१६० जना महिलाले दिए स्वतन्त्र उम्मेदवारी, ६५ वर्षमाथिका ३ जना

१६० जना महिलाले दिए स्वतन्त्र उम्मेदवारी, ६५ वर्षमाथिका ३ जना

281
SHARES

काठमाडौँ – देश चुनावमय भएको छ। देशभरका १६५ निर्वाचन क्षेत्रमा उत्साहजनक रूपमा उम्मेदवारको मनोनयन दर्ता भएको निर्वाचन आयोगले जनाएको छ।

आयोगले उपलब्ध गराएको विवरणअनुसार फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा चुनावमा ६८ वटा राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरी कुल ३ हजार ४८४ जनाको उम्मेदवारी दर्ता भएको छ।

मनोनयन दर्ता हुने उम्मेदवारमध्ये पुरुष ३ हजार ८८, महिला ३९५ र अन्य १ जना रहेका छन्। राजनीतिक दलको तर्फबाट मनोनयन पत्र दर्ता गरेका उम्मेदवारको सङ्ख्या २ हजार २९७ जना रहेको छ। जसमा महिला २३५, पुरुष २ हजार ६४ र अन्य १ जना छन्।

स्वतन्त्र उम्मेदवारको सङ्ख्या १ हजार १८७ जना रहेको छ। यसमा १ हजार २४ जना पुरुषले स्वतन्त्र उम्मेदवारी दिँदा महिला १६० जना रहेका छन्।

आयोगले उपलब्ध गराएको विवरणअनुसार उमेर समूहका आधारमा २५ वर्षदेखि ३५ वर्षसम्मका ६७ जना महिला, ५१५ जना पुरुष र १ जना अन्य गरी कुल ५८३ जनाको उम्मेदवारी दर्ता भएको छ। ३६ देखि ५० वर्षसम्मका २३५ जना महिला र १ हजार ३७५ जना पुरुष गरी १ हजार ६१० जनाको मनोनयन पत्र दर्ता भएको छ।

उमेरगत रूपमा ५१ देखि ६५ वर्षसम्मका ९० जना महिला र १ हजार जना पुरुष गरी १ हजार ९० जनाको उम्मेदवारी परेको छ। यसैगरी ६५ वर्ष माथिका ३ जना महिला र १९८ जना पुरुष गरी २०१ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोगले बेलुकी ५ बजेसम्म मनोनयन दर्ताको समय तोकेको थियो। आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले पहिचान खुलाएर १ जना तेस्रोलिंगीको मनोनयन दर्ता भएको विवरण प्राप्त भएको जानकारी दिए।

निर्वाचन प्रक्रियामा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायबाट समेत उत्साहजनक सहभागिता देखिएको छ। प्राप्त विवरणअनुसार समावेशी समाजवादी पार्टीबाट ६ जना र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट १ जना गरी ७ जना लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका उम्मेदवारले विभिन्न निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गरेका छन्।

समावेशी समाजवादी पार्टीबाट दक्षिण एसियामै पहिलो पटक नेपालमा समलिङ्गी विवाह कानुनी रूपमा दर्ता गर्ने सुरेन्द्र पाण्डेले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका छन्।

त्यस्तै, समलिङ्गी पुरुष देवेन्द्रबहादुर खत्री (मधु)ले रुपन्देही–२ बाट उम्मेदवारी दिएका छन् भने तेस्रोलिंगी अधिकारकर्मी एवं पार्टीकी अध्यक्ष नुमा लिम्बूले मोरङ–४ बाट उम्मेदवारी दर्ता गराएकी छन्।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक पिङ्की राईले ओखलढुङ्गाबाट र विनोद लामा (कोनिका)ले काभ्रे–१ बाट प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गरेका छन्। यस्तै, समावेशी समाजवादी पार्टीबाट काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १० मा लोकदोहोरी गायक पूर्णचन्द्र पौडेलले पनि प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएका छन्।

२०७९ को चुनावमा अशोक राईसँग झिनो मतान्तरले पराजित भएकी गोमा तामाङ (शरिन)ले यो पटक सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएकी छन्। लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायकी शरिनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवारी दर्ता गराएकी हुन्।

तर, निर्वाचन आयोगको औपचारिक विवरणमा भने लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायबाट अन्य पहिचान खुलाई १ जनाको मात्र उम्मेदवार मनोनयन भएको देखिएको छ।

निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेर उम्मेदवारी दर्ता गरेको पाइएमा कारबाही गरिने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए।

समाचार शेयर गर्नुहोस्
281
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.