पार्टीका संरक्षक तथा सल्लाहकार सुनिल बाबु पन्तको राजनीतिक मार्गदर्शनमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्ति पहिलो पटक सङ्गठित रूपमा, खुला पहिचानका साथ, प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत उम्मेदवार बनेका हुन्।

सुरेन्द्र पाण्डेले संसद्मा पुगेपछि केवल आफ्नो समुदायका लागि मात्र नभई समग्र समाज र जनताको हितका लागि काम गर्ने योजना रहेको बताए। संसद् अझ समावेशी हुनुपर्ने उनको धारणा छ। “हाम्रो आवाज संसदमा कसैले बोलेनन्, अब आफैँ संसद् पुग्नु बाहेक विकल्प छैन भनेर उम्मेदवारी दिएको हुँ,” उनले भने।

तेस्रोलिंगी उम्मेदवार कोनिका लामा (विनोद लामा) ले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकारको आवाज संसद्सम्म पुर्‍याउने उद्देश्यका साथ काभ्रे निर्वाचन क्षेत्र नं १ बाट उम्मेदवारी दर्ता गरेको बताइन्।

परम्परागत राजनीतिमा आफूहरूको पहिचान, पीडा र आवाज सधैँ ओझेलमा पारिँदै आएको उल्लेख गर्दै उनले अब नयाँ नेपालको नयाँ इतिहास रच्ने कि पुरानै राजनीतिक नेतृत्वलाई जिम्मा सुम्पेर उही शैलीको राजनीतिमै अलमलिने भन्ने जिम्मेवारी काभ्रे क्षेत्र नं १ का मतदाताको हातमा रहेको बताइन्।

यसैगरी, ओखलढुङ्गाबाट उम्मेदवारी दर्ता गरेकी पिङ्की राईले आफ्नो फरक लैङ्गिक पहिचानकै कारण उम्मेदवारी दर्ता गर्न केही समय लागेको अनुभव सुनाइन्।

सामाजिक पूर्वाग्रह, प्रशासनिक जटिलता र विभेदका बाबजुद पनि उनले उम्मेदवारी दर्ता गराउनु आफैँमा ठुलो सङ्घर्ष भएको उल्लेख गरिन्। उनले आफू निर्वाचित भएमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको आवाज संसदमा बुलन्द गर्ने दृढ इच्छा रहेको बताइन्। साथै, पिङ्की राईले आफ्नो उम्मेदवारीलाई ओखलढुङ्गाका जनताले दिएको आशा र विश्वासको रूपमा लिएको जनाउँदै, त्यो विश्वास कुनै हालतमा टुट्न नदिने प्रतिबद्धता व्यक्त गरिन्।

पार्टीकी अध्यक्ष नुमा लिम्बूका अनुसार राजनीतिक दलहरूले वर्षौँसम्म समलिङ्गी, तेस्रोलिंगी तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई आश्वासन दिने र प्रयोग गर्ने काम मात्रै गरेपछि अब आफैँ नेतृत्व गरेर राजनीतिको मूलधारमा प्रवेश गर्नुपर्ने अवस्था आएको हो।

उनले मोरङ–४ बाट प्रत्यक्षतर्फ उम्मेदवार दर्ता गराइसकेको बताउँदै अब राजनीतिक माध्यमबाटै दबिएका, ओझेलमा पारिएका आवाजहरू संसद्मा बुलन्द गरिने धारणा राखिन्।

उनका अनुसार प्रत्यक्षतर्फ ६ जना समलिङ्गी तथा तेस्रोलिंगी समुदायका उम्मेदवारहरूले चुनावी प्रतिस्पर्धामा भाग लिएका छन् भने पार्टीको समानुपातिकतर्फ महिला र पुरुषसमेत १५ जना उम्मेदवार रहेका छन्। “हामी सधैँ अरू पार्टीको आशामा बस्यौँ, अब आफैँ संसद्मा पुगेर आवाज पुर्‍याउँछौँ,” उनले भनिन्।

निर्वाचन आयोगका अनुसार उम्मेदवारहरूको मनोनयन पत्र दर्ता कार्यक्रम सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक र शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।

निर्वाचन अधिकृतको कार्यालयहरूबाट आयोगमा प्राप्त विवरणअनुसार साँझ ५ बजेसम्म २ हजार ९२५ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारहरूको सूची साँझ ७ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा प्रकाशन गरिनेछ। माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने कार्यक्रम रहेको छ। सोही दिन दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयन पत्र तथा उजुरीमाथि जाँचबुझ एवम् निर्णय गरिनेछ।

माघ ८ गते बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ। माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरिने निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

समाचार शेयर गर्नुहोस्
399
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.